कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा

गुरूङ आईसीसी सदस्य हुन् भने भट्ट उपाध्यक्ष
होम कार्की

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना गुरूङबीच प्रतिस्पर्धा हुने भएको छ । संघको शनिबारदेखि सुरू हुने आठौं विश्व सम्मेलन र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा सहभागी हुन विश्वभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।

एनआरएनको नेतृत्वमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा

भट्ट एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) उपाध्यक्ष र गुरूङ आईसीसी सदस्य हुन् । गुरूङले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उठ्ने घोषणा गरेकी हुन् । भट्टले करिब एक महिनाअघि नै अध्यक्षमा उठ्ने घोषणा गरेका थिए ।

दुईबीच अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा भएपछि एनआरएनहरूबीच चुनावी सरगर्मी सुरू भएको छ । दुवै पक्षले आ–आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र पार्नुका साथै राजनैतिक दलको समर्थन जुटाउनसमेत सक्रिय भएका छन् ।

जमुना वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् । अन्तिम समयमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी घलेले आफ्नो छुट्टै पहिचान भएको बताइन् । ‘विश्वभरबाट आउनुभएका एनआरएनए प्रतिनिधिहरूको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य सरोकारवालाहरूको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मेरो श्रीमान् (शेष घले) को कार्यकाल समाप्त भएसँगै मेरो नेतृत्व पनि सकिएको मान्न म तयार छैन ।’

घले अस्ट्रेलियाको धनीको सूचीमा एक सय १२ औं स्थानमा छिन् । घले दम्पतीको होटल, शिक्षा, रियल स्टेट र प्रविधि लगायत क्षेत्रमा लगानी छ । घलेले अस्ट्रेलियाजस्तो अत्यन्तै प्रतिस्पर्धी समाजमा आफूलाई महिला उद्यमीका रूपमा उभ्याउन सफलले एनआरएनको नेतृत्व गर्न सक्षम भएको दाबी गरिन् । ‘व्यवसाय वा समाजसेवामा म जहिल्यै पनि आफ्नै पहिचानमा उभिन रूचाएँ । अहिलेसम्म त्यही गरिरहेको छु । अत: मेरो उम्मेदवारीलाई संकीर्ण आँखाले नहेरी एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रूपमा हेरिदिनुहुन म हार्दिक अनुरोध गर्दछु,’ उनले भनिन् ।

अध्यक्ष घलेले आफूले जमुनालाई अध्यक्षमा उठ्नका लागि पहल गरेको बताए । ‘यो दुई दिनअघिको मात्रै निर्णय हो । मलाई तातो दूध मुखमा हालेको जस्तो भयो । निल्नु न ओकल्नुजस्तो भयो,’ उनले भने, ‘अहिले धेरै कुरा भन्न मिल्दैन । पछि यसबारे कथा लेख्नेछु ।’

घलेले एनआरएनएले निर्माण गरिरहेको मेगा परियोजनालाई समयसीमा भित्र सम्पन्न गराउने, संस्थाको मार्गदर्शक दृष्टिकोण भिजन २०२० एन्ड वियोन्डलाई सफल कार्यान्वयन गर्ने, महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रूपमा स्थापित गर्ने र खाडीमा कार्यरत महिला कामदारको हितमा काम गर्ने लगायत सवाललाई अगाडि सारेकी छन् ।

जापानमा होटल व्यवसाय गरिरहेका भट्टले एनआरएन अभियानमा लागेको डेढ दशकको अनुभव लिएकाले अव नेतृत्व प्रदान गरेर एनआरएन अभियानलाई थप उचाइ दिन अध्यक्षको उम्मेदवारी दिएको बताए ।

उनले वैदेशिक रोजगारी आपतकालीन कोषलाई सदुपयोग गरी गैरआवासीय नेपाली संघमा आबद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको बिमा गरिने, महिला फोरमलाई सशक्त बनाइने, स्टार्ट अप फन्डको व्यवस्था गरिने वताए । ‘गैरआवासीय नेपाली संघले अहिलेसम्म लिएका निर्णयहरू र पूरा हुन बाँकी कार्यहरू जस्तै लाप्राक नमुना बस्ती, एनआरएनए भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड, सामूहिक लगानीका परियोजना निर्माण, वैदेशिक रोजगार कोषको विस्तारजस्ता कार्यक्रमहरूलाई पूर्ण रूपमा निरन्तरता दिँदै अघि बढ्ने अवगत गराउन चाहान्छु,’ भट्टले भने । अन्य पदमा पनि प्रत्यासीहरूले उमेदवारी घोषणा गरिरहेका छन् ।

प्रकाशित : आश्विन २७, २०७४ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?