श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय

नवीन पोखरेल

लन्डन — ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।

श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय

हाल ब्रिटेनको स्वीन्डनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी ३७ वर्षीया श्रीमती कामना गुरुङलाई मरणासन्न बनाएका थिए । झन्डै २ महिना अस्पतालमा उपचार गराएपछि कामना घर फर्केकी छिन् ।

२३ वर्ष गोर्खा रेजिमेन्टमा सेवा गरेर अवकाश लिएका विकासको अन्य महिलासँग सम्पर्क रहेको थाहा पाएपछि नर्स कामनाले पनि इन्टरनेटमार्फत केटा साथी बनाएकी थिइन् । उनले २० वर्ष यताको सम्बन्धविच्छेदका लागि श्रीमान्‌सँग कुरा गर्छु भनेकै दिन उनीमाथि श्रीमान्‌ले हमला गरेका थिए । कामनाले आफूले नछोडोस् भनेर श्रीमान्‌ले उनीप्रति हिंसात्मक व्यवहार गरेको बताएकी छन् ।

ब्रिटेनबाट प्रकाशित हुने डेली मेल समाचार पत्रका अनुसार आफूलाई कुटपिट गरेपछि कामनाले आपतकालीन सेवा ९९९ मा फोन गरेकी थिइन् । उनले फोनमा कुरा गरिरहेका बेला विकासले उनीमाथि जथाभावी खुकुरी प्रहार गर्न सुरु गरेका थिए र फोनमा रेकर्ड गरिएको उनको चित्कार अदालतमा सुनाइएको थियो । तत्कालै उनको घर पुगेका प्रहरीले कामनालाई रगतको आहालमा भेटेका थिए । त्यसपछि स्वास्थ्यकर्मी आएर उनलाई अस्पताल लगेका थिए । कामनाको शरीरभर घाउ लागेको थियो भने प्रहार रोक्न खोज्दा उनको हात छियाछिया भएको थियो ।

विकासले आवेशमा आएर ज्यानै लिने उद्देश्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेको स्वीकारेको समाचारमा उल्लेख छ । ब्रिटेनले बसोबास गर्न अनुमति दिएपछि ४० हजारभन्दा बढी भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवार ब्रिटेनका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन् । तर, केही वर्षयता घरेलु हिंसाका घटना बढिरहेको भनी ब्रिटिस अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक २, २०७४ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?