किम्फबाट उठेको रकम हेलम्बुको स्कूललाई प्रदान

कान्तिपुर संवाददाता

काठमाडौं — अमेरिकाको न्युयोर्कमा प्रकाशन हुँदैं आएको एभरेस्ट टाइम्स पत्रिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६, इचोकको घोप्टेघ्याङमा रहेको ज्याम्बेयाङ प्राविलाई सहयोग प्रदान गरेको छ ।

किम्फबाट उठेको रकम हेलम्बुको स्कूललाई प्रदान

भूकम्पपछि पनि कुनै सहयोग नपुगेको र विकट उक्त स्थानमा पत्रिकाका प्रधानसम्पादक आङछिरिङ शेर्पाले १ लाख ५० हजार ५५ रूपैयाँ कात्तिक ९ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निमा ह्योल्मो शेर्पालाइ प्रदान गरेका हुन् ।

एभरेस्ट टाइम्सले काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत ट्राभलिङ किम्फ न्युयोर्कबाट उठेको रकमबाट किम्फलाई एक लाख रुपैयाँ दिएपछि बाँकी रकम स्कूललाई दिएको प्रधानसम्पादक शेर्पाले बताए । शेर्पाले भने, ‘फिल्म देखाएर बचेको रकम स्कुलको शैक्षिक विकासका लागि दिन पाउँदा निकै खुशी लागेको छ, विकटको स्कुललाई सहयोग गर्न पाउनु गर्वको कुरा हो ।’

विद्यालयले प्राप्त गरेको सहयोग विद्यालयको भवन बनाउन प्रयोग गरिने समितिका अध्यक्ष ह्योल्मोले बताए । ‘भूकम्पपछि स्कुलको भवन भत्केको र अझै बनेको छैन, कतैबाट सहयोग पनि मिलेको छैन, अब यही रकममा अरु थपेर भवन बनाउनेछौं,’ उनले भने । कक्षा ५ सम्मको पढाई हुनुपर्ने विद्यालयमा भवन नहुँदा र शिक्षक कम भएकाले विद्यार्थी घट्दै गएको उक्त वडाका वडाध्यक्ष सुकुराम तामाङले बताए ।

हिमाल एसोसिएसनको आयोजना तथा एभरेस्ट टाइम्सको सहआयोजनामा गत जुलाइमा न्युयोर्कमा किम्फ आयोजना गरिएको थियो । पत्रिकाले यसअघि पनि दुईपटक किम्फ आयोजना गरेर प्राप्त रकम सोलुखुम्बुको चागेस्थान मावि केरुङ र सेर्गा वागाम प्रविलाई सहयोग गरेको थियो ।

प्रकाशित : कार्तिक २१, २०७४ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?