३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

साउदीबाट १२ जनाको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौं — साउदी अरबबाट १२ जना नेपालीको उद्धार भएको छ । पाँचजना टिकटको प्रतीक्षामा छन् । साउदीको जेद्धास्थित नेपाली महावाणिज्य दूत, नेपाली साझा मञ्च र पीडितका परिवारका सदस्यको निरन्तर प्रयासपछि ती पीडितलाई नेपाल ल्याउन सकिएको हो ।

साउदीबाट १२ जनाको उद्धार

पीडितलाई म्यानपावर कम्पनीले टिकट उपलब्ध गराएको छ । 

वैदेशिक रोजगार विभागले कामदारको उद्धार नभएसम्म खाना र बस्ने व्यवस्था गर्न दबाब दिएपछि पछिल्लोपटक म्यानपावर कम्पनी निकै दबाबमा परेका थिए । 

अलपत्र १७ जना युवामध्ये ११ जना इमास्को नेपाल, ५ जना नाइल ओभरसिज र एकजना आरपी इन्टरनेसनलबाट पठाइएका थिए । पीडितका अनुसार उनीहरूलाई एजेन्ट ईश्वर राना, विकास गुरुङ, उदयराज ढकाल, भीम कोइराला, चिजकुमार श्रेष्ठ, अनील गुरुङ, चित्रबहादुर सिञ्जाली, लीलामणि श्रेष्ठ र आशा लामा हुन् । 

पीडितहरू यान्बुमा असुरक्षित भएपछि सुरक्षा र न्याय खोज्दै जेद्धा आइपुगेका थिए । जेद्दामा विष्णु न्यौपाने, बालकुमार राई, अञ्जन पोखरेल, राधाराम घिमिरे, ध्रुव रिजाल, चेतनाथ निरौला र मीन गुरुङले खाना र बासस्थानका लागि सहयोग गरेको नेपाली साझा मञ्चका अभियन्ता महेश श्रेष्ठले बताए । 

दूतावासको कार्यालयभित्र बास बस्न नमिलेपछि उनीहरूलाई एक सातासम्म बालकुमार राईले आफू काम गर्ने कम्पनीमा लगेर राखेका थिए । त्यसपछि दूतावासले कार्यालय भवनभित्रै बासको प्रबन्ध मिलाएको थियो । 
उनीहरूलाई उद्धार गरी पठाउन कार्यबाहक महावाणिज्यदूत रेवतीरमण पौडेल र सहचारी मनहरि दंगालले मदिनास्थित उच्च कोर्टमा बहस गरेका थिए । 

यान्बु लेबरकोर्टले समेत श्रमिकहरूको पक्षमा बोलेको भए पनि मदिना उच्च कोर्टले कम्पनी र कामदारका बीचमा एक महिनाभित्रमा सहमति गर्न समय दिएपछि ६ हजार रियाल लिएर मात्रै भिसा लगाउने अडान लिएको कम्पनीले कुनै पनि प्रकारको रकम नलिई एक्जिट भिसा दिन बाध्य भयो । 

पीडित बाबुराम रेग्मीका अनुसार म्यानपावर व्यवसायी शमशेर गुरुङले उनीहरूको लागत खर्च पनि फिर्ता गर्ने वचन दिएका छन् । साउदी अरब आएदेखि ४ महिनाको आंशिक तलब र ९ महिनाको पूरा तलब नपाएका उनीहरूले लेबरकोर्ट गुहार्दा भगौडा बनाउन र जेल हाल्न अनेकपटक कम्पनीले षड्यन्त्र गरेको अभियन्ता श्रेष्ठले बताए ।

कम्पनीले १७ जनालाई एक्जिट भिसा दिए पनि तलब भने दिएन । पीडित हुने कामदारमा श्यामबहादुर गुरुङ नुवाकोट, नन्दबहादुर तिमिल्सिना मोरङ, रविन्द्रविक्रम चन्द कञ्चनपुर, जमलउद्दिन मियाँ सुनसरी, भुवन श्रेष्ठ खोटाङ, प्रेमकुमार वाइबा सिन्धुली, देवबहादुर कुशवाहा रौतहट, अमरबहादुर रौतहट, दामोदर पन्थी लमजुङ, विष्णुबहादुर मल्ल पर्वत, ऋषि गिरी लमजुङ, हर्कबहादुर तामाङ धादिङ, फुलकुमार यादव सिराहा, बाबुराम रेग्मी उदयपुर, रमेश श्रेष्ठ सुनसरी र भरत राना काभ्रे रहेका छन् । 

नेपालबाट एक हजार साउदी रियाल र खानबस्न दिने सम्झौतामा साउदी अरबको यान्बुस्थित सादअल अल अमिद कम्पनीले ल्याएर तीन महिनासम्म २ सय रियाल र त्यसपछि मासिक आठ सय रियाल र खान बस्न दिने सर्तमा काम लगाएको थियो ।

नौ महिनासम्म पनि तलब नदिएपछि उनीहरू ७ महिनाअघि श्रम अदालत गुहार्न पुगेका थिए । यान्बु श्रम अदालत कम्पनीलाई चारपटकसम्म बोलाउँदा पनि नआएपछि कारोबार रोक्का गरेर मुद्दा माथिल्लो कोर्ट मदिनामा पठाएको थियो । सोही कम्पनीमा १७ जना पीडितहरूबाहेक १ सय ५० बढी नेपालीहरू रहेका छन् । उनीहरूलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर उनीहरूको पनि श्रमशोषण गरिएको छ । उनीहरूले आफूहरूलाई फसाइएको थाहा पाई तत्कालै दूतावासमा सम्पर्क गरेर जानकारी गराउनुका साथै नेपालमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत पठाएका थिए ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?