नेपाल जाने बेलायती पर्यटक बढे

कान्तिपुर संवाददाता

लन्डन — बेलायतबाट नेपाल घुम्न जाने पर्यटक संख्या वृद्धि भएको छ । भूकम्प गएको वर्ष करिब २९ हजारले मात्र नेपाल घुमेकामा गत वर्ष सन् २०१६ मा ४६ हजार २९५ बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल जाने बेलायती पर्यटक बढे

यो वर्ष जुनसम्म नेपाल भ्रमण गर्ने बेलायती पर्यटकको संख्या २६ हजार नाघेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले लन्डनमा जानकारी दिए । यस वर्ष करिब ६० हजार पुग्ने अपेक्षा छ । 

उता, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले यो वर्ष कुल १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने तथ्यांक प्रस्तुत गरेका छन् जुन ३८ प्रतिशत वृद्धि हो । ‘यस वर्ष पर्यटक संख्यामा ऐतिहासिक रेकर्ड हुने भएको छ’, जोशीले कान्तिपुरसंग भने, ‘हामीले अहिले विदेशी पर्यटकलाई नेपालको प्राकृतिक, सांस्कृतिक अनुभव लिन प्रेरित गरिरहेका छौं । अचेल आरामदायी होलिडे भन्दा पनि साहसिक पर्यटनलाई हामीले जोड दिएका छौं ।’ भौतिक पूर्वाधार निर्माण र सेवा सुविधा अझ विस्तार गर्न सके पर्यटक संख्या वृद्धि गर्न अब असहज नभएको जोशीले बताए । 

लन्डनमा जारी विश्वभरका ट्राभल व्यावसायीहरुको मेला वल्ड ट्राभल मार्केट (डब्लुटिएम) मा सहभागिता जनाउन नेपालबाट सचिव न्यौपाने, जोशीसहित करिब तीन दर्जन ट्राभल कम्पनीका प्रतिनिधि यतिखेर यहाँ छन् । न्यौपाने र जोशीले भूकम्पपछि क्षतिग्रस्त सम्पदा र संरचनाहरु अब पूर्ववत अवस्थामा आइसकेकाले विदेशीलाई नेपाल घुम्न सुरक्षित छ भन्ने सन्देश डब्लुटिएममा बाँडिएको जनाए ।  

नेपाली दूतावासले मंगलबार साँझ लन्डनमा गरेको नेपाल पर्यटन प्रवर्धन सम्वन्धि कार्यक्रममा न्यौपानेले सन् २०१८ मा पर्यटक संख्या झन् बढ्ने अपेक्षा गरे । बेलायत नेपालबीच दुई सय वर्षदेखि गाढा दौत्य सम्वन्ध रहेको बारे चर्चा गर्दै उनले बेलायत नेपालको पर्यटन विकासमा महत्वपूर्ण सहयोगी मुलुक रहेको समेत उल्लेख गरे । 

न्यौपानेले नेपालमा भूकम्पपछि क्षतिग्रस्त पुरातात्विक सम्पदा, ट्रेकिङ रुट र अन्य भौतिक संरचनाहरु पुनर्निर्माण भइसकेको अवगत गराउँदै नेपाल भ्रमणका लागि सुरक्षित रहेको विश्वास दिलाए । नयाँ संविधानपछि सरकारको स्थायित्व भएको र नेपाल सरकारले पर्यटन विकास र पर्यटकका लागि सेवा, सुविधा अझ विस्तार गरिरहेको उल्लेख गरे । उनले नेपालको निजगढ, भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधिन रहेको जानकारी दिंदै नेपाल भ्रमण गर्न आग्रह गरे । नेपालमा पर्यटकलाई भगवान सरह मान्ने गरिएको जनाउंदै उनले न्यानो आतिथ्य सत्कारका लागि निम्तो दिएका थिए ।

कार्यक्रममा स्थानीय मेयर, काउन्सिलरहरु, बेलायतस्थित नेपाली र बेलायती ट्राभल व्यवसायी, नेपालबाट आएका ट्राभल व्यवसायी, गैर आवासीय नेपाली संघ बेलायतका प्रतिनिधि र अन्य शुभचिन्तक गरि करिब दुई सयको सहभागिता थियो ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले १८ औं शताव्दीदेखि नै बेलायतीले नेपाल भ्रमण गर्न थालेको स्मरण गर्दै बेलायत नेपालको पर्यटन विकासमा भरपर्दो श्रोत भएको जनाए । राजदूतले यस वर्ष झण्डै ६० हजार बेलायती पर्यटकले नेपाल भ्रमण गर्ने आशा व्यक्त गरे । नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताबारे उल्लेख गर्दै राजदूतले साहसिक पर्यटन जस्तै हिम शिखर आरोहण, ट्रेकिङ, जंगल सफारी, रयाफटिङ आदिका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको समेत बताए । लोन्ली प्लानेटले सन् २०१७ मा घुम्न उत्कृष्ट देशमा नेपाललाई ५ औं स्थानमा राखेको समेत उनले जानकारी दिए । उनले ट्रिप एडभाइजर, न्यूयोर्क टाइम्स लगायत अन्तर्राष्ट्रिय मिडियाले नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्यमा राखेको बताए । 

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा स्लाइड शो प्रिजेन्टेसनमार्फत नेपाल पर्यटन बोर्डका सिइओ जोशीले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक तथा सांस्कृतिक विविधता, भाषा, धर्म, हिम श्रृंखला दृश्यावलोकन आदिबारे जानकारी दिंदै नेपाल भ्रमण गर्न सबैमा आग्रह गरे । उनले बीबीसी जस्तो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मर्नु अघि एकपटक नेपाल घुम्न जानै पर्ने उल्लेख गरेको बताउँदै बेलायती राजकुमार हयारीले नेपालको सौन्दर्य देखेर भ्रमण अवधि लम्ब्याएको स्मरण पनि गरे । 

उक्त अवसरमा रोयल बोटानिकल गार्डेन एडिनबराका डा. मार्क वाट्सनले नेपालको वनस्पति, जैविक विविधता र हालै एडिनबरामा नेपाली उद्यान स्थापनाबारे जानकारी दिए । उनले रोयल बोटानिकल गार्डेनले नेपालमा वनस्पति संरक्षणका बारेमा गरेका गतिविधिबारे समेत उल्लेख गरेका थिए । 

कार्यक्रममा नेपालको कला संस्कृति झल्कने मौलिक नाचहरु जस्तै खस नाच, मन्जुश्री नाच, तामाङ सेलो, धिमे बाजा आदि प्रस्तुत गरिएको थियो । सो अवसरमा नेपालको पर्यटन सम्वन्धि वृत्तचित्र देखाइएको थियो ।

प्रकाशित : कार्तिक २३, २०७४ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?