३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आर्यघाटबाट पनि लाइभ ? लन्डनमा मुन्द्रेको यस्तो घोचपेच

कान्तिपुर संवाददाता

लन्डन — नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहँदा ‘स्टयाण्ड अप कमेडियन जितु नेपाल(मुन्द्रे) पनि यसबाट अछुतो रहेनन् । लाइक, अपडेट अनि कमेन्ट्स । समय समयमा फेसबुक अपडेट्स नियालिरहँदा मानिसहरु खुशीयाली देखि मसानघाटसम्मको लाइभमा अभ्यस्त रहँदा मुन्द्रे आश्चर्य चकित छन् ।

आर्यघाटबाट पनि लाइभ ? लन्डनमा मुन्द्रेको यस्तो घोचपेच

‘हुँदा हुँदा अहिले त लास जलिरहँदा पनि धुरु धुरु रुँदै लाइभ गर्ने चलन बढ्यो,' लन्डनको ग्रीनफोर्ड टाउन हलमा शनिबार आयोजित एक कार्यक्रममा मुन्द्रे प्रस्तुत भए, ‘खुशीको क्षण त ठीकै हो, वियोगमा समेत लाइभ गरेर मानिसहरुको संवेदना किन हराउँदैछ ?’

सामाजिक सञ्जालको विकृतिमाथि कटाक्ष गरेका यी जनप्रिय हांस्यकलाकारले पारिवारिक विचलन र नेपालको समसामयिक राजनीतिक बेथितीमाथि समेत कडा प्रहार गरे । उनले आसन्न निर्वाचन जोडेर नेताहरुमाथि तीखो व्यंग्य गर्दा दर्शकले साथ दिइरहेका थिए। ‘अहिले चुनाव लागेको बेला त उम्मेदवारहरु खेतमा धान काट्ने देखि उस्तै परे कपाल नै काटिदिन समेत तयार देखिएका छन्’, चुनावका बेला मिठो सपना बांडेर जनता माझ पुग्ने अनि जितेपछि गायब हुने नेताहरु मुन्द्रेको ‘टार्गेट’ भए । 

नेपालका शीर्षस्थ नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओली, रामचन्द्र पौडेलको क्यारिकेचर गरेर पनि दर्शक हंसाए मुन्द्रेले । आधुनिक जमानामा महिलाहरुको बढ्दो फेसन र मेकअप संस्कृति उनको व्यंग्य मसला बनेको थियो । नेपालको तुलनामा बेलायतका नेपाली महिलाको सु:खसयललाई उनले व्यंग्य मिश्रित प्रशंसा गरे । 

चौंथो पटक बेलायत आएका मुन्द्रले नेपाली टाइम भनेर दुई घण्टापछि हल्लिंदै कार्यक्रममा झुल्किने प्रति पनि छाडेनन् । 

इलिट इन्टरटेनमेन्ट यूकेले बेलायतमा गरिरहेको कार्यक्रममा मुख्य आकर्षण छन् मुन्द्रे । शुक्रबार उनी केन्टवासी नेपाली दर्शक हंसाउंदै थिए । उनी अन्तिम शो अल्डरसटमा गरेर मंगलबार नै नेपाल फर्कने चटारोमा छन् । उनी अभिनित फिल्म छक्का पन्जा २ को ५१ औं दिनको कार्यक्रम भ्याउन छिट्टै नेपाल फर्कनु परेको मुन्द्रेले बताए ।

स्टयाण्ड अप कमेडीमा बेग्लै पहिचान बनाएका जितु अहिले टेलिसिरियल जीरे खुर्सानीमा समेत व्यस्त छन् ।

कार्यक्रममा जितुसंगै नेपाल आइडलका टप ६ सुरज थापा, टप १० केन्जल मेहर श्रेष्ठ र गायिका तृष्णा गुरुङले गायनमार्फत दर्शकलाई मनोरन्जन दिलाए । 

हेम गुरुङ, निरा पिजी, इन्द्र घोताने, मनोज गुरुङ र लाटो मगरले संयुक्त रुपमा नेपाली साँझ ३ गरेका हुन् ।  

प्रकाशित : कार्तिक २७, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?