अष्ट्रेलियामा नेपाली कार्यक्रमको फरक प्रचार शैली

नारायण खड्का

अष्ट्रेलिया — अबको एक महिनापछि हुन लागेको नेपाल आइडलको कार्यक्रमको प्रचारका लागि आयोजकले भिन्न शैली अपनाएको छ । आयोजकले यहाँका रेल, स्टेसन, सडकहरुमा नेपालको झण्डासहित उनीहरुको कार्यक्रमको प्रचार सुरु गरिएको छ ।

सिड्नीको नेपाली टच नामक संस्थाले नेपाल आइडलका विजेताहरुलाई अष्ट्रेलिया ल्याउन लागेको हो । उनीहरुको कार्यक्रम सफल बनाउन आयोजकले पहिलोपटक सामान्यभन्दा फरक प्रचार शैली अपनाइएको बताएका छन् । सिड्नीमा मात्र नभएर मेलबर्नमा समेत त्यहाँ रहेका रेलहरुमा समेत सोही किसिमको प्रचारशैली अपनाइएको छ ।

कार्यक्रम आयोजकमध्येका राजकुमार गोश्वामीले नेपालीहरु धेरै भएको स्थानमा कोग्राहा केम्पसी लगायतका ट्रेन स्टेसनहरुमा समेत ठुला ब्यानरहरुमा प्रचार गरिएको जानकारी दिए । उनले धेरै मानिसहरुको आवतजावत हुने बाटोहरुमा समेत प्रचार शैलीलाई आकर्षक बनाईको बताए ।

यही डिसेम्बरको १ तारिखदेखि सुरु हुने नेपाल आइडलको प्रस्तुतीलाई सिड्नीको ओलम्पिक पार्कमा रहेको स्पोर्टस सेन्टरमा आयोजना गरिंदैछ । यस कार्यक्रमस्थलमा अहिलेसम्म कुनैपनि नेपाली कलाकारले कार्यक्रम प्रस्तुत गरेका छैनन् । कार्यक्रममा प्रस्तुतीका लागि नेपाली आइडलका उत्कृष्ट तीन बुद्ध लामा, निशान भट्टराई र प्रताप दासका साथै प्रमिला राई समेत अष्ट्रेलिया आउने भएका छन् । आयोजकमध्येका दीपेश पुनले पहिलो पटक रियालिटी शोबाट चर्चामा आएका उनीहरु अष्ट्रेलियामा समेत उत्तिकै मन पराइएकोले अन्य कार्यक्रमभन्दा उनीहरुको कार्यक्रमलाई पृथक बनाउने कोसिस गरिएको सुनाए ।

अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड, ब्रिसबन, पर्थ, डार्बिन र क्यानबेरामा उनीहरुको कार्यक्रम आयोजना हुँदैछ ।

प्रकाशित : कार्तिक २७, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्

दाहालको दाबी– माओवादीले ४० सिटसम्म जित्छ

‘दुई तिहाई ठोकुवा गर्न सक्दिन, वाम गठबन्धनको सुविधाजनक बहुमत आउँछ’
विमल खतिवडा

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिटसम्म जित्ने दाबी गरेका छन् ।चितवनमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो पार्टीले ४० सिटसम्म जित्ने दाबी गरेका छन् ।

चितवनमा सोमबार बिहान भएको पत्रकार सम्मेलनमा दाहालले ४० सिटसम्म माओवादीले जित्ने प्रक्षेपण गरेका हुन् । ‘शतप्रतिशत जित्ने प्रयास त हुन्छ नै,’ उनले भने, ‘तर ३० भन्दा माथि ४० सम्म जित्न सकिन्छ ।’ जिल्लागत रिपोर्ट लिने काम भइरहेकाले आन्तरिक प्रक्षेपण गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेसँग ६०/४० को भागबण्डा गरेको माओवादीले ६६ सिटमा उम्मेदवार बनाएको छ ।

दाहालले गठबन्धनले दुई तिहाई बहुमत ल्याउन कठीन भए पनि सुविधाजनक बहुमत आउने दाबी गरेका छन् ।

चितवन– ३ मा प्रतिनिधिसभा उम्मेदवार दाहालले प्रतिस्पर्धी राप्रपा नेताको पृष्ठभूमि ठेकेदारको रहेकाले त्यही पेसामा रहन सुझाव दिए । उनले पाण्डेसँग आफ्नो प्रतिस्पर्धा नहुने बताए । ‘कांग्रेसको उम्मेदवार भएको भए चर्कै प्रतिस्पर्धा हुने थियो तर कांग्रेसले एकजना ठेकेदारलाई समर्थन गरेपछि प्रतिद्वन्द्वीताको अवस्था छैन,’ उनले भने, ‘उहाँले युवाहरुलाई परिचालन गरेको भन्ने सुनेको छु, उहाँ राम्रो ठेकेदार हो, ठेकेदारी नै गरे राम्रो, राजनीतिज्ञलाई राजनीति गर्न दिन मेरो सुझाव छ ।’

एमाले र माओवादी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहे पनि चुनावी घोषणापत्रमै राख्दा चुनाव भाडिने र संसदमा तत्कालै संविधान संशोधन प्रस्ताव लैजानुपर्ने नैतिक अप्ठ्यारोमा परेको दाहालको भनाइ छ । चुनावपछि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा अगाडि बढ्ने उनले जानकारी दिए ।

दाहालले चुनावमा सुरक्षा चुनौति नरहेको उल्लेख गर्दै तर रोल्पा रुकुममा कांग्रेसले विप्लव समूहसँग ‘तालमेल’ गरेर आपराधिक गतिविधि बढाएको प्रतिक्रिया दिए ।

प्रकाशित : कार्तिक २७, २०७४ ११:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT