१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अक्सफाम ट्रेल वल्करमा नेपाली निरन्तरता

किसन राई

हङकङ — परम्परालाई निरन्तरता दिंदै अक्सफाम ट्रेल वल्कर २०१७ मा नेपाली खेलाडी विजयी भएका छन् । प्रतियोगिताका ३६ संस्करणका पछिल्ला पाँचमा निरन्तर र अधिकांशमा नेपालीले विजय प्राप्त गरेका छ ।

अक्सफाम ट्रेल वल्करमा नेपाली निरन्तरता

सय किलोमिटर दूरी ‘एवू टीम नेपाल’ ले १२ घण्टा १ मिनेटमा पूरा गरेको हो । तिर्थ तामाङ नेतृत्वको टिममा बेदबहादुर सुनुवार, समिर तामाङ र पूर्ण तामाङ थिए । गतवर्ष यही टिमले उक्त दूरी ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो ।

‘अनपेक्षित गर्मीका कारण पोहोर भन्दा ढिला भयो’ टिम लिडर तिर्थ तामाङले भने, ‘सबै भन्दा ठाडो र अप्ठ्यारो बाटो मध्यान्हमा परेपछि समय बढी लाग्यो ।’ आजको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको थियो ।

विजयी खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङलगायतको समूहले खादा ओढाई बधाई ज्ञापन गरेका थिए । विजयी खेलाडीहरुलाई प्रमाणपत्रसहित कप प्रदान गरिएको थियो ।

अहिलेसम्मको तथ्यांकमा १० घण्टा ५८ मिनेटको कीर्तिमान रहेको छ । सन् २०१३ को ३२ औं संस्करणमा ‘टिम कोलोम्बिया एस वान’का नेपाली खेलाडीहरुले नै उक्त कीर्तिमान बनाएका हुन् । विभिन्न खेल सामग्री उत्पादक तथा अन्य कम्पनीले प्रायोजन गर्ने गरेका टिममा नेपाली खेलाडीहरु रहने गरेका छन् ।

बेलायती गोर्खा सैनिकले अभ्यास गर्ने पहाडी–जङ्गली बाटोलाई सन् १९८१ देखि च्यारिटी दौडको रुपमा विकास गरिएको ‘अक्सफाम ट्रेल वल्कर’ सन् १९८३ देखि वार्षिक रुपमा निरन्तर हुने गरेको छ । शुरुवातमा सैनिकमात्र रहने प्रतियोगितामा पछि गैरसैनिकलाई पनि सहभागी गराइन थालिएको हो ।

एशिया र अफ्रिकामा गरिबी निवारण तथा आपतकालिन सहयोगका लागि सहयोग संकलनार्थ आयोजना गरिने यस कार्यक्रमबाट गत वर्ष ३ करोड ४० लाख हङकङ डलर संकलन भएको थियो ।

प्रकाशित : मंसिर ४, २०७४ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?