बेलायतमा नर्सको अभाव भएपछि...

नवीन पोखरेल

लन्डन — लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किम अन्तर्गत ल्याउन लागिएका नर्स बढिमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्नेछ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।

यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरुले यसबाट विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए । बेलायतमा हाल करिब ४० हजार नर्सको पद खाली छन् । तर, आलोचकहरु छोटो समयका लागि विदेशबाट जनशक्ति मगाउनुको सट्टा उनीहरुलाई बेलायतमै बस्ने अवसर दिइनुपर्ने बताउँछन् ।

नेपालीको संलग्नता रहेको ‘रिक्रुट टु हेल्थ केयर’ कम्पनीले ग्लोबल लर्निङ प्रोग्रामअन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसँग उक्त संख्यामा नर्स भित्र्याउन सम्झौता गरिसकेको जनाएको छ । तीन वर्षभित्र ५५ सय नर्स बेलायत ल्याउनुपर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो बृहत् भएको कम्पनीको दाबी छ ।

अहिले २० वटा देशबाट नर्सले आवेदन दिइरहेको र ३ सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका निर्देशक बीपी खनालले जनाए । नेपालबाट समेत आवेदन दिन सकिने जनाउँदै खनालले नर्सको आईएलटीएस तयारी शुल्क, भिसा शुल्क, हवाई टिकटदेखि बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययन नि:शुल्क हुने जनाए ।

टियर टुअन्तर्गत बेलायत आउन नर्सले आईएलटीएस वा ओईटी (अकुपेसनल इंग्लिस टेस्ट) दिनुपर्नेछ । तर, नर्सिङ अध्ययन तथा नर्सको परीक्षा अंग्रेजी माध्यममै दिएको प्रमाणित गरे वा नर्सले काम गर्ने ठाउँमा पनि अंग्रेजी माध्यममै बिरामीसँग उपचार गरेको प्रमाणित गर्नसके बेलायतको नर्सिङ एन्ड मिडवाई फ्री काउन्सिल (एनएमसी) ले अंग्रेजी परीक्षाबिना पनि मान्न सक्ने खनालले बताए ।

झन्डै दशकअघि बेलायत सरकारले सहज अवसर दिएपछि संसारभरिका हजारौं नर्स बेलायत आएको बताइन्छ । नेपालबाट आएका सयौं नर्स पनि अहिले सपरिवार बेलायतमा बसोबास गरिरहेका छन् ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कँडेलका अनुसार, बेलायतका विभिन्न अस्पताल तथा नर्सिङ होममा करिब २७ सय नेपाली नर्स कार्यरत छन् । बेलायतमा पीएचडी गरेका नेपाली नर्सदेखि क्लिनिकल नर्स स्पेसलिस्टसम्म रहेको कँडेलले बताइन् ।

वेल्समा कार्यालय रहेको रिक्रुट टु हेल्थ केयरमा नर्सिङमा दुई दशक बढी अनुभव सँगालेका युनिभर्सिटी हस्पिटल अफ वेल्सका पूर्वप्रमुख ड्रु फिलिप्स र प्रोफेसर डा. जोन स्टेफेन डेभिज निर्देशक छन् । कम्पनीले बेलायत आउन एक पैसा पनि नदिन आग्रह गरेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयको ग्लोबल स्पोक पार्टनर रहेको उक्त कम्पनीले एनएचएस र सरकारलाई आवश्यक परे तालिम तथा विभिन्न शैक्षिक सहयोग प्रदान गर्न तयार रहेको जनाएको छ । खनालले नेपाल सरकारसँग पनि आवश्यकताअनुसार कोर्स डिजाइन गरेर अध्ययनका लागि सघाउन सकिने बताए ।

प्रकाशित : मंसिर १५, २०७४ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्

उत्साहपूर्ण भएन पुन:मतदान

हरि गौतम

रुकुम (पश्चिम) — मतपेटिकामा एसिड हालिएपछि यहाँका दुई केन्द्रमा गरिएको पुन: मतदान उत्साहजनक भएन । बाँफिकोट गाउँपालिका–५ रत्न आधारभूत विद्यालयको ‘क’ केन्द्रमा गत १० गतेको भन्दा ५ प्रतिशत कम मत खसेको छ ।

६ सय ७२ मतदाता रहेको उक्त केन्द्रमा अघिल्लो पटक ४ सय ३२ अर्थात् ६४ दशमलव २८ प्रतिशत मत खसेकोमा शुक्रबार भने ५९ दशमलव ०७ प्रतिशत अर्थात् ३ सय ९७ मात्रै खसेको छ ।

उक्त केन्द्रमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मात्रै मतदान भएको हो । यसैगरी आठबीसकोट नगरपालिका- ११ को नेपाल राष्ट्रिय मावि गतसैनाको ‘ख’ केन्द्रमा पनि गत १० गतेको तुलनामा २३ प्रतिशत कम खसेको छ । ७ सय ५६ मतदाता रहेको उक्त केन्द्रमा अघिल्लोपटक ४ सय ९४ अर्थात् ६५ दशमलव ३४ प्रतिशत मत खसेको थियो भने शुक्रबार ३ सय २१ अर्थात् ४२ दशमलव ४६ प्रतिशत मात्रै खसेको छ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य गरी दुवैतर्फको समानुपातिक तर्फको मात्रै मतदान शुक्रबार गराइएको हो ।

गत १० गते मतदानकै क्रममा बाँफिकोट केन्द्रमा राखिएको प्रत्यक्षतर्फको प्रतिनिधिसभा सदस्यको मतपेटिकामा एसिड हालिएको थियो । यस्तै गरी आठबीसकोट नगरपालिकाको केन्द्रमा समानुपातिक तर्फको मतपेटिकामा एसिड हालिएपछि दुवै केन्द्रको मतदान स्थगित गरिएको थियो । उक्त मतदानका क्रममा बाँफिकोटको मतपेटिकामा २ सय ४६ मत खसेको थियो भने आठबीसकोटको मतपेटिकामा ३ सय ३ मत खसेको थियो । मतपेटिकामा एसिड हालेर चुनाव स्थगितपछि निर्वाचन आयोगले शुक्रबार मतदान गराउनू भनेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देश दिएको थियो । 

पुन: मतदान शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए । ‘दुवै केन्द्रमा शान्तिपूर्ण पुन: मतदान भयो,’ उनले भने, ‘तर उत्साहजनक भने हुन सकेन ।’ दुवै केन्द्रमा कडा सुरक्षाबीच मतदान गराइएको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुवै मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

बाँफिकोटमा जिल्लाका सहायक निर्वाचन अधिकृत रहेका तेजप्रसाद पौडेललाई मतदान अधिकृत बनाइएको थियो भने, आठबीसकोटमा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवर मतदान अधिकृत भएका थिए । सुरक्षा संवेदनशीलताको आधारमा मुख्य निर्वाचन अधिकृत संयोजकत्वको जनशक्ति व्यवस्थापन समितिले उनीहरूलाई मतदान अधिकृत बनाएर खटाउने निर्णय गरेको थियो । 

मतपेटिकमा एसिड हालेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बाँफिकोटबाट सोही ठाउँकी कल्पना केसी र आठबीसकोटबाट केशव खडकालाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित : मंसिर १५, २०७४ १९:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्