मलेसियामा एक युवकको मृत्यु

आश गुरुङ

लमजुङ — रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक युवकको निधन भएको छ ।

लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीसहरका २५ वर्षीय रवीन श्रेष्ठको निधन भएको परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार मलेसियाको चर्चित खाद्य कम्पनी म्याक फुड कम्पनीमा कार्यरत रवीन सोमबार बिहान मृतअवस्थामा भेटिएका थिए । मृतक श्रेष्ठका भिनाजु राजेश श्रेष्ठका अनुसार आइतबार काम गरेर फर्केपछि खाना खाएर सुतेका रवीन सोमबार बिहान मृत अवस्थामा भेटिएको उनका साथी राज पटेलले जानकारी गराएका थिए ।

राज र रवीन मिल्ने साथी भएकाले रवीनलाई उठाउन राज बिहान सबेरै गएको र मृत अवस्थामा भेटिएपछि परिवारलाई सोमबार दिउँसो फोन गरेको मृतकका भिनाजु श्रेष्ठले बताए । श्रेष्ठ मलेसिया गएको अब पुसले ३ वर्ष पुग्नेछ । त्यसपछि घर फर्किने तयारी गरेका उनको परिवारलाई भेट्ने चाहना अधुरो भएको छ । उनी विदेश गएको एक महिनापछि जन्मिएको छोरा माघमा ३ वर्ष पुग्छ ।

परिवारको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका उनको आफ्नो छोरालाई पनि भेट्न नपाई परदेशमै निधन भएको हो । उनको अशक्त आमा, पत्नी र १ छोरा छन् । उनको शव बुझ्न परिवार काठमाडौं गएका छन् ।

प्रकाशित : मंसिर २०, २०७४ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्

कुवेतमा अलपत्र ३ सय नेपालीलाई तत्काल उद्धार गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौं — कुवेतमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न र त्यहाँ रहँदा खानाबस्न व्यवस्था मिलाउन त्यहाँस्थित दूतावासलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयका सचिवको समन्वयमा बसेको बैठकले परराष्ट्र र श्रम मन्त्रालयाललाई समन्वय गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो । यसरी अलपत्र परेको विषयमा सरकारी निकायको पटकपटक बैठक बसे पनि उद्धारको संयन्त्र अझै बन्न सकेको छैन ।

कुवेतको खराफी नेसनल कम्पनीले लामो समयदेखि विदेशी श्रमिकहरुलाई तलब तथा अन्य सुविधाहरु नदिएको र कुवेतमा बस्ने परमिट समेतको म्याद थप नगरेपछि ३ सय नेपाली अलपत्र छन् । यो सम्बन्धी समाचार आएपछि उद्धार प्रक्रिया अघि बढेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले परराष्ट्र मन्त्रालयले अलपत्र परेका नागरिकहरुको तत्काल तथ्यांक संकलन गर्ने, के कति संख्या, नाम, पासपोर्ट विवरण, उनीहरुको भिसाको, लाग्ने जरिवाना सबैको विवरण उपलब्ध गराउने बताइएको छ । बैठकको निर्णय अनुसार उक्त विवरण वैदेशिक रोजगार विभागलाई बुझाउने र वैदेशिक रोजगार विभागले प्राप्त तथ्यांकका आधारमा नोटिसमा आएका अलपत्र नागरिकको नियमानुसार सम्बन्धित म्यानपावर कम्पनीहरूसँग समन्वय गरी उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

ती श्रमिक पठाउने नेपाली कम्पनीहरु एसओएस, गल्फ, लोटस पास र अलकरिम रहेको जानकारी परराष्ट्र मन्त्रालयले गराएको पनि प्रधानमन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : मंसिर २०, २०७४ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्