लन्डनमा प्रकाशले पाए अन्तर्राष्ट्रिय अवार्ड

कान्तिपुर संवाददाता

लन्डन — नेपालमा वित्तीय साक्षरताको क्षेत्रमा काम गरिरहेका युवा प्रकाश कोइरालाले ‘फाइनान्सियल इन्नोभेसन अवार्ड २०१७’ प्राप्त गरेका छन् ।

कोइरालाले वित्तीय साक्षरतामा उत्कृष्ट र सरहाहनीय काम गरेकामाउक्त पुरस्कार पाएका हुन् । उनले ट्रफी र २५ सय पाउण्ड नगद पुरस्कार जितेका छन् । बिहीबार लण्डनमा आयोजित एक समारोहमा सेक्योर ट्रष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक र बीबीसी टेलिभिजन नेटवर्कका प्रस्तोता क्लाउडीया विङकलम्यानले संयुक्तरुपमा कोइरालालाई पुरस्कार प्रदान गरेका थिए । 

लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके फाइनान्सले प्रत्येक वर्ष वित्तीय समावेशीकरणको क्षेत्रमा टेवा पुरयाउने विभिन्न संस्थालाई अवार्डका लागि आव्हान गर्दछन्। लन्डन इन्स्टिच्युट अफ बैंकिङ एण्ड फाइनान्स र यूके  फाइनान्सको यो वर्षको पुरुस्कारसंगै फाइनान्सियल इन्नोभेसन अवार्डले २० औं वर्ष पार गरेको छ ।

कोइरालाले स्थापना गरेको वित्तीय साक्षरताको क्षेत्रमा काम गर्ने संस्था (फिन्लीट नेपाल) ले नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्थासंग मिलेर वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गरिरहेको छ । जनतालाई बैंक तथा वित्तीय संस्थाको सहयोगमा साना तथा मझौला व्यवसाय शुरु गर्न पनि सो संस्थाले सघाउंदै आएको छ । साथसाथै सो संस्थाले ग्रामीणक्षेत्रमा जनतालाई पैसाको मूल्य बुझाएर स्थानीय स्तरमा बांडफांड हुने बजेटमा सहभागी हुन सिकाइ पारदर्शिता र जवाफदेहीतामा पनि जोड दिंदै आएको छ ।

अवार्ड पाएपछि आफ्नो संक्षिप्त प्रतिक्रियामा फिन्लीट नेपालका निर्देशक प्रकाश कोइरालाले भने, ‘यस अवार्डले हामीलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिनुकासाथै अरुबढि हौसला मिलेको छ। आगामी दिनमा हामी अरु कटिवद्ध भएर वित्तीय साक्षरता अभिवृद्धि गर्न अनलाइन तथा अफलाइन सामाग्री तयार गरि नेपालको दूरदराजसम्म पुग्नेछौं ।’ 

दुई वर्षअघि लण्डनमै कोइरालाले ‘युथ फाइनेन्सियल अवेयरनेस अवार्ड’ पाएका थिए। १० डिसेम्बर २०१५ मा हाउस अफ लर्डसमा आयोजित एक समारोहमा भ्यालेरी हावर्थ, व्यारोनेस अफ ब्रेकल्याण्डले उनलाई सो पुरष्कार प्रदान गरेकी थिइन् । 

प्रकाशित : मंसिर २६, २०७४ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

मधेस केन्द्रित दलका सबै अध्यक्ष विजयी

कान्तिपुर संवाददाता

काठमाडौं — प्रतिनिधिसभाको निर्वाचनमा तराई मधेस केन्द्रित राजनीति गर्ने दलका मुख्य शीर्ष नेताहरू सबै विजयी भएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका ६ जना अध्यक्षले जित हासिल गरेका छन् ।

६ वटा पार्टी मिलेर बनेको राजपाको अध्यक्षमण्डलमा सबै पार्टीका अध्यक्षहरू थिए । २०७० को चुनावमा महेन्द्र यादवबाहेक अन्य पाँच जना सबैले हारेका थिए । यस पटक उनीहरू सबैले जिते । फोरम अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट विजयी भए । 
राजपाका अध्यक्षमण्डलका महन्थ ठाकुरले महोत्तरी–३ बाट तेब्बर बढी मतको फरकमा एमालेका विजयकुमार चौधरीलाई हराए । सिरहा–४ बाट अध्यक्षमण्डलका राजकिशोर यादव विजयी भए । उनले माओवादीका अजयशंकर नायकलाई हराए । धनुषा–३ बाट राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई हराए । महोत्तरी–२ मा शरदसिंह भण्डारीले कांग्रेसका किरण यादवलाई हराए । महेन्द्र यादव भने आफ्नो पुरानो क्षेत्र सर्लाही–२ बाट विजयी भए । रौतहट–१ बाट अनिल झाले कांग्रेसका कृष्णप्रसाद यादवलाई हराए । प्रदेश २ का ३२ सिटमध्ये फोरम र राजपाले बुहमत सिटमा विजय हासिल गरेका छन् । हालसम्मको परिणामअनुसार प्रदेश २ मा राजपाले १० जितिसकेको छ भने एक सिटमा अझै उसको अग्रता छ । त्यस्तै फोरमले ९ सिट जितेको छ । वामपन्थी गठबन्धनको लहर चले पनि प्रदेश २ मा त्यसको असर मधेसकेन्द्रित दललाई परेन । तराईमा यसअघि राम्रै पकड राख्ने कांग्रेसलाई पनि मधेस केन्द्रित दलले खुम्च्याए । प्रदेश २ मा कांग्रेसले ५ सिट जितेको छ भने एमाले र माओवादी केन्द्रका कुल ७ सिट आउने सभ्मावना छ । 

 

प्रकाशित : मंसिर २६, २०७४ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्