कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द

होम कार्की

काठमाडौं — पारिवारिक विवादले धरासयी बनेको कुवेतको ठूलो कम्पनी खराफी नेशनलमा कामविहीन भएर बसेका झन्डै दुई सय नेपाली कामदारको खाना सोमबार बिहानदेखि पुन: बन्द भएको छ । त्यस कम्पनीमा भारतीय, फिलिपिनोसहित झन्डै चार हजार कामदार समस्यामा परेका छन् ।

कुवेतको नेशनल खराफीका २ सय नेपाली कामदारको खाना बन्द

खाना खुवाउँदै आएको कम्पनीले नेशनल कम्पनीबाट भुक्तानी नभएको भन्दै खाना दिन छाडेको हो । तीन साताअघि पनि खाना दिन छाडेको थियो । तर, नेपाली दूतावासको पहल गरेपछि कम्पनीले फेरि अलपत्र नेपाली कामदारलाई खाना खुवाउन थालेको थियो । ‘कामदारले खाना नपाएको भन्दै दूतावासलाई जानकारी दिएका छन्,’ कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले कान्तिपुरलाई भने, ‘हामीले कम्पनीका व्यवस्थापनसमक्ष कुरा राखिसकेका छौं । उनीहरुले कामदारलाई प्याकेटमा भए पनि खाना खुवाउने जानकारी दिएका छन् ।’

कम्पनीले तलब र काम दिन नसकेपछि ती कामदारहरु सुलेविया क्याम्पमा अलपत्र अवस्थामा छन् । त्यस कम्पनीमा आठ महिनासम्म तलब नपाउने र आवासीय भिसाको म्याद समाप्त भइसकेका कामदारहरु छन् ।

झन्डै दुई सय कामदारमध्ये ९४ जना उद्धारका लागि दूतावासको सम्पर्कमा छन् । २० जनाको उद्धार भइसकेको छ । दूतावासले टिकट र जरिवाना तिर्ने रकम भएपछि मात्रै बाँकी कामदारको उद्धार हुन सक्ने बताउँदै आएको छ ।

प्रकाशित : पुस ४, २०७४ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?