अष्ट्रेलियामा ल्होछारको रौनक

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाका विभिन्न सहरमा तामाङहरुको ल्होछार पर्व भव्य रुपमा मनाएका छन् । यसवर्ष नेपालबाट आएका कलाकारहरुले अष्ट्रेलियाको ल्होछारमा रौनक थपेका थिए । 

अष्ट्रेलियामा ल्होछारको रौनक

लुना क्यालेण्डरलाई विश्वास गर्नेहरुले चरा वर्गको विदाई र कुकुर वर्गलाई स्वागत गर्दै यसवर्षको ल्होछर पर्व मनाएका हुन् । अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेडलगायतका प्राय सबै सहरहरुमा यसवर्षको ल्होछार धुमधामसँग मनाइएको हो ।


यसवर्षको ल्होछार नेपालबाट आएका गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाका साथै गण्डकी तारा मनोज गुरुङसँग मनाएका थिए ।


विभिन्न राज्यहरुमा आयोजना गरिएको कार्यक्रममा ल्होछार मनाउने विभिन्न समुदायको आफ्नै परम्परागत नृत्य तथा गायनहरु प्रस्तुत गरिएको थियो भने नेपाली कलासंस्कृति झल्कने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।


‘ल्होछार नेपाल र नेपालीलाई चिनाउने पर्वका रुपमा विकास भइरहेको छ,’ बिगत ३ वर्षदेखि ल्होछार आयोजना गर्दै आएको ब्रिसबनको नेप्लिज इण्डिजिनस गु्रप अफ अष्ट्रेलियाका अध्यक्ष सन्तोष पाख्रिनले सुनाए । उनका अनुसार कार्यक्रममा परम्परागत गीतसंगीतका साथै नेपालको बिभिन्न कलासंस्कृति झल्कने प्रस्तुतिहरु समेत देखाइएको थियो ।


दक्षिण अष्ट्रेलियाको एडिलेडमा सम्पन्न कार्यक्रममा समेत विभिन्न परम्पारगत नृत्य, खानालगायतले ल्होछारलाई स्वागत गरिएको थियो । तमु धि एडिलेडले आयोजना गरेको कार्यक्रममा करिब ४ सयले सहभागिता जनाएका थिए । कार्यक्रममा यहाँकी सांसद जीङ्ग ली, एनआरएन प्रतिनिधीलगायतकाको सहभागिता थियो ।


यसैगरि सिड्नीमा नेपालबाट आएका गायक मनोज गुरुङले विभिन्न गीतसँगै मनोरञ्जन दिलाएका थिए भने ब्रिसबनमा बाँस्कोटासँगै स्थानीय कलाकार तथा ब्याण्डहरुले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा सिड्नीमा रहेका युवाहरुको ‘हामी’ ब्याण्डले दर्शकहरुको मन जित्न सफल बनेको थियो ।

प्रकाशित : पुस २२, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?