अवैधानिक कामदार फर्कने समयावधि थपियो

कान्तिपुर संवाददाता

क्वालालम्पुर — मलेसियाले अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन दिएको समयावधि ६ महिना थप गरेको छ । मलेसियाले पछिल्लोपटक गत वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएको थियो ।

स्थानीय संचारमाध्यमका अनुसार उक्त अवधि सकीएसँगै उसले पुन: अर्को ६ महिना (यसै वर्ष जुन ३०) सम्मका लागि समयावधि थप गरेको हो ।

Yamaha

अवैधानिक आप्रवासी कामदारहरु हटाउन यसअघि विभिन्न चरणमा आममाफी, वैधता कार्यक्रम र फिर्ती कार्यक्रम लगायतका थुप्रै अवसरहरु दिइसकेको छ ।

क्वालालम्पुरस्थित नेपाली दुतावासका अनुसार ‘माईईजी सर्भिसेज बर्हाड’ लगायत विभिन्न ८ कम्पनीहरुले मलेसियाली अध्यागमन विभागसँग सहजीकरण गरी गैरकानुनी कामदारलाई घर फर्काउन सरकारी अनुमति पाएका थिए ।

विगत एक बर्षको अवधिमा करिब १६ हजार अवैधानिक नेपाली कामदार स्वदेश फर्कीसकेका दूतावासले जनाएको छ । मलेसियाली सरकारले दिएको उक्त कार्यक्रमको मौका छोप्दै उनीहरु स्वदेश फर्केका हुन् ।

हाल दैनिक सय जनाको हाराहारीमा नेपालीहरु स्वदेश फिर्तीका लागि यात्रा अनुमतिपत्र लिन दुतावास पुग्ने गरेका छन् । यात्रा अनुमतिपत्र लिएपछि उनीहरु आउटपासका लागि अध्यागमन विभागमा जानुपर्ने हुन्छ ।

तर उनीहरु पक्राउ परिने डरले आफैं अध्यागमन विभाग जाँदैनन् । त्यहाँ जान अधिकांश दलालको साहारा लिने गरेका छन् भने कतिपय सहजीकरणका लागि सरकारी मान्यता पाएका कम्पनीका प्रतिनिधिको सहारामा आउटपास लिन पुग्ने गरेका छन् ।

करिब २० लाख आप्रवासी कामदार बैधानिक रुपमा कार्यरत रहेको मलेसियामा अझैं लाखौं कामदारहरु अवैधानिक अवस्थामा कार्यरत रहेको अनुमान छ । यहाँ करिब ४ लाख नेपाली बैधानिक रुपमा कार्यरत रहेका र हजारौं नेपाली अवैधानिक अवस्थामा कार्यरत रहेको हुनसक्ने ठानिएको छ ।

मलेसियाले त्यस्ता कामदारको संख्या घटाउन फिर्ती कार्यक्रम (थ्रि प्लस वान भोलेन्टर्ली प्रोग्राम) को समयावधि पटक–पटक थप गर्दै उनीहरुविरुद्ध खोजी अभियान समेत चलाउँदै आएको छ ।

प्रकाशित : पुस २३, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

धनकुटामा आइतबार बिहानदेखि पुन: यातायात बन्द

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटामा हिजो सॉझदेखि खुलेको यातायात आज बिहान ८ बजेदेखि पुन: बन्द गरिएको छ । धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आव्हान गरेको आम हड्ताललाई निरन्तरता दिइएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

सरकारले तत्काल राजधानी नतोक्ने भएपछि आमहड्ताल खुकुलो पारिएका आन्दोलन परिचालन समितिले जनाएको छ। आजदेखि ८ घण्टा मात्र यातायात बन्द गरिने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए। बिहान ८ देखि अपरान्ह ४ बजेसम्म सवारी साधन बन्द गरिने उनले बताए।

हिजो सॉझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो। तर बिहान ८ बजेदेखि पुन: कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात बन्द रहेको छ। हिजो साझ बन्द खुलाईएपछिको सडकमा रातभर यातायात चलेका थिए। आन्दोलन परिचालन समितिको बैठकले सरकारी, गैरसरकारी कार्यालय, शिक्षण संस्था तथा जिल्लास्थित सात वटै स्थानीय तह बन्द गर्ने निर्णय गरेको छ। धनकुटामा बजार, पसल, कलकारखाना बन्द रहेका छन्।

जिल्लास्थित राजनैतिक दलले समेत आमहड्ताललाई पुर्ण समर्थन र सहयोग गर्ने भन्दै आन्दोलन प्रति ऐक्यवद्धता प्रकट गरेका छन्। राणाकालिन गौडादेखि पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको धनकुटामा पर्याप्त पुर्वाधार, उपयुक्त हावापानी, सामरिक दृष्टिले सबल लगायत पक्षलाई ख्याल गरेर राजधानी कायम गरिनु पर्ने धनकुटाबासीको तर्क छ। एक महिनादेखि जारी आन्दोलनले पछिल्लो समय आमहड्तालको रुप लिएको छ। राजधान माग्दै धनकुटाबासीले काठमाडौंमा पनि दवावमुलक गतिविधि गर्दै आएको प्रादेशिक राजधानी अभियान समितिका संयोजक सांसद निरन राईले बताए।

प्रकाशित : पुस २३, २०७४ १०:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT