लागूऔषध कारोबारमा नेपालीलाई बेलायतमा अढाइ वर्ष जेल

कान्तिपुर संवाददाता

लन्डन — बेलायतमा लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपालीसहित दुई जनालाई जेल सजाय सुनाइएको छ । 

ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले अघिल्लो शुक्रबार २५ वर्षीय इमानुयल बोसम्यान र २४ वर्षीय चमन श्रेष्ठलाई क्रमश: ५ वर्ष र दुई वर्ष ८ महिना जेल सजाय सुनाएको हो । बोसम्यान रेडिङको आर्गिल स्ट्रिट बस्ने भए पनि श्रेष्ठको ठेगाना उल्लेख गरिएको छैन् । स्थानीय अखबार दि रेडिङ क्रोनिकलका अनुसार, ती दुई जना एउटा होटल रुममा क्लास ए ड्रग क्रयाक कोकिन र हेराइन सप्लाइ गर्न तयारी गरिरहेको अवस्थामा समातिएका थिए ।

प्रहरीले गत जुन १७, २०१६ मा रेडिङ टाउन सेन्टर, चिपसाइडमा खानतलासीका क्रममा उनीहरुबाट १२ पोका हेरोइन र क्रयाक कोकिन चकलेटको खोलमा लुकाइरहेको अवस्थामा भेट्टाएको थियो । उनीहरु प्रहरी धरौटीमा रहेकै बेला कानुनविपरीत गत अगस्ट ६, सन् २०१६ मा वकफिल्ड पार्क, मोर्टिमर बर्कसायरस्थित एक होटलमा हेरोइन र क्रयाक कोकिन आपूर्ति गर्ने तयारी गरिरहँदा समातिएका थिए । प्रहरीले बरामद लागूऔषध करिब ६ हजार पाउन्डभन्दा बढी मूल्यको भएको बताएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृत पिसी स्यानोन वाकरले अदालतले जेल सजाय दिएबाट ती दुईको अपराध कति गम्भीर प्रकृतिको थियो भन्ने प्रतिबिम्बित भएको जनाउँदै थेम्स भ्याली पुलिस लागूऔषध कारोबार गर्नेलाई कानुनी कठघरामा उभ्याउन प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्लो समय बेलायतमा नेपालीको अपराधिक क्रियाकलाप बढ्दै गएको छ । बेलायतमा २० जना नेपाली जेलमा रहेको तथ्यांक लन्डनस्थित नेपाली दूतावासले केही समय अघि दिएको थियो । गम्भीर प्रकृतिको अपराध गरेको प्रमाणित भए जेल सजायपछि आवासीय अधिकार लिइसकेका नेपालीलाई पनि डिपोर्ट गरिदिनसक्ने यहाँको कानुन छ ।

प्रकाशित : पुस २९, २०७४ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूली नदीमा प्रदूषण रोक्न माग गर्दै राजमार्गमा अवरोध

हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदी धमिलो भएकै कारण जल पर्यटन, होटल व्यवसायमा समेत प्रतिकूल प्रभाव परेको भन्दै त्रिशूली बचाउ अभियानले राजमार्गमा विरोध जनाएको छ ।

स्थानीयवासी र त्रिशूली बचाउ अभियानकर्ताहरुले जलयात्राका साधनहरु ऱ्याफ्टिङ्ग वोट तथा कायक राजमार्गमा राखेर विरोध जनाएका हुन् । ‘त्रिशूली नदी किनारमा जताततै खुलेका फिरफिरे खानीको बालुवा पखालेको हिलो र लेदो सिधै नदीमा मिसाइने गरेका कारण नदी धमिलो देखिने गरेको छ’ त्रिशूली बचाउ अभियानलाई सहयोग गरिरहेका वेनीघाट रोराङ्ग गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी बताए । धमिलो त्रिशूलीले बूढीगण्डकीलाई समेत प्रदूषित गराएको प्रमुख डल्लाकोटीले बताए

नुवाकोट र धादिङ जिल्लाका त्रिशूली नदी किनारमा अव्यवस्थित र मापदण्डविपरीत सञ्चालनमा आएका बालुवा प्रशोधन केन्द्र(फिरफिरे) र ढुङ्गा तथा बालुवाखानीका कारण नदी प्रदुषित बन्ने क्रम बढ्दै गएको छ । नदी आसपास खुलेका होटलका फोहोरमैलाले पनि प्रदूषण बढाएको सरोकारवालाको भनाइ छ ।

त्रिशूली नदी बाह्रै महिनाजसो धमिलो बग्न थालेपछि विदेशी तथा स्वदेशी जलयात्रीहरुको संख्या कम हुँदै गएको जोगीमारा खटौटीस्थित रोयलवीच क्याम्पका जलयात्रा व्यवसायी विष्णु सिलवालले बताए । धादिङको बैरेनीदेखि गजुरीसम्म झण्डै डेढसय र नुवाकोटतर्फ ३ दर्जन संख्यामा फिरफिरे सञ्चालनमा छन् ।

प्राकृतिक सम्पदा संरक्षण समिति मलेखु धादिङका संयोजक श्रवण त्रिपाठीले प्रदूषण र अवैध उत्खनन रोक्नतर्फ स्थानीय सरकारले ध्यान नदिको गुनासो गरे ।

प्रकाशित : पुस २९, २०७४ १६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्