१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गान्तोक र भीमेश्वरबीच भगिनी सम्बन्ध विस्तार गरिने

गान्तोक (सिक्किम) — भीमेश्वर नगरपालिका र भारतको सिक्किमस्थित गान्तोक नगरपालिकाबीच भगिनी (सिस्टर सिटी) सम्बन्ध विस्तार गर्ने प्रारम्भिक समझदारी भएको छ ।

गान्तोक र भीमेश्वरबीच भगिनी सम्बन्ध विस्तार गरिने

हावापानी, भू-वनोट, रहनसहन र प्राकृतिक स्रोतमा मिल्दोजुल्दा दुई नगरपालिकाबीच मंगलबार आपसी सहयोग आदनप्रदान गर्नेसम्बन्धी गहन छलफल भएको हो । गान्तोकका मेयर शक्तिसिंह चौधरी र भीमेश्वर नगरका मेयर भरत केसी भगिनी सम्बन्धको प्रकृयालाई अघि बढाउन सहमत भएका हुन् । सिक्किम राज्यको राजधानी गान्तोक नगरपालिका घोषणा भएको सात वर्षमा तीव्र विकास गरेको अनुभवलाई भीमेश्वर नगरले अवलम्बन गर्दै सहकार्यमा हातेमालो गर्ने प्रतिबद्धता पनि गरिएको छ ।


उक्त अवसरमा दोलखाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले दुई नगरबीचको सम्बन्धले विकास र पर्यटन प्रवद्र्धनमा उल्लेख्य महत्व राख्ने बताए । दोलखाको जिरी नगरपालिकाका मेयर टंक जिरेलले पनि पर्यटक आदनप्रदान र विकासमा साझेदारी गर्ने प्रस्ताव गान्तोक नगरपालिकालाई गरे ।


नेपाली भाषा, संस्कृति, रहनसहनको बाहुल्यता भएको गान्तोक सहर करिब दुई हजार मिटर उचाईमा अवस्थित छ । उत्तिकै उचाई र उक्त भू-वनोट मिल्ने भएकाले सिक्किमले अवलम्बन गरेको जैविक उत्पादन प्रणाली, फोहरमैला व्यवस्थापन, कानुनी शासनको पालना र पर्यटन क्षेत्र व्यवस्थापनको अनुभव अनुशरण गर्न लायक भएको भीमेश्वर नगरका मेयर भरत केसीले बताए ।


गान्तोक नगरको जनसंख्या एक लाख छ हजार छ तर यहाँ वार्षिक १५ लाख बाह्य पर्यटक आउँछन् । गान्तोकका मेयर शक्तिसिंह चौधरीले सुरक्षा, सुविधा, प्राकृतिक सुन्दरता, मनोरञ्जन र अर्गानिक सहर भएकाले पर्यटकको ओइरो लाग्ने गरेको बताए ।


भीमेश्वर नगरमा करिब ४० हजार जनसंख्या छ । कालिञ्चोक, भीमेश्वरलगायत क्षेत्रमा पनि ठूलो संख्यामा आन्तरिक पर्यटक आउँछन् तर त्यसको तथ्याङ्क छैन । पर्यटन क्षेत्र र फोहर व्यवस्थापनमा हासिल गरेको नमुनायोग्य उपलब्धिलाई भीमेश्वरमा सहयोग पुर्‍याउन तयार रहेको गान्तोकका डेपुटी कमिस्नर छोपेल भुटियाले बताए ।


अर्गानिक मिसन टोलीसँग छलफल

विश्वकै पहिलो जैविक राज्य (अर्गानिक स्टेट) घोषणा भएको सिक्किमका अभियन्ताहरुसँग दोलखाका जनप्रतिनिधिहरुले छलफल गरेका छन् । सन् २००३ देखि सुरु गरेको अभियानले सन् २०१५ मा सार्थकता पाएपछि योजनाबद्ध जैविक राज्यको विकासमा लागेको सिक्किम जस्तो विषादीरहित क्षेत्र कसरी बन्न सक्छ भन्ने विषयमा जनप्रतिनिधिहरुले जानकारी लिए । बेंसीदेखि उच्च पहाडी संरचनामा सिक्किमसँग मेल खाने भएकाले विषादीरहित तरकारी र खाद्यन्न उत्पादनतर्फ दोलखालाई कसरी लान सकिन्छ भन्नेमा सिक्किमको अर्गानिक सिटी मिसन टोलीका विज्ञहरुसँग छलफल गरिएको हो ।


छलफलमा कृषि विज्ञ एच.एस. शर्माले युरिया मल र किटनाशक औषधिलाई पूर्णत: प्रतिबन्ध गरेपछिका दिनहरुमा सिक्किम जैविक राज्य बन्दै गएको दाबी गरे । सिक्किम सरकारले यही अप्रिलदेखि बाहिरबाट तरकारीलगायत कृषि उपजको आयातमा पूर्णत: प्रतिबन्ध गर्ने र स्थानीयस्तरको विषादीरहित उत्पादन मात्र प्रयोग गरिने घोषणा गरेको छ । कुखुरा र अण्डा ल्याउन यसअघि नै प्रतिबन्ध गरिसकेको छ ।


‘व्याक टु नेचर’अर्थात् उत्पादनमा परम्परागत खेती प्रणालीतिर फर्कने अभियानलाई यस वर्षदेखि नै लागू गर्ने गरी वार्षिक कार्यक्रम र बजेटमा समावेश गरिएकाले सिक्किमको अनुभव अत्यन्त महत्वपूर्ण हुने दोलखास्थित मेलुङ गाउँपालिकाका प्रमुख नरबहादुर श्रेष्ठले बताए ।


सिक्किमको अर्गानिक मिसन उत्पादनको बाह्य व्यापारसाग मात्र नभएर मानव जीवनको स्वास्थ्यसँग गाँसिएको र भावीपुस्ताका लागि जमिनको उत्पादकत्व जोगाउने पक्ष समेत जोडिएको तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए ।


भ्रमणमा सहभागी जनप्रतिनिधिहरुले अर्गानिक खेती गरिएका सिक्किमका ग्रामीण इलाकाहरुको अवलोकन समेत गरेका छन् । सिक्किममा हालसम्म एकसय ९० समूहका ६६ हजार किसानलाई जैविक उत्पादन गर्ने सूचीमा प्रमाणीकरण गरेर प्रोत्साहन गरिएको छ ।

प्रकाशित : माघ ३, २०७४ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?