२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

नबिन पोखरेल

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको छ ।

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

सोमबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अध्यक्ष भवन भट्टले उक्त घोषणा गरेका हुन् ।


एनआरएनको उद्गमस्थल बेलायतबाटै भट्टले उक्त कोष स्थापना गर्ने घोषणा गरे । अक्टोबरमा अध्यक्ष निर्वाचित भएपछि भट्ट पहिलोपटक बेलायत आएका हुन् ।


भट्टले उक्त लगानी कोषमा निश्चित अंश वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गरिने जनाउँदै कोषमा आफ्नो क्षमता अनुसारको लगानी गर्न सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । उनले वैदेशिक रोजगारमा गएका र साना स्तरको लगानी गर्ने गैरआवासीय नेपालीहरुलाई पनि लगानीमा सहभागी गराउन आवश्यक रहेको बताउँदै भने, ‘यसका लागि नयाँ स्थापना हुन लागेको कम्पनी आइपीओमा जान आवश्यक छ । कम्पनी स्थापना भएर श्रोत संकलन गरी लगानी गर्न सुरु गरे लगत्तै आइपीओमा जान पाउने व्यवस्था गर्न हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’


कोषबारे नेपाल सरकार र सरोकारवाला पक्षहरुसंग आवश्यक छलफलपछि प्रारम्भिक अवधारणापत्र तयार गरी विभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा छलफलको चरणमा रहेको संघले जनाएको छ ।


यस अघि ३५ देशका ८३५ लगानीकर्ताको सहभागितामा स्थापित ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’ ले नेपालको निजी क्षेत्रको साझेदारीमा लमजुङको दोर्दी खोलामा २७ मेघावाट जलविद्युत परियोजना निर्माण कार्य सम्पन्न गर्न लागेको छ ।


कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले एनआरएनएको उक्त घोषणाको स्वागत गर्दै यसमा सरकारको उपस्थिति रहने आश्वासन दिए ।


‘वैदेशिक लगानीका लागि उदार अर्थव्यवस्था र स्थिर सरकार आवश्यक छ,’ गर्भनर नेपालले भने, ‘अब नेपालमा अलमलिनु पर्ने केही छैन । अबको बाटो आर्थिक विकासको हो ।’


गभर्नर नेपालले अब एक डेढ महिनाभित्र नेपालमा २० अर्ब रुपैयाँ चुक्ता पंूजीको पूर्वाधार बैंक सञ्चालन हुन लागेको समेत जानकारी दिए ।


एनआरएनएको उक्त कोष घोषणालाई विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले ऐतिहासिक, दुरगामी र महत्वपूर्ण घोषणा भने । राजदूतले नेपालमा राजनीतिक उपलब्धि संस्थागत भएको र आर्थिक समृद्धिको सुनिश्चितता गर्ने दिशामा देश अग्रसर भएकाले देशलाई गाली नगरी लगानी गर्न आह्वान गरे । नेपाल सरकारले लगानीमैत्री वातावरण सृजना गर्ने आश्वस्त पार्दै राजदूतले लगानीका लागि कर्मचारीतन्त्रको कुनै अवरोध नरहने समेत दाबी गरे ।


उक्त अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले बोलेका थिए । एनआरएनए संरक्षक जीवा लामिछानेले स्काइपमार्फत मन्तव्य दिए ।


कार्यक्रममा बेलायत, बेल्जियम, नेदरल्याण्ड, आयरल्याण्ड, जर्मनी, जापान, डेनमार्क लगायतका देशहरुबाट समेत गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

प्रकाशित : माघ ९, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?