कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

मञ्जु गुरुङ

सोल — हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् ।

पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो ।


ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा केही पत्र देखाउँदै बटुवासँग पैसा मागिरहेका थिए । लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए । लामाले सुरुमा केही तस्बिर खिचिन् । जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे । नजिकै रहेका अर्का युवा पनि आफू नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नुपरेको बताउँदै भागिहाले ।


लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए । संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो । ‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ । संस्थाले नेपालमा अनाथ तथा गरिब बालबालिकाका लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जानकारी गराएको छ ।


यस घटनाबारे दूतावासलाई सूचित गरिएको लामाले बताइन् । उनका अनुसार दूतावासले यसबारे अध्ययन गर्ने आश्वासन दिएको छ । नेपालीलाई रोजगारी दिँदै आएको देशमा ती युवाले बटुवासँग पैसा मागेको देख्दा दु:ख लागेको लामाले बताइन् । ती युवाबाट प्राप्त सूचीअनुसार एक जना दाताले ५ हजारदेखि ५ लाख वन (५० हजार रुपैयाँ) सम्म रकम दिएका छन् ।

कोरियाका सडकमा पैसा माग्दै हिँडेको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्तै युवालाई नेपालीले नै भेटेर ‘नेपालको बेइज्जत गरे’ भन्दै दूतावासमा पुर्‍याइदिएका थुप्रै उदाहरण छन् ।


सन् २०१२ मा सुवन सहरको एक विश्वविद्यालय अगाडि सडकमा गरिब बालबालिकाको तस्बिर देखाउँदै पैसा मागिरहेको भेटेपछि स्थानीय नेपाली व्यवसायी बुद्धि गुरुङ र कहरमान राईले समातेर तत्काल दूतावास पुर्‍याएका थिए । तत्कालीन राजदूत कमानसिंह लामाले सोधपुछ गरी अब यस्तो नगर्नु, फेरि यसरी भेटिए प्रहरीलाई जिम्मा दिने डर देखाएर पठाइदिएको व्यवसायी गुरुङको अनुभव छ ।


यसरी नै पटकपटक गरी ९ युवालाई दूतावास पुर्‍याएको सोलका अर्का व्यवसायी पुरु जोशी बताउँछन् । तर दूतावास र कोरियन प्रहरीले पनि उनीहरूलाई केही गर्न नसकेको गुनासो जोशीको छ । सन् २००७ देखि नै कोरियाका सडकमा यसरी नेपाली युवा माग्दै गरेको भेटिएको जोशीको अनुभव छ । कोरियाको क्रिस्चियन विश्वविद्यालय सनमुनबाट विद्यार्थी भिसा मिलाई युवाहरू कोरिया प्रवेश गर्ने गरेको जोशीको भनाइ छ ।


पूर्वमन्त्री एकनाथ ढकाल संलग्न ‘वर्ल्ड पिस’ नामक क्रिस्चियन संस्थाले युवायुवतीलाई कोरिया पठाएर सडकमा पैसा माग्न लगाइरहेको ती युवाले बताएको जोशीले जानकारी दिए । यसरी उठाएको पैसा संस्थालाई बुझाउने र आफूहरूले कमिसन पाउने गरेको ती युवाले बताएका थिए । यसबारे दूतावासले अध्ययन थालेको जोशीले सुनाए । बाटोमा पैसा मागिरहेको दृश्य कैद गरी फेसबुकमार्फत सार्वजनिक गर्दै कोरियामा यस्ता गतिविधिविरुद्ध अभियान नै सञ्चालन गरेपछि केही कम भएको तर अहिले फेरि देखिन थालेको जोशीले सुनाए ।

प्रकाशित : फाल्गुन १, २०७४ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?