१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बेलायतमा भिड्दै नेपाली बक्सर

कान्तिपुर संवाददाता

लन्डन — नेपाली बक्सर आदिप राना शनिबार साँझ बेलायतको नरवीचमा हुने ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा भिड्दैछन् ।

बेलायतमा भिड्दै नेपाली बक्सर

७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए ।


‘अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढी राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ,’ रानाले शुक्रबार भने । तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढी आशावादी भएका हुन् ।


उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् । राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए ।


सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छँदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् ।


यूके आएपछि सन् २०१५ मा उनले यहाँ आयोजित विभिन्न प्रतियोगितामा चारवटा उपाधि जिते । सन् २०१५ मा उनी अमेच्योर युरोपियन किक बक्सिङमा ७२ केजीअन्तर्गत च्याम्पियन भए भने उनले यसै वर्ष साउदर्न एरिया के वान ब्रिटिश च्याम्पियनको उपाधि चुमे । ७० केजी अन्तर्गत यूके फाइट क्लव च्याम्पियन पनि भए उनी । सन् २०१५ मै उनी इस्का च्याम्पियन (इन्टरनेशनल स्पोर्टस किक बक्सिङ एसोसिएसन) बने ।


भविष्यमा एमएमए (मिक्स मार्सल आर्टस) मा उत्रने उनको लक्ष्य छ । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी भूतपूर्व गोर्खाका सुपुत्र हुन् ।


रानालाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण तथा खर्च प्रायोजन गरेको छ ।


कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रानालाई थप हौसला प्रदान गर्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न उक्त सहयोग गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बताए ।


प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार वेम्लीस्थित कार्यालयमा रानालाई शुभकामना दिंदै दर्लामीले भने, ‘खेल प्रतिभाहरुले नेपाल र नेपाली समुदायको इज्जत प्रतिष्ठा राखेका छन् तर हामी उनीहरुलाई कम प्राथमिकता दिइरहेका छौं ।’


प्रकाशित : फाल्गुन ५, २०७४ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?