कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला 

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै आएका गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेका छन् । 

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला 

कुवेतमा रहेका म्यानपावर व्यवसायीविरुद्ध समाचारहरु लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् । कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको छ ।

‘डियूटीबाट फर्किने बेला फोन गर्नुभयो । उहाँहरुले साथी सुजन केशीको कोठामा बोलाउनुभयो । सामान्य हिसाबले लिएर कोठामा पुग्नसाथ ममाथि अध्यक्ष तामाङले नै आक्रमण गर्नुभयो,’ न्यौपानेले कान्तिपुरलाई भने, ‘मलाई रक्सी लिएको गिलासले हिर्काउनुभयो । भित्र किचनबाट चक्कु ल्याएर प्रहार गर्ने कोशिस गर्नुभयो, त्यो छलेर जोगिएँ । झन्डै आधाघण्टासम्म कुटपीट गर्नुभयो ।’

कुटपीट गर्नेक्रममा कुवेत म्यानपावर ब्यबसायी संघका अध्यक्ष श्याम लामा, दिनेश उप्रेती र कुमार पुरीले साथ दिएका थिए । ‘उनीहरुले पहिलादेखि योजना बनाएका रहेछन् । झन्डै एकदशकदेखि राम्रै चिनजान भएकोले कुटपीट गर्छन् भन्ने सोचेको पनि थिइँन्,’ उनले भने ।

तामाङसहित ब्यबसायीले अबैध ढंगले घरेलु महिला कामदार ल्याई कुवेतीलाई बेच्ने गरेका छन् । सरकारले बैध ढंगले घरेलु कामदार पठाउन रोक लगाएपछि कुवेतमा कार्यरत पत्रकारहरुले श्रम सम्झौता नभएसम्म घरेलु कामदार पठाउन नहुने पक्षको वकालत गर्दै आइरहेका छन् । न्यौपानेको फर्वानियास्थित अस्पतालमा उपचार भएको छ । उनले उनीहरुविरुद्व स्थानीय प्रहरीमा उजुरी हाल्ने तयारी गरेको बताए । ‘घटनापछि भागेर एउटा रुखको आडमा लुकेर बसें । लगत्तै मैले दूतावास र राजदूतलाई जानकारी दिएँ,’ उनले भने, ‘हामी पहिला प्रहरी कार्यालयमा उजुरी दिन्छौं । त्यसपछि दूतावासले कसरी लिएको छ त्यसबारे बुझ्न जाँदैछौं ।’


प्रकाशित : फाल्गुन ७, २०७४ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?