१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कुवेतले आममाफी दुई महिना थप्यो

२ हजार ९ सय ८ जनाले ट्राभल डकुमेन्ट बनाए
होम कार्की

काठमाडौँ — कुवेतले आवासीय कानुन उल्लंघन गरी गैरकानुनीरुपमा बस्दै आएका कामदारलाई बिना सजाय स्वदेश फिर्न दिइएको आममाफीको म्याद दुई महिना थपेको छ ।

कुवेतले आममाफी दुई महिना थप्यो

यसअघि २२ फेवु्रअरीसम्म आममाफीको म्याद तोकिएको थियो ।


कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले आममाफीको म्याद अप्रिल २२ सम्म थपिएको बताए । कुवेतले घोषणा गरेको आममाफीमा जरिवाना (गरिमा) तिरेर कुवेतमा बस्न वा बिना जरिवाना स्वदेश फिर्न पाइन्छ ।

राजदुत हमालले आममाफीको फाइदा लिन नेपालीहरु पनि सहभागी भइरहेको बताए । आममाफीको करिब एक महिनाको अवधिमा २ हजार ९ सय ८ जना नेपालीले स्वदेश फिर्नको लागि नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाइसकेका छन् । जसमा ११ सय ४० पुरुष र १७ सय ३१ घरेलु महिला कामदार (हाउसमेड) छन् ।


घरबाट भागेर बाहिर बस्ने क्रममा उनीहरुका साथमा ३७ जना बच्चासमेत छन् । जसमा २० जना बालक र १७ जना बालिका छन् । कुवेतमा गैरकानुनी हैसियतमा रहेका नेपालीको संख्या करीब ४ हजार ५ सय रहेको त्यहाँको सरकारले जनाएको छ । ‘हाम्रो अनुमानमा आममाफीमा सहभागी हुनुपर्ने कामदार अझै छन्,’ राजदूत हमालले भने, ‘बिबिध कारणले स्वदेश जान नपाएका लागि यो अवसर हो ।’


गत जनवरी २४ सम्म भिसाको म्याद सकिएका, यही मितिसम्म कम्पनी वा साहु (स्पोन्सर) छोडेर भागेका भनेर प्रहरीमा उजुरी दिएका कामदारको हकमा मात्रै लागु हुनेछ । ‘आवासीय भिसा नलगाई कुवेतमा बसिरहेका तर निजविरुद्व कुनै मुद्धा नभएको र यात्रा निषेध आदेश जारी नभएका कम्पनी तथा घरमा काम गर्ने नेपाली कामदारको हकमा आफुसँग सक्कल राहदानी भए टिकटको ब्यबस्था गरी सिधै कुवेत बिमानस्थलबाट स्वदेश फिर्न पाउने सुबिधा छ,’ उनले भने । जरिवाना निकै महुंगो पर्ने भएकाले अधिकांश नेपाली स्वदेश फिर्न इच्छुक देखिएका छन् ।


कुवेतमा घरेलु कामदारका रुपमा करीब ३० हजार नेपाली महिला कार्यरत छन् । घर मालिकको शारीरिक, मानसिक यातना र अत्याधीक श्रम शोषणामा परेका हाउसमेडहरु घर (स्पोन्सर) छाडेर भाग्ने गरेका छन् ।


उनीहरुले अन्यत्रै बाहिर कोठा लिई अवैध ढंगले काम गर्दै आएका छन् । त्यसरी भागेर समस्या परेका नेपाली महिलालाई नेपाली समेतको संलग्नतामा अवैध कार्यमा प्रयोग गर्ने गरेको समेत बताउने गरिएको छ । दुतावासले आममाफीलाई अधिकतम सदुपयोग गर्न नेपालीलाई अपिल गरेको छ ।


राहदानी, सिभिल आइडी, नागरिकताको सक्कलसहित वा फोटोकपी लिई आउनेले दूतावासबाट नि:शुल्क ट्राभल डकुमेन्ट बनाइरहेको छ । ट्राभल डकुमेन्टको समय ३ महिनाको समय भएपनि २२ अप्रिल अगाडि स्वदेश फिरिसक्नुपर्ने हमालले बताए ।


प्रकाशित : फाल्गुन ८, २०७४ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?