२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पत्रकार पिट्ने एनआरएनए अध्यक्षद्वारा राजीनामा 

नैतिक जिम्मेवारी लिन्छु : तामाङ 
कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको बेला एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो ।

घटनामा आफ्नो गल्ती भएको भन्दै तामाङले पदबाट राजीनामा दिएका छन् । घटनाको आफूले नैतिक जिम्मेवारी लिने तामाङले बताए । कुवेतस्थित नेपाली समाजका अगुवाले न्यौपाने र तामाङ पक्षवीच मंगलबार नेपाली दूतावासमा सहमति गराएका छन् । नेपाली समुदायको अनुरोधअनुसार मिलापत्र गरेको अध्यक्ष न्यौपानेले बताए ।

कुवेतमा घरेलु महिला कामदार ल्याउने धन्दा गरी बसेका सिन्धुपाल्चोकका तामाङले सन २०१५ देखि एनआरएनएको नेतृत्व गर्दै आएका छन् । कुवेतले घरेलु कामदार आपूर्ति कार्यलाई वैधता दिएपनि नेपालमा भने यो अवैध मानिन्छ ।

तामाङको आक्रमणबाट न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको थियो । घटनास्थलमा अन्य व्यक्तिहरु पनि उपस्थित भएकाले थप अप्रिय घटना हुन पाएन । न्यौपाने कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका छन् ।

अध्यक्ष न्यौपानेका अनुसार एनआरएनका पुर्व आइसिसि सदस्य सुजन केशीको कोठामा कुटपीट हुदाँ कुवेत म्यानपावर ब्यबसायी संघका अध्यक्ष श्याम लामा, दिनेश उप्रेती र कुमार पुरीको संलग्नता छैन ।

प्रकाशित : फाल्गुन ९, २०७४ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?