१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

टीपीएस नवीकरणका लागि सिनेटर क्रुज सकारात्मक

दिनेशजंग शाह

काठमाडौँ — टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधाको नविकरणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको एक प्रतिनिधीमण्डलले रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ ।

टीपीएस नवीकरणका लागि सिनेटर क्रुज सकारात्मक

टेक्सास राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने क्रुजसँग, एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाले टीपीएस नवीकरणका लागि अनुरोध गरेको हो ।


एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको नेतृत्वको टोलीले नेपालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अमेरिकामा रहेका टिपीएसवाहक नेपालीहरूमा टीपिएस नविकरण नभएमा पर्नसक्ने आर्थिक, सामाजिक, मानसिक समस्याबारे सिनेटर क्रुजलाई अवगत गराएको थियो ।


सिनेटर क्रुजले महाभूकम्पले नेपालमा पुर्‍याएको मानवीय एवं आर्थिक क्षति प्रति आफू जानकार रहेको उल्लेख गर्दै अमेरिकामा रहेका नेपालीहरुको टीपीएस नवीकरणका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएको मिडिया संयोजक बाल जोशीले कान्तिपुरलाई बताए । अमेरिकामा रहेका नेपालीहरुको टिपीएस नवीकरणका लागि आफू सकारात्मक रहेको सिनेटर क्रुजले बताएका थिए ।


वासिङटन डिसीस्थित सिनेट मुख्यालयमा भएको भेटवार्तामा एनआरएनएको टोलीले सिनेटको न्यायिक समितिसँग पनि भेटेको थियो । समितिको प्रतिनिधीको रुपमा क्याथलिन हुकरले भूकम्प पछिको नेपालको पछिल्लो स्थिति बारे जानकारी लिएका थिए ।


भेटवार्तामा एनआरएनको तर्फबाट विभिन्न च्याप्टरका प्रतिनिधिहरू, पत्रकारहरू तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


२०१५ मा नेपालमा गएको विनाशकारी महाभूकम्प पश्चात अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदैछ ।


प्रकाशित : फाल्गुन १६, २०७४ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?