बेलायतका मिसेस सुन्दरीहरुले बालबालिकालाई १० लाख दिने

कान्तिपुर संवाददाता

लन्डन — मिसेस नेपाल यूके २०१७ विजेताहरुले आइतबार सांझ लन्डनमा एक च्यारिटी डिनर आयोजना गरे । भक्तपुरस्थित दिवा कक्षा केन्द्रमा आश्रित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ आयोजित उक्त कार्यक्रम मिसेस नेपाल यूके २०१७ का विजेताहरु आस्था जोशी, अमृता गिरी गजुरेल, गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, मन्जु शाह, शर्मिला पछाइ थापा र अन्जु श्रेष्ठले गरेका हुन् ।

बेलायतका मिसेस सुन्दरीहरुले बालबालिकालाई १० लाख दिने

कार्यक्रमबाट करिब दश लाख रुपैयाँ संकलन भएको मिसेस नेपाल यूके सल्लाहकार तथा च्यारिटीकापरिकल्पनाकार शिवजी श्रेष्ठले जानकारी दिए । संकलित रकम छिट्टै नेपाल गएर प्रदान गर्ने योजना छ ।


कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले दिदी बहिनीले पवित्र र परोपकारी भावनाले च्यारिटी गरेको भन्दै प्रशंसा गरे । ‘तपाईंहरुले प्रस्तुत गर्नुभएको फरक फरक खालका नृत्य र नाटकले एकताको सन्देश दिएको छ’, राजदूत सुवेदीले जोड दिए, ‘हामीहरु जहाँ भएपनि मनभित्र नेपाल हुनुपर्छ ।’


सुन्दरीहरुले गरेको स्वागत नृत्यमा प्रस्तुत शब्द जस्तै सय थरि गोडा भएपनि एउटै चाल र बाजा सयथरि भएपनि ताल एउटै हुनुपर्ने उनले बताए ।


ब्रेन्ट काउन्सिल मेयर भगवानजी चौहानले आफू विगत ११ वर्षदेखि नेपाली समुदायसंग निकट रहेको उल्लेख गर्दै कार्यक्रममा पाएको न्यानो आतिथ्यप्रति आभार व्यक्त गरे ।


कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, मिसेस नेपाल यूके संस्थापक मनिषा डंगोल श्रेष्ठले पनि च्यारिटीको प्रशंसा गरेका थिए ।


दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा मिसेस नेपाल यूके टिमले प्रस्तुत गरेको करिब आधा घण्टाको अपांग र नारी सम्बन्धि सन्देशमुलक नाटकले सहभागी सबैको मन जित्यो ।


आस्था जोशी र अमृता गिरी गजुरेलले स्वागत मन्तव्य दिए भने गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले मस्तिष्क पक्षघात रोग र सहयोग प्रदान गर्न लागिएको संस्था अनि त्यहां आश्रित बालबालिकाको स्थितिबारे पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए ।


अन्जु श्रेष्ठ, शर्मिला पछाइ थापा र शंकर गजुरेलले गायन प्रस्तुत गरे । गिता बस्नेत पाण्डे र अमृता गिरी गजुरेलको रुपै मोहनी नारान... बोलको गीतमा प्रस्तुत नाचले धेरैको ध्यान आकृष्ट गरयो ।


उक्त अवसरमा आस्था जोशी, मन्जु शाह, प्रिमा भट्टराई, पुनम गुरुङ, दीपक थापा मैथाने लगायतले पनि नृत्य गरे ।


प्रकाशित : फाल्गुन २९, २०७४ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?