कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सगरमाथा चढ्न पाएर दंग

लन्डन — बेलायतको केन्टस्थित क्यान्टबरी निवासी पूर्व गोर्खा हरि बुढा मगर सगरमाथा चढ्ने आफ्नो धोको पुरा हुन लागेकामा दंग छन् । अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका बुढामगरको सगरमाथा चढ्ने सपना नेपाल सरकारको नियमका कारण पुरा हुन पाएको थिएन । तर, सर्वोच्च अदालतले हालै त्यो रोक फुकुवा गरिदिएपछि बडो उत्साहित छन् बुढामगर ।

दुवै खुट्टा गुमाएका पूर्व गोर्खा सगरमाथा चढ्न पाएर दंग

‘वास्तवमा यो सारहै खुशीको कुरा हो,' तीन सन्तानका बाबु बुढामगरले कान्तिपुरसँग भने, ‘सरकारले रोक लगाउंदा विश्वमा नेपालको प्रतिष्ठा धुमिल भएको थियो । म अदालतको सम्मान गर्छु ।’


यही महिना मार्च अन्तिममा सर्वोच्च शिखर चढ्ने उनको योजना डिसेम्बर अन्तिममा सरकारको भेदभावपूर्ण नियमले रद्द गर्नुपरेको थियो ।


सर्वोच्चले सगरमाथासहित ६ हजार ५ सय मिटर माथि उचाई भएका हिमाल आरोहणमा बाटो खुल्ला गरिदिएको हो । सरकारले पर्वतारोहण नियमावलीमा शारिरीक रुपमा फरक क्षमता भएका (अपांग, दृष्टिविहीन) लाई आरोहणबाट वञ्चित गरेको थियो ।


अब अर्को वर्ष आरोहणको योजना बनाएका छन् उनले । प्रायोजित सामाग्रीबाहेक करिब तीन लाख ५० हजार अमेरिकी डलर कुल बजेट भएकाले त्यो जुटाउन र अन्य तयारीका लागि अब खटिने छन् उनी । यूएस मरिन कप्र्स अफिसर र मिङमा शेर्पाले उनलाई गाइड गर्नेछन् ।


‘म बच्चा देखि नै सगरमाथा चढ्न चाहन्थें । किनभने मेरो घर (रोल्पा) बाट सिस्ने, धौलागिरी हिमाल देखिन्थ्यो र यसका रोचक कथा मैले धेरै सुन्थें,’ उनले सुनाए, ‘मेरो सर्वोच्च शिखर आरोहण योजना विश्वका १५ प्रतिशत अपांग (झण्डै एक अर्ब) को प्रेरणाका लागि पनि हो । मलाई विश्वास छ यसले नेपालको पर्यटन प्रवर्धनमा पनि सघाउनेछ ।’


कुनै समय बेलायती राजकुमार हयारीसँगै अफगानिस्तान युद्धमा लडेका ३८ वर्षीय बुढामगर फस्ट गोर्खा राइफल्समा थिए । तर, दुर्भाग्यवश सन् २०१० अप्रिलमा अफगानिस्तान लडाईंका क्रममा विद्युतीय धरापमा उनको घुँडामाथि दुवै खुट्टा गुमे । ‘शुरुमा त म मरें भन्ने लागेको थियो’, उनले त्यो कहालीलाग्दो घट्ना स्मरण गरे, ‘धन्न मेरा सहयोद्धा सैनिक र हेलिकप्टर क्रुले मेरो जीवन बचाए ।’


करिब तीन साता अस्पतालमा उपचार गरेर फर्किएका उनी अहिले कृत्रिम खुट्टाले हिंडडुल गर्छन् । तर, अपांग भएपनि उनी निरास कहिल्यै भएनन् ।


स्कटल्याण्डको बेन नेभिस र फ्रान्सको मोन्ट ब्लंक शिखर चढिसकेका उनी नेपालको मेरा पिक नामक ६ हजार ४७६ मिटर अग्लो हिमाल चढ्ने विश्वकै पहिलो अपांग हुन् । स्की, कायाकिङ, रक क्लाइम्बिङ उनका अरु सोख हुन् । अष्ट्रिया जर्मनी, फ्रान्स क्यानाडा, नेपाल आदि देशमा स्की गरिसकेका छन् उनले ।


खेलले आफूमा झन् आत्माविश्वास बढाएको उनी बताउँछन् ।

प्रकाशित : चैत्र ५, २०७४ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?