कतारमा अनेसासको ८० औं डबली 

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदान गर्दै अनेसास नवोदितको ८० औं डबली सम्पन्न भएको छ । डवलीमा तीन दर्जन साहित्यकारहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।

प्रवासमा नेपाली भाषाको उत्थानमा योगदान दिँदै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नवोदित साहित्य समाजले संयुक्त रुपमा हरेक महिनाको दोस्रो शुक्रबार डबली गर्दै आएको छ।

डवलीमा चन्द्र धड्कन, निश्चल आँशु, मदन चौहान, सुमन सहयात्री, निलम निश्चल, ओम दाहाल, नारायण निर्जल भण्डारी, चक्र कार्की, लिलानाथ घिमिरे, बिन्दा लामा, दीप प्रदीप, बुद्धराज, सन्तोष अधिकारी, ईश्वर राई, विजय फेम्बो, स्वतन्त्र नेपाल, दीप मिलन, विनोद खड्का, अनिल परिवर्तन, मणि पौडेल, दिलीप पराजुली, तीर्थ संगम राई, प्रेमप्रसाद भट्टराई र लेख कार्कीले गजल, कविता र गीत सुनाएका थिए।

डवलीका विशिष्ट श्रोता म्याग्दी प्रवासी सेवा समाजका अध्यक्ष रमेश पौडेलले प्रवासको साहित्यमा देश प्रेम, प्रदेशको पीडा र मुग्लानको आत्मियता झल्किएको बताए।

प्रकाशित : वैशाख २, २०७५ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्

समुदायको व्यवस्थापनमा नमुना पदमार्ग 

शब्द/तस्बिर : घनश्याम खड्का

म्याग्दी — जिल्लाको मुख्य लगानीका क्षेत्र निर्धारण गरिएको पर्यटनको विकास गर्न यहाँका समुदाय आफैँ सकृय हुन थालेका छन् । पर्यटन विकास सरकार र व्यवसायीले मात्र होईन, समुदाय आफैँले पनि गर्न सकिन्छ भन्ने देशको एक्लो उदाहरण हो, अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग ।

परम्परागत पर्यटनबाट निश्चित व्यक्तिबाहेक समुदायले कुनै लाभ लिन नसकेपछि ‘पर्यावरणीय गाउँ र सामुदायिक पदमार्ग’ नारा सहित गाउँलेहरुले पर्यटकका लागि घरबास (होमस्टे), सामुदायिक होटल/लज सहितको पदमार्ग सञ्चालन गरेका हुन् ।

१४ दिने, ६ दिने र ८ दिने छुट्टाछुट्टै प्याकेजमा पर्यटकले यात्रा गर्न सक्ने सामुदायिक पदमार्ग प्रविधिमैत्री छ । बेनीबाट सुरु हुने पदमार्ग नागी, महरे, फुलबारी, हिस्तान, स्वाँता, खोप्रा र खयरवराह तालसम्म पुग्न सकिन्छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गमा अन्नपूर्ण सर्किटका प्रख्याद पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट समेत जोडिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ्ग, ५ शिख/पाउद्धार, ६ खिवाङ्ग, ७ हिस्तान, ८ राम्चे/नागी र पर्वत जिल्लाको जलजला गाउँपालिका, १ बाँसखर्कका समुदाय मिलेर ७ वर्ष देखि अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग सञ्चालनमा ल्याएका हुन् ।

‘सूचना प्रविधियुक्त तर सस्तो, सजिलो र छोटो पदयात्राका लागि यो गन्तव्य उपयुक्त छ । ’ सामुदायिक पदमार्गका कार्यक्रम संयोजक चित्रबहादुर तिलिजाले भने,‘बेनी–नागी–महरे पदमार्ग टि हाउस र क्याप्प ट्रेकको मिश्रण हो । ’

पदमार्गका वस्ती विहीन क्षेत्रहरुमा सामुदायिक गेष्ट हाउस छन । पदमार्ग क्षेत्रमा ६ वटा सामुदायिक लज, ४ वटा सामुदायिक डाइनिङ हल छन् । बाँकी व्यक्तिगत होटल तथा टि हाउस हुन् ।

सामुदायिक लजमा १८ जना नियमित, थप ४ जना सिजनेवल, डाईनिङ्ग हलमा ८ जनाले रोजगारी पाएका छन् । पदमार्ग क्षेत्रका वस्तीमा कम्तीमा १८ घरमा होमस्टे सञ्चालन गरिएको छ । पदमार्ग क्षेत्रमा आउने पर्यटकलाई डुलाउन पर्यटन कार्यालयबाट लाईसेन्स प्राप्त स्थानिय ४ जना गाईड, ५ जना सहायक गाईड र ३५ जना भरियाले नियमित रोजगारी पाएका छन् ।

सामुदायिक पर्यटनबाट अप्रत्यक्ष रुपमा दर्जनबढी व्यवसायले राम्रो लाभ लिएका छन् । गाउँमा पर्यटक आउन थालेपछि महिलाले जंगलमा खेर गैरहेको अर्घेलीबाट नेपाली कागज उत्पादन गरी कागजको गहना, डायरी, नोटबुक समेतका सामाग्री बनाई बेच्न थालेका छन् । त्यसैगरी महिलाहरुले हात बुना नोटप्याड, मोवाईल ब्याग, पर्स, झोला, टोपी लगायतका सामाग्री बनाई बिक्री गर्ने गरेका छन् । पर्यटक आउने थालेपछि तरकारी खेती, स्थानीय फलफुलको जाम, च्याउ खेतीको व्यवसायीक उत्पादन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाका राम्चे, घार र पाउँद्धारमा गरी ३ वटा चीज उद्योग खुलेका छन् ।

‘गाउँमा पर्यटक आउन थालेपछि बारीमा खेर जाने आरुवखडाको जाम बनाएर बेच्न सकेका छौँ । स्थानीय रैथाने गाईको दुधबाट चीज बनाएका छौँ । धेरै दिदीबहिनीले च्याउ खेती र ऊनीधागोबाट हातबुना हस्तकलाका सामाग्री बनाई बेच्ने गरेका छौँ । ’ हिमाञ्चल आमा समूह नागीकी अध्यक्ष समेत रहेकी राममायाँ पुनले भनिन् , ‘स्थानीय जंगलमा पाईने अर्घेली, लोकता र अल्लोबाट नेपाली हाते कागज उत्पादन गरी हाते सामाग्री पर्यटकलाई बेच्न सकेका छौँ ।’

पर्यटकको सेवा सुविधा र आम्दानी व्यवस्थापन गर्न सामुदायिक पदमार्ग व्यवस्थापन समिति र वस्ती अनुसार उप समिति सकृय छन् । पदमार्गका सामुदायिक होटल, लज तथा डाईनिङ हलबाट हुने आम्दानी समुदायको निर्णयले स्थानीय विद्यालय, सडक तथा अन्य सामुदायिक क्षेत्रमा खर्च गर्ने गरिएको छ ।

अन्नपूर्ण र धौलागिरी हिमश्रृंखलामा देखिने सूर्योदय र सूर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल र हिमाली वन्यजन्तु एवं पंक्षीहरु हेर्न सकिन्छ । प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधता युक्त पदमार्गमा वर्षेनी पर्यटकको संख्या बढ्दै गएको छ ।

व्यवस्थापन समितिका अनुसार सन् २०१६ मा ८ सय जना पर्यटक भ्रमण गरेकामा सन् २०१७ मा बढेर एक हजार १७ जना आए । यस वर्षको मार्च महिनाका लागि अहिल्यै एक सय ७० जनाले बुकिङ गरेका छन् । सबै लजहरु २० बेड क्षमताका हुन् । पर्यटकको संख्या बढ्दै गएपछि सिजनमा बास बस्न समेत समस्या हुन थालेको छ ।

‘बेड क्षमता कम भएकोले सिजनमा ट्रे्किङ कम्पनी र गाईडहरुलाई पर्यटक राख्न प्रेसर हुन्छ । अग्रिम बुकिङ् नगर्ने कम्पनी र गाईडलाई तनाव हुन्छ ।’ खोप्रा सामुदायिक लजका मेनेजर नविन पुनले भने, ‘पाहुना बढी हुँदा २०–२५ जनालाई किचन र टेन्टमा राख्छौं । ’

सामुदायिक पर्यापदमार्गमा आउने पर्यटकको संख्या बढेपछि सञ्चालित लजको क्षमता दोब्बर पार्न काम सुरु भएको छ । खोप्रामा एक फ्रान्सेली संस्थाको सहयोगमा थप ३० बेड क्षमताको होटल बन्दै छ । नागीमा पनि अर्को २० बेड क्षमताको लज निर्माण चरणमा छ । महरे, ढाँडखर्क र बयलीमा पनि सर्वे भैरहेको छ । फुलवारीको सामुदायिक नजिकै अर्को ब्यक्तिगत होटल समेत भएकोले समस्या छैन ।

पर्यटन मन्त्रालयले स्वीकृतगरी गन्तव्य नेपाल कार्यक्रम भित्र समावेश अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्गको भौतिक पूर्वाधार तयार पार्न ट्रेकिङ्ग एशोसिएसन अफ नेपाल (टान), होटल एशोसियसन नेपाल (हान), संयुक्त राष्टसंघिय विकास कार्यक्रम/लघु उद्यम विकास कार्यक्रम (मेडेप)ले सहकार्य गरेका हुन् । पदयात्रा मार्गमा आवश्यक होटल, बाटो आदी पूर्वाधार बनेका छन् । पदयात्रा क्षेत्रमा पर्याप्त खाना तथा आवास एवं बाटो घाटो मर्मत सुधार गरिएपछि यो ट्रेकिङ रुट पर्यटकका लागि निकै आरामदायी बन्न थालेको हो । पदमार्गमा पर्ने असजिला बाटो फराकिलो बनाइएको छ । ठाउँ–ठाउँमा सफा पिउने पानीको प्रबन्ध पनि गरिएको छ ।

प्रकाशित : वैशाख २, २०७५ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT