चिनियाँमा नेपाली मन

चेतनाथ आचार्य

बेइजिङ — बेइजिङस्थित नेपाली दूतावासको प्राङ्गणमा शनिबार अपरान्ह चिम्सा आँखा र डल्लो अनुहार भएका ६ युवायुवती रेसम फिरिरी गीतमा नाच्दै थिए । तीनजना युवतीले चौबन्दी चोलो र सारी लगाएका थिए भने तीनजा युवाले दौरासुरुवाल र टोपी लगाएका थिए ।

उनीहरु नेपालकै राई लिम्बू जस्ता देखिन्थे। रेसम फिरिरी गीतमा नृत्यसकिँदै लाग्दा अन्य १० जना उस्तै अनुहारका युवायुवती मञ्चमा उक्लिए। भेला भएका १६ जनाले एकै स्वरमा गाए,

'जसो गर जे भन जतासुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो।'

नेपाली नयाँ वर्ष २०७५ को स्वागत सांस्कृतिक कार्यक्रममा रेसम फिरिरी गीतमा नाच्ने र कुटुम्ब ब्याण्डको लोकप्रिय गीत, ‘यो मन त मेरो नेपाली हा’े गाउने ती १६ जना युवायुवती चिनियाँ विद्यार्थी थिए। उनीहरु सबै बेइजिङस्थित सञ्चार विश्वविद्यालयमा नेपाली भाषा अध्ययन गरिरहेका स्नातक तहका विद्यार्थीहरु हुन्।

नेपाली दूतावासले आयोजना गरेको सो सांस्कृतिक कार्यक्रममा चिनियाँहरुले प्रस्तुत गरेको नेपाली नृत्य र गाएको नेपाली गीतले उपस्थित ६ सय नेपालीमा तरङ्ग ल्यायो। उनीहरुको गीतमा सबैले ताली लगाउँदै साथ दिए।

नयाँ वर्ष २०७५ को अवसरमा बैशाख १ गते शनिबार दूतावासले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बेइजिङ र आसपासका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले विभिन्न लोकनृत्य प्रस्तुत गरेर चिनियाँ र नेपालीलाई मनोरञ्जन दिलाए। कार्यक्रममा ६ सयभन्दा बढी नेपाली र एक सय चिनियाँहरुको उपस्थिति थियो।

नेपालका आदिवासी तामाङ, मैथिली, भोजपुरी, घाटु, मारुनी, नेवारी जातिका गीतमा नेपाली विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने कुमारी र भरत नाट्यम जस्ता शास्त्रीय नृत्यले चिनियाँको मन तानेको थियो।

चीनमा बसोबास गर्ने समस्त नेपालीलाई नयाँ वर्षको शुभकामना दिँदै नेपाली राजदूत लीलामणि पौडेलले नेपालका ३४ वटा दूतावासमध्ये बेइजिङको नेपाली दूतावासले मात्र नेपाली नयाँ वर्षका अवसरमा स्वागत कार्यक्रमको आयोजना गरेको बताए।

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नेपालीहरुमा शुभकामना आदानप्रदान गर्नु र चिनियाँसम्म नेपाली संस्कृतिको प्रचार गर्नु रहेको उनले औँल्याए। नेपाली दूतावासले गत वर्षदेखि नयाँ वर्षका अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न सुरु गरेको हो।

प्रकाशित : वैशाख २, २०७५ १८:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भूकम्पपीडितलाई बल्ल पहिलो किस्ता

– सरकारले भूकम्पपीडितका लागि ६३ करोड १४ लाख निकासा पठायो
– जिल्लाका १० वटै स्थानीय तहमा सवइन्जिनियर खटाइए
कान्तिपुर संवाददाता

दमौली — भूकम्पको करिब तीन वर्षपछि तनहुँका भूकम्पपीडितले घर निर्माणका लागि अनुदानको पहिलो किस्ताको रकम पाएका छन् । १४ हजार २ सय ८७ भूकम्पपीडितमध्ये ९० प्रतिशतका लागि सरकारले पहिलो किस्ताको रकम सम्बन्धित गाउँ र नगरपालिकामा पठाएको हो । 

६३ करोड १४ लाख रुपैयाँ निकासा पठाइएको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ तनहुँले जनाएको छ । भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम पठाइसकिएको जिल्ला समन्वय अधिकारी अन्जनराज न्यौपानेले बताए । ‘नाम र लाभग्राही नम्बर मिलेका सबैलाई पहिलो किस्ता निकासा गरियो,’ उनले भने, ‘नमिलेकाको रकम रोकिएको छ । तर, उनीहरुले नाम तथा नम्बर सच्याउने काम भइरहेको छ ।’

पहिलो किस्ता रकम निकासासँगै जिल्लाका १० वटै स्थानीय तहमा सवइन्जिनियर खटाइएको छ । उनीहरुले घर पुनर्निर्माण गर्दा मापदण्डअनुसार डीपीसी गरे/नगरेको अवलोकन गर्नेछन् । अध्ययनका आधारमा फोटोसहित आवश्यक कागजात संकलन गरी सहरी विकास मन्त्रालयमा पठाउने छन् । ती दस्तावेज मूल्यांकन गरी दोस्रो किस्ताको रकमका लागि प्रक्रिया अगाडि बढ्ने अधिकारी न्यौपानेले बताए ।

घर निर्माण थालेर पहिलो किस्ता पाएका ऋषिङ गाउँपालिकाका आठ, बन्दिपुरका ९१, आँबुखैरेनीका १८ र व्यास नगरका ८३ घर लाभग्राहीका लागि दोस्रो किस्ताको रकम निकासा गर्न माग गरिएको जिससले जनाएको छ । ‘बैंकबाट तीन लाख ऋण लिएर घर बनाउन थालेको हो, ५० हजार त डीपीसीमै सकिने रैछ,’ बन्दिपुरकी आइतमाया नेपालीले भनिन्, ‘बैंकलाई महिनाको ७ हजार किस्ता तिर्नु परेको छ । अनुदानको पैसा छिटो पाए राहत हुन्थ्यो ।’ ज्यालामजदुरी गर्ने परिवारका लागि घर बनाउनु ठूलो ऋणको भारी भएको उनले बताइन् । उनीजस्तै धेरै जनाले अनुदानको रकम प्राप्त हुने आसमा घर निर्माण थालिसकेका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार तनहुँमा सबैभन्दा बढी भानु नगरपालिकामा ४ हजार २ सय १९ र कम भएकोमा २ सय ५४ जना घिरिङ गाउँपालिकामा भूकम्पपीडित छन् ।

प्रकाशित : वैशाख २, २०७५ १८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT