२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘ब्लेण्डेड फाइनान्स’ सम्मलेनमा नेपाल

न्युयोर्क, अमेरिका — अल्पविकसित राष्ट्रहरुमा ‘ब्लेण्डेड फाइनान्सको सम्भाव्यता सम्मलेन’ यहाँ बुधबार सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघ फाउण्डेशन र संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषले आयोजना गरेको तीनदिने सम्मेलनमा बहुपक्षीय र द्विपक्षीय दाताहरु, अन्तर्राष्ट्रिय थिङ्क ट्याङ्कका प्रतिनिधिहरु एवम् विकासविद्हरुको सहभागिता थियो ।

‘ब्लेण्डेड फाइनान्स’ सम्मलेनमा नेपाल

पाँचवटा अल्पविकसित मुलुकहरुका सो अध्ययनमा संलग्न विशेषज्ञ अर्थशास्त्रीहरुले आआफ्नो मुलुकमा ब्लेण्डेड फाइनान्सको सम्भाव्यताको र चुनौतीहरुबारे मुख्य प्रस्तुति दिएका थिए । पहिलो चरणमा बाङ्लादेश, नेपाल, सनेनेल, तान्जानिया र युगाण्डामा प्रारम्भिक अध्ययन भइरहेको छ ।


नेपालको अर्थशास्त्री एवम् विश्लेषक अच्युत वाग्लेले अध्ययन गरिरहेका छन् । गत अप्रिल २० मा काठमाडौंमा आयोजित ब्लेण्डेड फाइनान्स अन्तर्राष्ट्रिय सम्मेलनमा यो अवधारणालाई कार्यरुप दिन आवश्यक पर्ने नीतिगत र संरचनागत सुधार गर्नका लागि सरकारी र सरोकारवाला पक्षहरुसहितले सार्वजनिक गरेको घोषणापत्रबारे जानकारी गराएर वाग्लेले आफ्नो प्रस्तुती सुरु गरेका थिए ।


नेपालको यो अग्रतालाई अन्तर्राष्ट्रिय दाताहरुले निकै उत्साहकासाथ हेरेको पाइएको छ । तथापि, यो घोषणापत्रमा ब्लेण्डेड फाइनान्सका प्राविधिक पक्षहरुको समझदारी नेपालमा पनि परिपक्व हुन बाँकी नै रहेको देखिएको टिप्पणी पनि आएको छ ।


ब्लेण्डेड फाइनान्स विकास वित्तमा नयाँ विकसित हुँदै गरेको अवधारणा हो । संयुक्त राष्ट्रसंघले तय गरेका दिगो विकास लक्ष्यहरु (सस्टेनेबल ड्भलपमेण्ट गोल्स)हरु हासिल गर्न ठुलो लगानी आवशयक पर्ने देखिएको छ ।


यो स्रोत जुटाउनका लागि सीमित सार्वजनिक लगानीले असीमित निजी लगानी आकर्षित गर्नुपर्ने अवधारणामा यो ब्लेण्डेड फाइनान्स (मिश्रित वित्त) आधारित छ ।


कम नाफा आर्जन हुने सामाजिक प्रकृतिका लक्ष्यहरुमा समेत निजी लगानी आकर्षित गर्न र अहिलेसम्म विकासमा भएको लगानीले सम्बोधन गर्न नसकेको मध्यम आकारको पुँजीको आवश्यकतालाई सम्बोधन गर्न यो अवधारणा ल्याइएको हो ।


यसअघि आकर्षक नाफा हुने व्यवसायिक क्षेत्रमा निजी लगानी र सामाजिक प्रकृतिका र कम नाफा हुने गरिबी निवारणजस्ता लक्ष्य हासिल गर्न राज्यले लगानी गर्दै आएको छ । यी दुवैले नछोएको जनसंख्याको हिस्सा सबै मुलुकहरुमा सबैभन्दा अत्यधिक रहेको ठानिएको छ ।


विकासशील राष्ट्रहरुमा ब्लेण्डेड फाइनान्सको अवधारणा दिगो विकास लक्ष्यहरुमा लगानी जुटाउन सफल देखिएकाले यसलाई अल्पविकसित राष्ट्रहरुमा कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अध्ययन केन्द्रित रहेको छ ।


यो अध्ययनको समायोजन अल्पविकसित राष्ट्रका सामाजिक संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल ‘सर्दन भ्वाइस’ले गरिरहेको छ । नेपालमा दिगो विकासका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइसेट–नेपाल यो सञ्जालको सदस्य छ ।

प्रकाशित : वैशाख १२, २०७५ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?