लन्डनमा नेपालको सौन्दर्य चर्चा

लन्डन — ब्रिटिस ट्राभल एण्ड हस्पिटालिटी अवार्डस्‌मा नेपालको प्राकृतिक सौन्दर्य चर्चाले महत्व पाएको छ । 

लन्डनमा नेपालको सौन्दर्य चर्चा

सेन्ट्रल लन्डनको प्रसिद्ध डरचेस्टर होटलमा सोमबार साँझ ब्रिटिस ट्राभल ट्रेड व्यवसायी सहभागी अवार्डस् कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको सौन्दर्य वर्णन गर्दै भ्रमण गर्न अपिल गरे । उनले ब्रिटिस पर्यटकहरुलाई स्वागत गर्न नेपाल तत्पर रहेको सन्देश पनि दिए । जोशीले भूकम्प प्रभावबाट नेपाल पहिलेकै स्थितिमा फर्किएको र पर्यटकहरुका लागि सुरक्षित रहेको विश्वास दिलाए ।


जोशीले गतवर्ष नेपाल जाने पर्यटकहरुको संख्यामा २६ प्रतिशतले वृद्धि भएको जानकारी गराए । गोर्खा सैनिकहरुको मुलुक नेपाल यात्रा गर्न संसारमै सबैभन्दा सुरक्षित रहेको उनले बताए । नेपाल एक आनन्दित र आध्यात्मिक मुलुक भएको जोशीले उल्लेख गरे ।


उनले नेपालमा ८८४८ मिटर अग्लो सगरमाथादेखि समुद्र सतहबाट केवल ६० मिटर अग्लो भूभाग रहेको र विविधताका लागि संसारमै अद्वितीय रहेको बताए । संसारभरिकै मानिसले नेपाललाई मन पराउने भन्दै पर्वतारोहणदेखि साइक्लिङसम्म, पदयात्रादेखि चरा अवलोकनसम्म, साहसिक पर्यटनदेखि योग र ध्यानका लागि पनि नेपाल लोकप्रिय गन्तव्य भएको उनले बताए ।


नेपाल-बेलायत २०० वर्ष पुरानो सम्बन्ध आपसी मित्रता र सहयोगमा आधारित रहेको बताए । सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि बेलायती राजकुमार ह्यारी ११ दिनसम्म नेपालमा रमाएको उनले स्मरण गरे । सयौं सहभागी उक्त अवार्डस् कार्यक्रममा सस्टेनेवल विजनेश अवार्ड, विजनेश अचिभमेन्ट अवार्ड, योङ ट्राभल म्यानेजर अफ दि इयर, योङ ट्राभल इन्टरप्रिनर अफ दि इयर, योङ हस्पिटालिटी म्यानेजर अफ दि इयर, योङ हस्पिटालिटी इन्टरप्रिनर अफ दि इयरलगायत अवार्ड वितरण गरिएको थियो ।


कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, नेपाल पर्यटन बोर्डका युके प्रतिनिधि पशुपति भण्डारी, नेपाल पर्यटन बोर्ड डेनमार्कका मानार्थ प्रतिनिधि सोम सापकोटालगायतको सहभागिता थियो ।

प्रकाशित : वैशाख १८, २०७५ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?