१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेलायती नागरिकता माग्दै हङकङका नेपाली

किसन राई

हङकङ — हङकङमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरुले बेलायती नागरिकता र पासपोर्टको माग गर्दै स्थानीय बेलायती कन्सुलेट जनरलमा धर्ना दिएका छन् । 

बेलायती नागरिकता माग्दै हङकङका नेपाली

उनीहरु मध्ये अधिकांशले बेलायती नागरिकता लिइसके पनि पासपोर्ट पाउन सकेका छैनन् भने कतिपयका बाबुआमा बेलायती भएपनि छोराछोरीलाई नागरिकता दिइएको छैन । प्रदर्शनकारीले १५ दिने अल्टिमेटमसहित चार बुादे ज्ञापनपत्र पनि बुझाएका छन् ।


‘फाइट अगेन्स्ट ब्रिटिस गभर्मेन्ट्स डिस्क्रिमिनेसन एण्ड रेसिज्म अन सिटिजनसिप एण्ड पास्पोर्ट फर गोर्खाज फेमिलिज लिभिङ इन हङकङ’को आयोजनामा सम्पन्न कार्यक्रममा लगभग दुईसयजनाको सहभागिता रहेको थियो । प्लेकार्ड र व्यानरसहित उपस्थित उनीहरुले बेलायती सरकारको भेदभावपूर्ण व्यवहार र नीति विरुद्ध नाराबाजीसमेत गरेका थिए ।


संयोजक भूषण सुब्बाले बेलायती सरकारको अत्याचारले पराकाष्ठ नाघेको कारण विरोध कार्यक्रमको आयोजना गर्नु परेको बताएका थिए । उनका अनुसार नागरिकता र पासपोर्टमा भएको ढिलाइले गर्दा सयौं नेपाली मूलका बेलायतीहरु स्टेटलेस (राज्यविहीन) हुनुपरेको छ ।


उक्त अवसरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संयोजक सुब्बाले बेलायती नागरिकताको लागि नेपाली नागरिकता परित्याग गरिसकेकाहरु अहिले स्टेटलेसको अवस्थामा रहेका छन् । उनका अनुसार त्यस किसिमका नेपाली मूलका बेलायतीहरुले नागरिकताको लागि आवेदन गरेको वर्षौं भइसकेको छ ।


कार्यक्रममा उपस्थित नन्दमाया गुरुङले बेलायती नागरिकताका लागि दुई वर्षअघि नेपाली नागरिकता त्यागेको कारण आफू स्टेटलेस भएको बताएकी थिइन् ।


उनका अनुसार बेलायती नागरिकता आवेदनका लागि नेपाली नागरिकता त्याग्नै पर्ने प्रावधान रहेको छ । दुई वर्षमा पनि उनले बेलायती नागरिकता प्राप्त गर्न सकेकी छैनन् ।


आयोजक मध्येका डा. अनिल राईले बेलायती नागरिकता प्राप्त गरेर पासपोर्टको लागि आवेदन गरेको तीन वर्ष भन्दा बढी भइसकेको छ । हाल उनीसंग पासपोर्ट नभएको कारण हङकङ बाहिर जान सक्ने अवस्था रहेको छैन । सहभागी शिवकुमार क्षेत्रीले आफू बेलायती नागरिक भएको कारण दुई बच्चाले नागरिकता प्राप्त गरे पनि पासपोर्टको आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको दुखेसो पोखेका थिए ।


तीन महिना बेलायत बसेर फर्केका गोपालसिं थापाले पासपोर्ट नवीकरणको लागि आवेदन गरेको आठ महिना बितिसकेको बताएका थिए, सामान्यतय नवीकरणको लागि दुई महिना लाग्ने गरेको छ । उनका बच्चाहरुको बेलायती नागरिकताको लागि आवेदन गरेको दुई वर्षभन्दा बढी भइसकेको छ ।


यसभन्दा अघि नै हुलाक र इमेलमार्फत समेत ज्ञापनपत्र प्राप्त गरिसकेको बेलायती कन्सुलेट जनरलले प्रदर्शनको क्रममा एक पत्र संयोजक सुब्बालाई हस्तान्तरण गरेका थिए । उक्त पत्रमा पीडितहरुको गुनासो सम्बन्धित निकायमा पठाइसकिएको र पन्ध्र दिनभित्र समाधान गर्न अनुरोध गरिएको उल्लेख गरिएको छ ।


सोही पत्रसहित नत्थि गरिएको पासपोर्ट विभागका महानिर्देशक मार्क थम्सनद्वारा हस्ताक्षरित पत्रमा योग्यताको लागि सन्तुष्टि प्राप्त नभएसम्म पासपोर्ट जारी गर्न नसकिने र वैध आवेदनहरुमा ढिलाइ भएकोमा माफी मागिएको छ । सोही पत्रमा आवेदनहरुमा समीक्षा भइरहेको र १५ दिनभित्र जवाफ पठाइने उल्लेख गरिएको छ ।


विभागको पत्रमा दुई सय वर्षको गोर्खाको सेवाप्रति धन्यवाद ज्ञापन गर्दै केही आवेदकहरुले बेलायती नागरिकता र पासपोर्टको लागि झुठा विवरण पेश गरेको दाबी गरिएको छ । प्रक्रिया मिच्ने दुष्प्रयासको कारण भएको ढिलाईबाट पीडितहरु प्रति सहानुभूति प्रकट गरिएको छ ।


कार्यक्रमको समापन गर्दै संयोजक भूषण सुब्बाले तोकिएको समयभित्र माग पूरा नभए कडा कार्यक्रम तय गर्न बाध्य हुने बताएका थिए । उनका अनुसार उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्न र कानुनी प्रक्रिया अघि बढाउन तयारी शुरु गरिएको छ ।


यसै बीच गैरआवासीय नेपाली संघ हङकङले विज्ञप्तिमार्फत मागप्रति ऐक्यवद्धता जनाउादै बेलायत सरकारको भेदभावपूर्ण नीति र व्यवहार खारेज गर्न माग गरेको छ ।


प्रकाशित : वैशाख १९, २०७५ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?