१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेलायती सांसदहरुले नेपाल भ्रमण गर्दै

काठमाडौँ — लन्डन। बेलायती सांसदहरुले आगामी साता नेपाल भ्रमण गर्ने भएका छन् । 

बेलायती सांसदहरुले नेपाल भ्रमण गर्दै

ब्रिटिस संसद्‌का सांसदहरु तथा ब्रिटिस ग्रुप अन इन्टर पार्लियामेन्ट्री युनियनका सदस्य नाइजल इभान्सको नेतृत्वमा अन्य सांसद सदस्यहरु डेभिड मोरिस, केरी म्याकार्थी, वीरेन्द्र शर्मा, लर्ड बाल्फ डलिच, लर्ड ढोलाकिया र युनियनकी इन्टरनेशनल प्रोजेक्ट म्यानेजर इमिली डेभिज सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल जान लागेको हो । उनीहरुले ६ देखि १२ मे, २०१८ सम्म नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।


उक्त प्रतिनिधिमण्डलले नेपाल भ्रमणका सिलसिलामा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कामु प्रधानन्यायाधीश, परराष्ट्र, उर्जा, समाज कल्याणमन्त्रीलगायत विशिष्ट व्यक्तिसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।


संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बुधबार (मे २ का दिन) ब्रिटिस संसद् सदस्य नाइजल इभान्स तथा प्रतिनिधिमण्डलका सांसदहरु केरी म्याकार्थी, लर्ड ढोलाकिया र युनियनकी इमिली डेभिससँग उनको कार्यकक्षमा शिष्टाचार भेट गरी सांसदहरुको नेपाल भ्रमणको तयारीबारे जानकारी गराए । भेटमा राजदूत सुवेदीले ब्रिटिस सांसदहरुको नेपाल भ्रमणले द्विपक्षीय सहयोग र सम्बन्ध थप मजबुत बनाउन उल्लेखनीय भूमिका रहने धारणा व्यक्त गरे ।


नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भई संविधान कार्यान्वयन भएको र निर्वाचित सरकारले आर्थिक विकासलाई मूल लक्ष्य निर्धारण गरेको वर्तमान परिप्रेक्ष्यमा बेलायती सांसदहरुको आसन्न भ्रमण सार्थक र उत्प्रेरक हुने विश्वास व्यक्त गर्दै राजदूत सुवेदीले दुई मुलुकका सांसदहरुबीचको सम्बन्धले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिनिधिमण्डलका नेता इभान्सले तीन तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न भई नयाँ सरकार निर्माण भएका बेला नेपाल भ्रमण गर्न पाउनु सुखद् संयोग रहेको बताए । आफ्नो भ्रमणपश्चात् नेपालको आर्थिक र सामाजिक विकासमा थप सहयोगका निम्ति ब्रिटिस सरकारलाई सिफारिश गर्ने बताउँदै इभान्सले दुई सय वर्षभन्दा पुरानो घनिष्ट सम्बन्ध रहेको नेपालसँग ब्रिटिस सरकार र जनताको सधैं सद्भाव र सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित : वैशाख २०, २०७५ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?