अस्ट्रेलिया आउन नक्कली विवाह

 – अस्ट्रेलिया प्रवेशकै लागि दिदीले आफ्नी बहिनीसँग श्रीमान्लाई ‘डिपेन्डेन्ट’ भिसामा पठाउने
– अन्य आफन्तबीच पनि नक्कली विवाह गराएर पठाउनेलगायत घटना बढ्दो
नारायण खडका

अस्ट्रेलिया — झापाका रमेश (नाम परिवर्तन) ले सन् २०१४ मा काठमाडौंकी एक युवतीसँग नक्कली विवाह गरी सिड्नी आए । आएदेखि नै अलग बसेका उनीहरूबीच पैसाको लेनदेन विषयमा विवाद भएपछि युवतीले सम्बन्धविच्छेद (डिभोर्स) का लागि आवेदन दिइन् ।

युवतीले आफूलाई छाड्न लागेको थाहा पाएका उनले आफूले काम गर्ने स्थानमा अनुरोध गरी स्पोन्सरसिप लिए र नेपाल फर्किनबाट बचे।

Yamaha

वर्ष दिनअघि मात्र नक्कली विवाह गरी सिड्नीको एक युनिभर्सिटीमा अध्ययन गर्न आएका ललितपुर र चितवनका एक जोडीबीच पैसाकै मामिलामा खटपट पर्‍यो। पैसाको छलफलबाहेक अन्य कुनै पनि विषयमा कुराकानी नहुने उनीहरूबीच कुरा नमिलेपछि युवती डिभोर्सका लागि सहयोग खोज्दै वकिलकोमा पुगिन्। युवा भने विद्यार्थी भिसाको आवेदन दिने तयारी गरिरहेका छन्। माथि उल्लिखित दुई प्रतिनिधि घटना नक्कली विवाह गरी अस्ट्रेलिया आउने र यहाँ आएपछि समस्यामा पर्ने यी नेपाली जोडीहरूको हो। नेपालबाट विद्यार्थी भिसामा आउने मुख्य आवेदक (विद्यार्थी) लाई निश्चित रकम तिर्ने सर्तमा विवाह गरी आउने र सम्झौतामा समस्या आएपछि उपाय खोज्न माइग्रेसन एजेन्ट वा वकिलकोमा जाने चलन बढदै गएको छ। कागजी रूपमा विवाह सक्कली देखिए पनि उनीहरूले नक्कली नियतका साथ अस्ट्रेलिया भित्रिने गरेका हुन्। यहाँ आएर उनीहरू समस्यामा पर्ने गरेका छन्। अस्ट्रेलिया अध्यागमनलाई सक्कली कागजपत्र देखाएर आउने गरे पनि आपसी मनमुटावपछि उनीहरूको नक्कली सम्बन्ध डिभोर्समा पुगेर टुंगिने गरेको छ।

करिब ३ वर्षदेखि अस्ट्रेलियामा ‘फ्यामिली ल’ सम्बन्धी वकालत गर्दै आएका सुमन भेटवालले अहिलेसम्म १ सय ६ नेपाली जोडीको डिभोर्सको मुद्दा हेरेका छन्। जसमध्ये ७० प्रतिशत बढी यस्तै प्रकृतिका रहेको उनले सुनाए। ‘यो वास्तवमा समस्याका रूपमा बढिरहेको छ,’ उनले भने, ‘कानुनी रूपमा सक्कली विवाह भए पनि यी विवाहको नियत नक्कली हुने र यसैले समस्या सिर्जना गरिरहेको मेरो ठम्याइ छ।’

अस्ट्रेलियामा कानुन विषयमा विद्यावारिधि गरेका शमशेरसिंह थापा त नेपालको सरकारले नक्कली विवाह गराउने कन्सल्टेन्सीहरूको अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताउँछन्। अहिलेसम्म ४ सय बढी नेपाली जोडीको डिभोर्सको मुद्दा हेरिसकेका उनले भने, ‘७५ प्रतिशत बढी मुद्दा यस्तै प्रकृतिको हुने गरेका छन्।’ उनका अनुसार अस्ट्रेलिया आइपुगेपछि मुख्य आवेदकले पैसामा बार्गेनिङ गर्ने र अर्काेले आफ्नो सम्झौताबारे अध्यागमनमा उजुरी दिने भन्दै दोहोरो बार्गेनिङ हुने गरेको छ। अर्काेतिर स्थायी अनुमतिपत्र (पीआर) आवेदन दिने समयमा समेत आफूसँग ‘डिपेन्डेन्ट’ आएकालाई सामेल नगर्नेसमेत गरिएको छ। डिभोर्स गर्न आएका सक्कली जोडीमध्ये आधाभन्दा बढी सम्झाइबुझाई गर्दा पुन: सामान्य जीवनयापन बिताइरहेको तर नक्कली विवाह गरेकाहरूले भने वास्ता नगर्ने उनको अनुभव छ।

यस क्षेत्रमा काम गरिरहेकाहरू नेपालका केही नाम चलेका कन्सल्टेन्सीहरूबाट समेत नक्कली विवाह गरी आएका विद्यार्थीहरू आफूले पाएको बताउँछन्। कमिसनबापत ठूलो रकम लिएर विद्यार्थीको साथ लगाएर अस्ट्रेलिया पठाइने गरेको दाबी उनीहरूको छ। अस्ट्रेलिया छिर्नकै लागि दिदीले आफ्नी बहिनीसँग श्रीमान्लाई ‘डिपेन्डेन्ट’ भिसामा पठाउने, अन्य आफन्तबीचमै विवाह गराएर पठाउनेलगायत घटनाहरूसमेत देखिएको वकिलहरूको भनाइ छ।

अस्ट्रेलियामा रहेको विद्यार्थी परामर्शदाताहरूको संस्था एकाका पूर्वमहासचिव सञ्जीव पाण्डे अहिले नेपाल विद्यार्थी भिसा पाउनेमा कम जोखिमको राष्ट्रमा रहेको जानकारी दिँदै यस्ता कार्य नरोकिए अध्ययनकै लागि आउन चाहने सक्कली नेपाली विद्यार्थीलाई भविष्यमा समस्या आउन सक्ने बताउँछन्। उनी यो प्रवृत्ति देशको प्रतिष्ठासँग जोडिएकाले यसलाई रोक्न जरुरी भएको बताउँछन्।

क्यानबेरामा रहेको नेपाली दूतावासले समेत डिभोर्सका लागि आवश्यक अधिकृत वारेसनामा लिनेको संख्यामा तुलनात्मक वृद्धि भएको बताएको छ। थापाका अनुसार अस्ट्रेलियामा डिभोर्स गर्न पनि सहज भने छैन। विवाह गरेपछि एक वर्ष छुट्टै बसेको हुनुपर्छ भने २ वर्षभन्दा कम समयमा डिभोर्स गर्न चाहे काउन्सिलिङमा जान जरुरी हुन्छ। अर्कोतिर यदि सरकारले नक्कली विवाह गरेको थाहा पाए भिसा रद्द हुने, पीआर पाएको भए पनि रद्द हुने तथा ३ देखि १० वर्षसम्म अस्ट्रेलिया आउनबाट वञ्चित हुने प्रावधान छ।

प्रकाशित : वैशाख २१, २०७५ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

“संगीतमा व्यावसायिकताभन्दा फेसन हाबी”

‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले ब्यावसायिक रुपमा बाँच्ने सम्भावना छ । यसलाई के ब्यावसायिकता भन्ने ?’ 
नारायण खडका

अस्ट्रेलिया — उनले नौ वर्षसम्म संगीतको अध्ययन गरे, व्यावसायिक रूपमा सांगीतिक क्षेत्रमा आउने क्रममा । अहिले राम्रो गायकको परिचय बनाइसकेका छन् । तर उनलाई लाग्छ— पछिल्लो समय नेपाली संगीतमा फेसन बढ्दै गएको छ, व्यावसायिकता र स्तर भने दिनहुँ खस्किँदै छ ।


अहिलेसम्म चार सोलो एल्बम र तीन दर्जनभन्दा बढी सामूहिक एल्बम सार्वजनिक गरिसकेका राज सिग्देल आफू पूर्णत: व्यावसायिक गायक भएको गर्वका साथ सुनाउँछन् । हुन त ‘ऊ जितेर गई या हारेर गई...’ बोलको गजल नआएको भए उनको परिचय अहिले फरक पनि हुन सक्थ्यो । पाँच वर्षअघि जब यो गजल सार्वजनिक गरे, त्यसयता नेपाली सांगीतिक क्षेत्रबाट पछाडि फर्केेर
हेर्नुपरेको छैन । यसले उनलाई संगीतको क्षेत्रमा हिँड्नका लागि प्रेरणा मात्र दिएन, बाटोसमेत फराकिलो बनाइदियो ।
‘नेपाली संगीतको व्यावसायिकताको कुरा गर्दा, अहिले करिब २० जना गायकगायिका मात्र यसैबाट बाँचेका होलान्,’ कार्यक्रमको सिलसिलामा अस्ट्रेलिया आएका गायकले कान्तिपुरसँग भने । उनी त विदेशमा रहेका नेपालीहरूले नेपाली कलाकार र संगीतलाई प्राण भरिदिएको समेत खुसीसाथ सुनाए । ‘विदेशमा गरिएका कार्यक्रमहरूले नेपाली कलाकारहरूलाई जीवनयापन गर्न अत्यन्तै सहज बनाइदिएका छन्,’ उनले थपे, ‘यसले नेपाली संगीत बचाउनसमेत मद्दत पुर्‍याएको छ ।’
नेपालको सांगीतिक क्षेत्रको अवस्था हेरेर उनी साह्रै आशावादी छैनन् । उनी नेपालको संगीतमा लहड र फेसनका रूपमा आउने गायकगायिकाको बाहुल्य रहेको देख्छन् । संगीतमा हुनुपर्ने व्यावसायिकता, लगन र स्तर भने दैनिकजसो कम हुँदै गएको उनले बताए । ‘अहिले १ सय राम्रा गायकगायिका निस्किए भने जम्मा १० जना मुस्किलले व्यावसायिक रूपमा बाँच्ने सम्भावना छ । यसलाई के व्यावसायिकता भन्ने ?’ उनको प्रश्न छ ।
हङकङ र जापानमा कन्सर्ट गरिसकेका उनलाई विदेशमा काम गर्न मजा लाग्ने मुख्य कुरा नै नेपालीहरूको कलाकार र संगीतप्रतिको माया हो । ‘विदेशमा तपाईंले नसोचेको माया पाउनुहुन्छ,’ उनले भने । अर्काेतिर आफ्नै घरको सदस्यजस्तो दिइने मायाप्रेम र सत्कारसमेत अविस्मरणीय हुने गरेको उनको अनुभव छ । तर, विदेशमा अलि प्रोफेसनल कार्यक्रम गरिदिए हुन्थ्योजस्तो पनि लाग्छ उनलाई ।
उनी गायक मात्र नभएर पछिल्लो समयमा अभिनयमा समेत लागिपरेका छन् । ‘म गायनसँगै अभिनयमा समेत परिचय बनाउन चाहन्छु,’ उनले सुनाए ।
पहिलो पटक अस्ट्रेलिया आएका सिग्देल यसलगत्तै कोरिया जाने योजनामा छन् ।
केही महिनाभित्रै युरोपका आठ देश र यूके जाने तयारीमा छन् । त्यसैले पनि उनलाई लाग्छ, विदेशका नेपालीहरूले नेपाली गीतसंगीत र कलाकारहरूलाई जति माया गरेका छन्, त्यसले वास्तवमा नेपाली गीतसंगीत र कलाकारहरूलाई जीवन राम्ररी चलाउन सहयोगपुर्‍याएको छ । त्यसैले पनिनेपाली संगीतको क्षेत्रमा लागिपरेकाहरूले यसको स्तरलाई अझ माथि पुर्‍याउन लागिपर्नुपर्ने उनको सोच छ ।

प्रकाशित : पुस १४, २०७४ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT