दोहोरो नागरिकता प्रकरण : अस्ट्रेलियाका १५ सांसदको पद गुम्यो

नारायण खड्का

अस्ट्रेलिया — दोहोरो नागरिकता विषयमा अहिलेसम्म अस्ट्रेलियाका १५ सांसदले पद गुमाएका छन् । बुधबार यहाँको सर्वोच्च अदालतले सिनेटर केटी गालाघरलाई पदमा बस्न अयोग्य बताएसँगै थप चार सांसदले समेत पदबाट राजीनामा दिएका छन् ।

तस्बिर : द कन्भर्सेसन

पछिल्लो एक वर्षयता अस्ट्रेलियाली राजीनीतिमा दोहोरो नागरिकताको विषयले ठूलो हलचल ल्याइदिएको छ । अस्ट्रेलियाली राजनीतिमा पेचिलो बनिरहेको दोहोरो नागरिकता प्रकरणमा बुधबार मात्र सांसदहरु सुसन ल्याम्ब, रेबेका सार्कि, जोन विल्सन र जस्टिन कि ले राजीनामा दिएका हुन् । अस्ट्रेलियाको संविधानको धारा ४४ अनुसार दोहोरो नागरिकता भएको व्यक्तिले सांसद पदका लागि योग्य नहुने प्रावधान राखेको छ । पद गुमाएका सांसदहरुमध्ये अधिकांशले अर्को देशको नागरिकता त्याग गरेको बताए पनि सर्वोच्च अदालतले उनीहरुको योग्यताबारे निर्णय गर्दै आएको छ ।

यसपहिले पूर्वउपप्रधानमन्त्री बार्नबी जोयसले समेत यही विषयमा आफ्नो पद गुमाएका थिए । तर, उनले उक्त स्थानमा भएको पुन: निर्वाचनमार्फत फेरि पद सुरक्षित गरेका थिए ।

त्यसैगरी अर्का सांसद जोन अलेक्ज्याण्डरले समेत निर्वाचनबाटै आफ्नो पद सुरक्षित गरेका थिए । दोहोरो नागरिकता प्रकरणका कारण पद गुमाएकामध्ये सातजना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित छन् भने अन्य सबै सिनेटरहरु हुन् । अदालतले दुईजना सांसदलाई भने सफाई दिएको थियो ।
अहिलेको विपक्षी दल लेबरले यही विषयमा ५ सांसद गुमाएको छ भने सत्तारुढ दल लिबरल, निक जेनोफोन, नेशनल, ग्रिनलगायतका पार्टीका सांसदले समेत पद गुमाएका छन् । अस्ट्रेलियाको तल्लो सदनमा १ सय ५० प्रत्यक्ष निर्वाचित सांसदहरु रहने व्यवस्था छ भने माथिल्लो सदन सिनेटमा ७६ सिनेटरहरु छन् ।

प्रकाशित : वैशाख २७, २०७५ १६:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोदीको तीर्थाटनः 'आइतबारसम्मै मौसम गडबड हुनसक्ने'

अब्दुल्लाह मियाँ

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर बिहीबार विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ ।

महाशाखाका बरिष्ठ मौसमविद् बरुण पौडेलले परराष्ट्र मन्त्रालयको आग्रह अनुसार काठमाडौं, जनकपुर, पोखरा र मुस्ताङ (मुक्तिनाथ) को चार दिनको मौसमको भविष्यवाणी गरिएको हो।

पौडेलका अनुसार शुक्रबार चार वटै स्थानको मौसम बिहीबार भन्दा सफा रहने भए पनि शनिबारदेखि फेरबदल आउने पूर्वानुमान छ। मुक्तिनाथ क्षेत्रमा शुक्रबार र शनिवार मौसममा गडबडी हुनसक्ने महाशाखाको अनुमान छ। ‘बिहान सफाजस्तो देखिए पनि अपरान्हपछि मौसममा गडबडी हुने देखिन्छ,’ उनले भने, ‘हिमाली क्षेत्रमा हिमपात र मध्यपहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ।’ महाशाखाले विशेष बुलेटिनमा पनि शुक्रबार र शनिबार अपरान्हपछि हिमपात र वर्षा हुनसक्ने उल्लेख गरेको छ।

काठमाडौंमा पनि शनिबार अपरान्हपछि मौसममा गडबडी हुने पूर्वानुमान छ। शनिवार काठमाडौं, जनकपुर, पोखरा र मुक्तिनाथमा हावाहुरी, मेघगर्जनसहित वर्षा हुने महाशाखाले उल्लेख गरेको छ। आइतबार पनि मुलुकका धेरै जसो भागमा मौसमी गडबडी हुने पौडेलले बताए।

प्रकाशित : वैशाख २७, २०७५ १६:५०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्