कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा नेपाली व्यवसायी बढ्दै 

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीका केही नेपाली युवा मिलेर किङ्गस फोर्ड इन्टरनेसनल कलेज स्थापना गरे । शुक्रबार मात्र उद्घाटन गरिएको उक्त कलेजले डिप्लोमा तहका विभिन्न विषयहरुको अध्यापन गराउनेछ । 

अस्ट्रेलियामा नेपाली व्यवसायी बढ्दै 

नयाँ वर्षको अवसर पारेर दक्षिण अस्ट्रेलियाका नेपाली युवा गोकुल घिमिरेले केही विदेशीहरुसँग मिलेर स्कनिङ्ग होम्स नामको घर निर्माण कम्पनी स्थापना गरे ।


पछिल्लो समयमा अस्ट्रेलियामा रहेका नेपालीहरुले व्यवसाय स्थापना मात्र गरेका छैनन् कि विभिन्न तहका व्यवसायहरुमा समेत पहुँच बढाइरहेका छन् । अहिले नेपालीहरु घरजग्गा व्यवसायदेखि, क्याम्प्स, रेस्टुरेन्ट, ट्राभल टुरिजम, कृषि, एकाउन्टिङलगायत क्षेत्रमा सफल बनिसकेका छन् । विशेष गरेर नेपाली ग्राहकहरुलाई नै मध्यनजर गरेर व्यवसाय स्थापना गरिने भए पनि उनीहरुलाई विदेशी ग्राहकहरुलाई समेत उत्तिकै सेवा दिइरहेको बताउँछन् ।

नेपालीहरुले करिब दुई दशकअघि मात्र व्यावसायिक रुपमा आफ्नो कदम चाले पनि छोटो समयमा नै सफलता पाएका छन् । करिब एक दशकदेखि क्याप्कोन नामको व्यवसाय स्थापना गरेर सफल बनेका किरण थापा नेपालीहरु सफल हुनुमा उनीहरुको लगन र परिश्रम नै भएको बताउँछन् । एक विश्वविद्यालयमा अध्यापन समेत गराउने उनी अबको केही दशकमा नेपालीहरुले व्यावसायिक रुपमा ठूलो फड्को मार्ने दाबी गर्छन् ।


सिड्नीजस्ता ठूला सहरहरुमा मात्र नभएर नेपालीहरुले अन्य राज्यहरुमा समेत आफ्नो व्यवसाय फैलाइसकेका छन् भने उनीहरुले अहिलेसम्म सयौं नेपालीहरुलाई रोजगारी समेत दिएका छन् । दक्षिण अस्ट्रेलियामा लाखौं डलरको लगानीमा व्यवसाय स्थापना गरेका गोकुल घिमिरे पछिल्लो समयमा नेपालीहरु ठुला सहरहरुभन्दा पनि अन्य राज्यमा बसोबास गर्न थालेकाले नेपालीहरु व्यवसायमा आकर्षित भएको सुनाउँछन् । ‘कुनै पनि नेपाली व्यवसायमा भएपछि भाषा लगायतको सहजताले समेत नेपालीहरुलाई आकर्षित गर्न सकिन्छ’ उनले भने ।


नेपालीहरुले सांगीतिक क्षेत्रमा समेत उत्तिकै लगानी गरिरहेका छन् । अहिले करिब दर्जन ठूला र साना पर्दाका चलचित्रहरु अस्ट्रेलियामा निर्माण भइसकेका छन् भने केही चलचित्र निर्माणको चरणमा छ । त्यसबाहेक साताजसो नै यहाँ रहेका युवाहरुले म्युजिक भिडियो निकालेर नेपालमा रोजगारी पनि सिर्जना गरिरहेका छन् ।

अहिले नेपालीहरुले तास्मानियादेखि सिड्नीसम्म आधा दर्जन बढी आफ्नै कलेज स्थापना गरिसकेका छन् भने १ सय बढी त नेपालीहरुको आफ्नै रेस्टुरेन्ट व्यवसाय छ ।


नेपालीहरुले आफ्नो अध्यापन सकेपछि जागिर खानभन्दा पनि व्यवसाय स्थापना गर्न जागरुक हुने भएकाले पछिल्लो समयमा धेरै नेपालीहरुले यस क्षेत्रमा आएको उनीहरुको भनाइ छ ।


करिब ४ वर्षदेखि घरजग्गासम्बन्धी नै काम गर्दै आएका सुजित सिग्देल व्यवसाय स्थापना गर्न बैंकको सहज ऋण सुविधा र सरकारी नियम कानुनहरुले समेत धेरै प्रोत्साहित गरिरहेको दाबी गर्छन् ।


प्रकाशित : जेष्ठ ५, २०७५ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?