‘एभरेष्ट डे’ हाइकमा उल्लेख्य सहभागिता

किसन राई

हङकङ — एभरेष्ट हाइकको सफलताले उत्साहित हङकङका नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले ‘एभरेष्ट डे’लाई अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा विकसित गर्नुपर्ने बताएका छन् ।

‘एभरेष्ट डे’ हाइकमा उल्लेख्य सहभागिता

‘गैरनेपालीको सहभागिता उल्लेखनीय रुपमा रह्यो जसलाई कार्यक्रमको सफलताको रुपमा लिन सकिन्छ,' कन्सुल जनरल भट्टराईले भने, ‘हङकङबाट शुरु भएको यसलाई अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा विकसित गर्नुपर्ने सुझाव म सरकार समक्ष पेश गर्नेछु ।’


उनका अनुसार यस कार्यक्रमबाट पर्यटनलगायतको प्रचार गर्दा प्रभावकारी हुने देखिएको छ । गैरनेपाली सहभागीलाई नेपालको पर्यटनलगायत विविध जानकारीमूलक सामग्रीसहितको नेपाली झोला प्रदान गरिएको थियो ।


‘एभरेष्ट डे’को अवसरमा नेपाली कन्सुलेट जनरल र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजना रहेको ‘एभरेष्ट हाइक’मा विभिन्न देशका कुटनीतिक नियोगका प्रतिनिधि, स्थानीय सरकार र विभागका प्रतिनिधि, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिलगायत तीन सयको हाराहारीमा सहभागिता रहेको थियो । सहभागी मध्ये लगभग ४० प्रतिशत गैरनेपालीको रहेको देखिन्थ्यो ।


एनआरएनएका अध्यक्ष राधिका गुरुङ पनि आयोजनाबाट सन्तुष्ट देखिइन् । उनका अनुसार नेपाल र नेपालीका बारेमा गैरनेपालीलाई जानकारी दिन पाइने कार्यक्रमलाई वार्षिक क्यालेन्डरको रुप दिइने छ । समापनमा नेपाली परिकार खाजाको रुपमा प्रदान गरिएको थियो ।

कार्यक्रमबाट नेपाली एकता प्रदर्शन हुने उनको ठहर रहेको छ । नेपाल सरकारबाट मान्यता प्राप्त विश्वभर सञ्जाल रहेको एनआरएनए र सरकारी निकायबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिइन् ।


सेन्ट्रलस्थित अब्जरभेसन ह्वीलबाट द पिकसम्म ९.८ किलोमिटरको हाइक पूरा गर्नेलाई मेडल प्रदान गरिएको थियो । एकातिर एभरेष्ट हाइक र अर्कोतिर गैरआवासीय नेपाली संघको लोगो अंकित आकर्षक मेडल प्राप्त गर्दा सहभागीहरु रोमाञ्चित भएका थिए ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको मे २९ लाई ‘एभरेष्ट डे’ को रुपमा मनाइने गरिएको छ । उक्त अवसर पारेर हङकङमा गत वर्षदेखि हाइकको आयोजना गर्न शुरु गरिएको हो ।



प्रकाशित : जेष्ठ १६, २०७५ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?