चीनमा नेपालीको मृत्यु

चेतनाथ आचार्य

काठमाडौँ — चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ । 

प्रतिकात्मक तस्बिर

काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौँबाट चीन आएका थिए । चीनको शाङ्हाई र हपेइ प्रान्तको भ्रमण पूरा गरेर अन्तिममा नेपालीहरुको टोली बेइजिङ भ्रमणमा आएको थियो । बेइजिङ भ्रमणका क्रममा मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जान लाग्दा पराजुलीलाई हृदयघात भएको थियो । होटलबाट बस चढ्न जान लाग्दा उनी एकाएक ढलेका थिए । चिनियाँ प्रहरीले उनलाई नजिकैको अस्पतालमा लगेको थियो । अस्पतालमा चिकित्सकले बचाउनका लागि आधा घण्टाको प्रयास गरे पनि सफल नभएपछि उनलाई मृत घोषित गरेको टोलीमा सँगै आएका प्रेमचन्द्र राईले कान्तिपुरलाई बताए ।

Yamaha


पोखरा चापाकोटका ६६ वर्षीय लीलाधर पराजुली सरकारी स्कुलबाट रिटार्यड भएर सबलाइन बोर्डिङ स्कुल खोलेर त्यसको फाउण्डर डाइरेक्टर थिए । पराजुली पहिलेदेखि नै मुटुको समस्याबाट पीडित रहेको पारिवारिक स्रोतले कान्तिपुरलाई बतायो ।
भ्रमण टोलीमा २० जना नेपाली थिए भने काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटका चिनियाँ निर्देशक वाङ पनि साथमा थिए । नियमित कार्यतालिका अनुसार बुधबार नेपाली टोली नेपाल फर्कने योजना थियो । पराजुलीको मृत्युपछि १९ जना नेपाली बुधबार नेपाल फर्किएका छन् भने प्रेमचन्द्र राई बेइजिङमै रहेका छन् ।

पराजुलीको शव नेपाल पठाउने बारेमा कुरा भइरहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर हरिश्चन्द्र घिमिरेले बताए । चीनबाट नेपाल शव पठाउन अत्यधिक महँगो पर्ने गर्दछ । शव पठाउने कम्पनीले पराजुलीको शवलाई नेपाल पठाउन ७८ हजार चिनियाँ युआन अर्थात् १३ लाख रुपैयाँभन्दा बढी पर्ने बताएपछि शवलाई चीनमै जलाउने कि भन्ने बारेमा परिवारका सदस्यसँग कुरा हुँदा उनीहरुको इच्छा शवलाई नेपालमै लैजाने रहेकाले प्रक्रिया सुरु गरिएको घिमिरेले बताए ।
परिवारका सदस्यले नेपालबाट पैसा पठाएपछि शव नेपाल पठाउने बताउँदै घिमिरेले भने ‘परिवारका सदस्यले पैसा पठाइसक्दा कम्पनीले शव नेपाल पठाउनेछ ।’ अहिले शव अस्पतालमा राखिएको उनले बताए ।

प्रकाशित : जेष्ठ २३, २०७५ १७:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

देउवाले बनाए पाण्डेलाई राष्ट्रियसभा संसदीय दलको नेता

रासस

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा सांसद सुरेन्द्र पाण्डेलाई मनोनयन गरेका छन् । दलको विधानको धारा १२ को उपधारा १ अनुसार देउवाले बुधबार पाण्डेलाई नेतामा मनोनयन गरेका हुन् ।


पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डे पहिलोपटक राष्ट्रियसभा सदस्य भएका हुन्। राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन्। दलको नेतामा मनोनयन भएपछि उनले संसद्‍मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। ‘प्रतिपक्षको हैसियतले सरकारको कमीकमजोरीलाई केलाएर प्रतिपक्षको आवाज मुखरित गर्ने दिशामा म क्रियाशील हुनेछु’ कान्तिपुरसँग पाण्डेले भने,‘पहिलाजस्तो प्रतिपक्षले विरोध नै गर्नुपर्ने र त्यो पनि संसद्‍मा अराजक गतिविधि गरेपछि मात्रै सरकारले सुन्छ भन्ने मान्यतालाई तोडेर जिम्मेवार प्रतिपक्षको आवाज सरकारले सुन्ने वातवरण बनाउने काममा म लाग्नेछु।’

प्रकाशित : जेष्ठ २३, २०७५ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT