२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलियामा नेपाली विद्यार्थीमा मानसिक रोग बढ्दो

५ जना नेपाल फर्किए
नारायण खड्का

अस्ट्रेलिया — उच्च शिक्षाका लागि यहाँ आएका नेपाली विद्यार्थीमा देखिएको मानसिक र आर्थिक समस्या जटिल बन्दै गएको छ । सिड्नी र मेलबर्नमा उच्च शिक्षाका लागि आएका ५ विद्यार्थी मानसिक रोगकै कारण पछिल्लो समय नेपाल फर्किएका छन् ।

अस्ट्रेलियामा नेपाली विद्यार्थीमा मानसिक रोग बढ्दो

अहिले केही विद्यार्थी विभिन्न अस्पतालमा उपचाररत रहेको चिकित्सकहरुले जनाएका छन् ।


मेलबर्नमा रहेका मानसिक रोग विशेषज्ञ डा. अनुपम पोखरेलले ३० जना मानसिक रोगका विद्यार्थीहरु उपचाररत रहेको बताए । केही दिनअघि नेपाली दूतावासमा आयोजित वार्षिक पत्रकार अन्तर्क्रियामा समेत विद्यार्थीका समस्या जटिल बन्दै गएको निर्क्योल निकालिएको थियो । यहाँको वस्तुस्थिति नबुझी विद्यार्थीहरु नेपालबाट आउनाले समस्यामा पर्ने गरेका हुन् । राजदूत लक्की शेर्पाले विद्यार्थीहरुलाई कुनै कन्सल्टेन्सीहरुले गलत सल्लाह दिएको उजुरी आए सरोकारवालासँग सहकार्य गरी कारबाही गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनले नेपालको शिक्षा मन्त्रालयले ‘नो अब्जेक्सन लेटर’ दिनुअघि नै विद्यार्थीहरुले अस्ट्रेलियाबारे महत्वपूर्ण जानकारी लिएको हुनुपर्नेमा जोड दिइरहेको बताइन् ।


एनआरएनले सामाजिक कल्याणकारी कोषमार्फत पीडित विद्यार्थीहरुलाई नेपाल पठाउन र उपचारमा सहयोग पनि गर्दै आएको छ । विद्यार्थीमा मुख्य गरेर मानसिक रोग र घरेलु हिंसालगायतका समस्यामा देखिएको भन्दै एनआरएनए अस्ट्रेलियाले ‘इमरजेन्सी रेस्पोन्स टिम’ नै बनाएको छ । उक्त समितिमा विभिन्न विज्ञहरु छन् । टिमकी सचिव प्रतिज्ञा अधिकारी अस्ट्रेलियाको महँगो जीवनशैली, कलेजको महँगो शुल्क, कामको समस्या, गलत साथीहरु संगतलगायतले विद्यार्थी समस्या थप्दै गएको बताउँछिन् । अर्कोतिर कुलतका कारण यस्ता समस्या बढिरहेको सम्बन्धित क्षेत्रका व्यक्तिहरु दाबी गर्छन् ।


नारी निकुञ्ज अस्ट्रेलियाकी अध्यक्षसमेत रहेकी अधिकारीले नेपालबाट आउनुअघि नै अस्ट्रेलियामा भोग्नुपर्ने समस्या र अवसरहरुका बारेमा विद्यार्थी र अभिभावकहरुलाई चेतना दिन आवश्यक भएको सुनाउँछिन् ।


भिक्टोरियाका एनआरएन संयोजक केशव कँडेलका अनुसार मेलबर्नलगायतका क्षेत्रमा मानसिक रोगी विद्यार्थी बढिरहेका छन् । उपचार र नेपाल पठाउन सहयोग माग्दै विद्यार्थीहरु एनआरएनएको सम्पर्कमा आउने गरेका उनले सुनाए । उनी पनि विद्यार्थीहरु यहाँ आउनुअघि अध्ययन गर्न अत्यन्तै जरुरी भएको र यसका लागि सरकारले नै पहल गर्न आवश्यक भइसकेको बताउँछन् ।


अस्ट्रेलियामा मानसिक रोग पीडितहरुका लागि नि:शुल्क र गोप्य सेवाहरु सञ्चालित छन् । तर, यी सेवाहरुका बारेमा कम जानकारी र हिनताबोधका कारण सम्पर्कमा नजाने गरेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । उनीहरुले मानसिक रोगपीडित विद्यार्थीहरुलाई समयमै चिकित्सककहाँ जान समेत सुझाव दिएका छन् ।


अष्ट्रेलियाली सरकारको पछिल्लो तथ्यांक अनुसार करिब ३० हजार नेपाली विद्यार्थी यहाँ छन् ।

प्रकाशित : असार ५, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?