कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सिंगापुरकाे विकास नीति अवलम्बन गर्न दाहाललाई सुझाव

मलेसिया — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंगापुरमा रहेका नेपालीले मुलुकको विकासका लागि सिंगापुरको जस्तै विकास–नीति अवलम्बन गर्न सुझाव दिएका छन् । उनीहरुले नेपालको दीगो विकासका लागि सिंगापुरबाट सिक्नुपर्ने सुझावहरु दाहाललाई पेश गरेका हुन् ।

सिंगापुरकाे विकास नीति अवलम्बन गर्न दाहाललाई सुझाव

बुधबार आयोजित एक कार्यक्रमबीच नेपाली समुदायका अगुवा एवं गैरआवासीय नेपालीहरुले सिंगापुरले बिभिन्न क्षेत्रमा गरेको विकासको उदाहरण प्रस्तुत गर्दै उक्त विकासबाट नेपालले धेरै कुरा ग्रहण गर्नसक्ने सुझाए ।


‘सूचना एवं प्रविधि, आर्थिक एवं सामाजिक, लगानी एवं व्यापारिक साझेदारी, भौतिक एवं रोजगार नीति लगायत बिभिन्न क्षेत्रको विकासका लागि सिंगापुरले अपनाएको विकास–मोडल हाम्रो नेपालका समग्र विकासका लागि उपयोगी छ ।’ भेटमा सहभागी गैर आवासीय नेपाली संघका आइसीसी सदस्य राजु शर्माले कान्तिपुरसित भने, ‘हामीले यिनै कुरा उहाँलाई स्मरण गराएका हौं ।’


सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचाररत पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुरमा रहेका दाहालले उक्त सुझावलाई सकारात्मक रुपमा लिएर मुलुकको समृद्धिका लागि अग्रसर रहने प्रतिक्रिया दिएको शर्माले बताए ।


सिंगापुरले हालै सार्वजनिक गरेको आफ्नो भावी आर्थिक नीतिअनुसार अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउने, क्षमता बृद्धि गर्ने, उद्दमशीलता बढाउने, प्राविधिक क्षमतामा बृद्धि गर्ने एवं औद्योगिक परिवर्तन लगायतका कार्यक्रम तय गरेको छ ।


सहभागीहरुले नेपालले सिंगापुरसंगको सम्बन्धमा अझै सुधार गर्दै सिंगापुरको प्रविधि नेपाल भित्र्याउन सकिने र त्यसका लागि नेपालले सिंगापुरसित बिभिन्न क्षेत्रमा व्यवसायिक एवं लगानी सम्झौता गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।


उनीहरुले सिंगापुरबाट प्रविधिको विकास एवं प्रयोग, सार्वजनिक सेवा प्रवाह लगायतबाट सिकेर नेपालका गाउँ र सरकार नै स्मार्ट बनाउन सम्भव रहेको भन्दै यसमा ध्यान दिन दाहाल लगायत नेतृत्वलाई सुझाए । उनीहरुले पर्यटन, हस्पिटालिटी, यातायात, निर्माण, भौतिक पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, ई–कमर्श, बायोमेडिकल, शिक्षालगायत क्षेत्रमा सिंगापुरको लगानी भित्र्याउन सकिने बताए ।


नेपाली नेताहरुले आफ्ना भाषणमा प्राय: नेपाललाई सिंगापुर बनाउने आश्वासन बाँड्दै आएका छन् । ती नेता मध्येका एक दाहालले यी सुझावलाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको शर्माले बताए । समुदायका अगुवाहरुले एसियामा भएका सम्पूर्ण नियोगहरुको केन्द्र सिंगापुरमा स्थापना गर्ने र त्यहाँबाट व्यापार एवं लगानीलाई बढाउन पहल गर्न समेत दाहाललाई सुझाव दिएका छन् ।

प्रकाशित : असार ७, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?