कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मलेसियामा विदेशी कामदारसंग रकम असुल्ने कम्पनीमाथि अनुसन्धान सुरु 

काठमाडौँ — मलेसियाली सरकारले विदेशी कामदारसंग मोटो रकम असुली गरेको र मानव तस्करी गरेको हुनसक्ने आशंकामा विभिन्न कम्पनी र त्यससँग सम्बद्ध अनलाइन प्रणालीमाथि रोक लगाएको छ । 

मलेसियामा विदेशी कामदारसंग रकम असुल्ने कम्पनीमाथि अनुसन्धान सुरु 

सरकारले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङ लगायत विभिन्न कामको व्यवस्थापन गर्दै आएको अनलाइन प्रणाली ‘फरेन वर्करस सर्भिसेज सिस्टम (एसपीपीए)’ माथि रोक लगाइएको जनाएको छ ।

मलेसियाली सरकारले नेपाल, बंगलादेश लगायत विभिन्न श्रमिक स्रोत मुलुकमा बायोमेट्रिक प्रणाली, माइग्राम्स नामक विभिन्न कम्पनी खडा गरि कामदारसंग मोटो रकम असुली गर्दै आइरहेको ‘बेस्टिनेट एसडीएन बीएचडी’ नामक कम्पनी र यससँग सम्बद्ध कामदार आपूर्ति प्रक्रियामा सघाउने विभिन्न १० कम्पनीहरुमाथि समेत रोक लगाएको मलेसियाका संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मलेसिया, नेपाल, बंगलादेश लगायत श्रमिक स्रोत मुलुकका कतिपय राजनीतिक नेतृत्व र सरकारी अधिकारीसंगको मिलेमतोमा बेस्टिनेट र त्यससंग कामदार आपूर्तिमा सम्बद्ध विभिन्न १० कम्पनीहरुमाथि समेत रोक लगाइएको मानव संशासनमन्त्री एम. कुलासेगरनलाई उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक ‘द स्टार’ ले उल्लेख गरेको छ ।

विभिन्न स्रोत मुलुकहरुबाट कामदार लिन यसअघि सन् २०१६ देखि ती कम्पनीहरुको व्यवसायिक सिन्डिकेटले कामदारको मानव तस्करी भएको हुनसक्ने र केही व्यक्तिलाई आर्थिक फाइदा पुगेको आशंकामा निलम्बन गरि अनुसन्धान थालिएको मन्त्री कुलासेगरनको भनाइ उध्दृत गर्दै उक्त पत्रिकाले आफ्नो ‘एक्सक्लुसिभ रिपोर्ट’ मा उल्लेख गरेको छ ।

मन्त्री कुलासेगरनले ती कम्पनीमाथि अनुसन्धान भइरहेको र छिट्टै समस्या समाधान हुने बताएका छन् । साथै उनले कामदार आपुर्ति प्रक्रिया सहज बनाउन सरकार आफैंले अनलाइन प्रणालीको व्यवस्थापन एवं संचालन गर्ने पनि बताए ।

बेस्टिनेटले उक्त अनलाइन प्रणालीमार्फत ‘फरेन वर्करस सिस्टम’ समेत खडा गरेर प्रति बंगलादेशी कामदार ३ सय ५ रिंगिट मलेसयाली रोजगारदातासँग असुल्दै आएको थियो ।

मलेसियाली सरकारको पछिल्लो निर्णयपछि नेपालमा समेत विभिन्न कम्पनी खोलेर कामदारसंग अवैध रुपमा मोटो रकम असुल्ने कम्पनी स्वत: बन्द हुने रोजगार व्यवसायी तथा सरोकारवालाको विश्वास छ ।

मलेसियामा रहेको बेस्टिनेट नामक उक्त कम्पनीका प्रमुख व्यक्ति बंगलादेशी व्यवसायी रहेको र उनले मलेसियाली पूर्व सरकार र नेताहरुसंगको मिलेमतोमा २ वर्षयता १ लाख बंगलादेशी कामदारबाट २ बिलियन रिंगिट (करिब ५४ अर्ब रुपैया) असुल गरेकोसमेत ‘द स्टार’ ले आफ्नो अनलाइन रिपोर्टमा सार्वजनिक गरेको छ ।

मलेसिया आउने बंगलादेशी कामदारले जनही २० हजार रिंगिट स्थानीय एजेन्टलाई तिर्ने गरेको र त्यसमध्ये आधा रकम भिसा, हवाई टिकट लगायत प्रक्रियाका लागि ती व्यवसायीको कम्पनीले लिने गरेको तथ्य समेत उसले सार्वजनिक गरेको छ ।

मलेसियाली महिलासँग बिहे गरेर मलेसियामा व्यवसाय थालेका उनकै सक्रियतामा बेस्टिनेटले ‘फेरन वर्कर्स सेन्ट्रालाइज् म्यानेजमेन्ट सिस्टम’ भनिने विदेशी कामदार व्यवस्थापन प्रणाली (विदेशी कामदारको तथ्यांक राख्ने र व्यवस्थापन गर्ने अनलाइन प्रणाली) समेत स्थापना गरि कामदारहरुसँग विभिन्न शीर्षकमा रकम असुल्दै आएको थियो ।

प्रकाशित : असार ८, २०७५ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?