अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्वमा नेपाली

नारायण खड्का

सिड्नी — अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको साझा संगठन काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्स अस्ट्रेलिया (सिसा) को अध्यक्षमा पुन: नेपाली युवा चयन भएका छन् । क्युन्सल्यान्डको केन्समा सम्पन्न राष्ट्रिय अधिवेशनले विजय सापकोटालाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।

अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्वमा नेपाली

प्रत्येक एक वर्षमा नयाँ नेतृत्व चयन गर्ने संस्थाले विदेशबाट आएर अस्ट्रेलियामा अध्ययनरत ६ लाख बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रतिनिधित्व गर्ने दाबी छ । अध्यक्ष पदका लागि सापकोटा सर्वसम्मत बनेका थिए भने अन्य मुख्य पदहरुमा विभिन्न देशबाट पदाधिकारीहरु निर्वाचित बनेका थिए । संस्थाको उपाध्यक्षमा दुबई, सचिवमा कोलम्बिया, कोषाक्ष्यक्ष र पब्लिक रिलेसन अफिसरमा भारत तथा वेलफेयर अफिसरमा श्रीलंकाले नेतृत्व पाएका छन् ।


संस्थाले अस्ट्रेलियाका विभिन्न सरकारी निकायहरुसँगको समन्वयमा विद्यार्थीहरुको नेतृत्व विकास र हकहितका लागि काम गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । अस्ट्रेलियाका विभिन्न सरकारी निकायहरुले समेत सहभागिता जनाएको कार्यक्रममा ८० बढी देशका प्रतिनिधिहरु सहभागी थिए । २ सय ५० बढी प्रतिनिधिहरुले सहभागी भएको अधिवेशन ३ दिनसम्म चलेको थियो । ‘ओभर कमिङ ब्यारियर’ नारा दिएर सुरु भएको सम्मेलनले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या, अवरोध र तिनको समाधानका उपायबारे छलफल गरिएको थियो ।


सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङ विषय अध्ययन गरिरहेका सापकोटाले अस्ट्रेलियामा अध्ययनर सम्पूर्ण विदेशी विद्यार्थीहरुको नेतृत्व दोस्रो पटक पाउनु गर्वको विषय भएको सुनाए । यसले अस्ट्रेलियामा नेपाल र नेपालीलाई चिनाउन मद्दत पुर्‍याउने उनको दाबी थियो ।


अध्ययन सकेपछि नेपालमै गएर आफ्नो सीप र क्षमतालाई प्रयोग गर्ने बताउँदै सापकोटाले संस्थालाई बहुसांस्कृतिक र बहुआयामिक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित : असार १३, २०७५ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?