कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपालमा लगानी गर्ने वातावरण छ’

लगानी बोर्डका प्रमुखलगायतका अधिकारी अस्ट्रेलियामा
नारायण खड्का

अस्ट्रेलिया — नेपालको पछिल्लो अवस्थाबारे जानकारी दिने कार्यक्रम तय गरेर लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारी मेलवर्न आइपुगेका छन् । अस्ट्रेलियाका व्यवसायीहरुको लगानी नेपाल भित्र्याउने भन्दै उनी यहाँ आएका हुन् ।

‘नेपालमा लगानी गर्ने वातावरण छ’

आर्थिक लगानीबारे नेपालको परिवर्तित अवस्थाका बारेमा जानकारी दिन मेलबर्नमा नेपाल-अस्ट्रेलिया बिजनेस फोरम कार्यक्रम भएको हो । केही अस्ट्रेलियाली र नेपाली व्यवसायीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । मुलुकको परिवर्तित राजनीतिक अवस्था, लगानीको लागि कानुनी प्रक्रियाबारेमा कार्यक्रममा जानकारी दिइएको थियो ।


सरकारले निकै आवश्यक स्थानमात्र भ्रमण गराउने भनिए पनि लगानीको लागि नेपालको पछिल्लो अवस्था जानकारी दिन भन्दै अस्ट्रेलिया आएका हुन् । प्रमुखको साथमा अन्य अधिकारीहरु पनि अस्ट्रेलिया आएका थिए । कार्यक्रममा उपस्थित नेपाली तथा अस्ट्रेलियाली लगानीकर्ताहरुलाई उत्साहित गर्ने काम भएको दाबी आयोजकको छ । नेपालमा अहिले व्यावसायिक लगानीका सम्भावना र सरकारले गर्नसक्ने सहयोगका बारेमा जानकारी गराइएको थियो ।


लगानी बोर्डका अधिकारीहरुले वैदेशिक लगानीलाई नेपालमा प्रोत्साहित गर्न विभिन्न कानुन परिमार्जन गरिएको पनि बताए । भिक्टोरिया प्रदेशका अर्थ तथा बहुसांस्कृतिक मन्त्री रबिन स्कटले अस्ट्रेलिया नेपालसँगको व्यावसायिक साझेदारीलाई अझ अघि बढाउन तयार रहेको बताए । उनले नेपाली विद्यार्थीहरुको संख्या भिक्टोरियामा मात्र सतप्रतिशतले वृद्धि भएको जानकारी कार्यक्रममा दिँदै अहिले भइरहेको व्यावसायिक सम्बन्ध विस्तारका काम गर्नुपर्ने बताए ।


कार्यक्रममा अस्ट्रेलियाको विदेश विभागकी फियोना म्याकग्युले नेपाल र अस्ट्रेलियाबीचमा असल व्यावसायिक सम्बन्ध रहेको भए पनि नेपालले विश्वासिलो व्यावसायिक वातावरण तयार गर्नुपर्नेमा जोड दिइन् । अवैतनिक वाणिज्यदूत भिक्टोरिया र नेपाली दूतावास क्यानबेराले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यवसायीबाहेक राजदूत लक्की शेर्पा, भिक्टोरियाका अवैतनिक वाणिज्यदूत चन्द्र योञ्जन, एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष शेष घले, ओसिनिया संयोजक धर्म अधिकारीलगायतको सहभागिता थियो ।

प्रकाशित : असार १६, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?