कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाली अभिभावकलाई अष्ट्रेलियाली संसदको भ्रमण

नारायण खड्का

अष्ट्रेलिया — नेपालबाट आएका अभिभावकहरुले दक्षिण अष्ट्रेलियाको संसद भवन भ्रमण गर्ने अवसर पाएका छन् ।

नेपाली अभिभावकलाई अष्ट्रेलियाली संसदको भ्रमण

माथिल्लो सदनका सांसद रसेल वाट्लीले संसद भवनमा निमन्त्रणा गरेर नेपाली अभिभावकहरुलाई माथिल्लो र तल्लो संसदको भ्रमण गराएका हुन् ।


करिब ३ दर्जन अभिभावकहरुलाई निमन्त्रणा गरिएको संसद भवनमा सांसद वाट्लीका साथै संसदका अन्य कर्मचारीहरुले अष्ट्रेलियाली संसद, यसका प्रक्रियाहरुका साथै विभिन्न विषयहरुका बारेमा जानकारी गराएका थिए ।


भ्रमणका क्रममा सांसदले दुवै संसद भवनको भ्रमण गराएर संसदीय कार्यविधि, सदस्य संख्या सरकार संचालनको प्रक्रिया, सभामुख चयन, निर्वाचन प्रक्रिया लगायत विभिन्न विषयहरुको बारेमा जानकारी गराएका थिए । सांसद वाट्लीले दोभाषे मार्फत नेपाली अभिभावकहरुसँग विभिन्न विषयमा अन्तरक्रिया समेत गरेका थिए ।


भ्रमणमा सहभागी अभिभावकहरुले नेपालको संसद भवनको भ्रमण गर्न नपाएपनि अष्ट्रेलियामा आएर यहाँको प्रक्रियाका बारेमा बुझ्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । अभिभावकहरुले सांसदलाई तल्लो र माथिल्लो सदनमा हुने सांसद संख्या, सभामुख चयनको प्रक्रिया, विधेयक निर्माण र पारित हुने प्रक्रिया लगायतका बारेमा समेत प्रश्न गरेका थिए ।


उनीहरुले महिला सांसदहरुको संख्या, कोटा प्रणाली, नियम कानुन लगायतका विषयमा समेत सांसद तथा संसदका कर्मचारीहरुसँग अन्तरक्रिया गरेका थिए । वाट्लीले अष्ट्रेलिया बहुसांस्कृतिक देश भएका कारण समेत नेपाली अभिभावकहरुलाई संसद भवनको भ्रमण गराउनु र अन्तरक्रिया गर्न पाउनु आफुहरुको लागि खुशीको विषय भएको सुनाएका थिए ।


एनआरएन दक्षिण अष्ट्रेलियाले संयोजन गरेको उक्त भ्रमणमा सहभागी अभिभावक रविप्रसाद सापकोटाले संसद भवनमा निमन्त्रणा गरेर इज्जत दिइएको भन्दै अष्ट्रेलियाली सरकारको प्रशंसा गरे ।

‘हामीले नेपालको बारेमा टिभी र रेडियोमा मात्र सुन्न पाउँछौँ तर यहाँ आएर आफ्नै आँखाले प्रत्यक्ष देख्न र जान्न पाईयो ।’ उनले भने । यहाँका सांसदहरुले समय समयमा विभिन्न समुह तथा व्यक्तिहरुलाई संसद भवन भ्रमण गराउने गरेका छन् ।

प्रकाशित : असार २३, २०७५ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?