१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चिनियाँ र नेपाली कलाको समिश्रण

चेतनाथ आचार्य

बेइजिङ — चीनमा रेशमी कपडाबाट बनाइएका पङ्खामा परम्परागत चित्रहरु पेन्टिङ गरिन्छ । यस्ता रेशमी पङ्खामा ड्रागन तथा चिनियाँ सुन्दर युवतीको चित्र बनाउने प्रचलन निकै पुरानो हो । चीनको राजधानी बेइजिङको केन्द्रमा रहेको प्यालेस म्युजियम अर्थात् फोर्बिडन सिटी दरवारभित्र यस्ता परम्परागत चिनियाँ पङ्खा प्रदर्शनी गरेको देख्न पाइन्छ ।

चिनियाँ र नेपाली कलाको समिश्रण

चीनमा निकै महत्व दिइने रेशमी पङ्खामा नेपाली पौवा चित्र बनाएर नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ आयामबाट जोड्ने कलाको सिर्जना भएको छ । बेइजिङ्को विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट भखरै स्नातकोत्तर गरेका भक्तपुरका क्रान्ति कायस्थले चिनियाँ रेशमी पङ्खा किनेर नेपाल पुर्‍याए । उनले नेपालका प्रख्यात पौवा चित्रकार उदयचरण श्रेष्ठ र समुन्द्रमान सिंह श्रेष्ठलाई त्यसमा पौवा चित्र बनाउन अनुरोध गरे । श्रेष्ठद्वयले चिनियाँ रेशमी पङ्खामा हरिततारा अर्थात् भृकुटीको पौवाचित्र बनाए ।


‘बेइजिङको प्रशिद्ध राष्ट्रिय संग्रहालय र फर्बिडन सिटीमा राखिएको प्रदर्शनीमा चिनियाँ रेशमी पङ्खामा कोरिएका चित्र र चीनमा त्यसको महत्व निकै उच्च हुने भएकाले हामीले यसमा नेपाली पौवा चित्र बनाउने बिचार गर्‍यौँ’ क्रान्ति कायस्थले कान्तिपुरलाई भने, ‘यो नयाँ आविष्कार भएको छ र प्रदर्शनीमा राखिएको यो पङ्खालाई चिनियाँले खुब मन पराएका छन् ।’


चीनमा नेपाली थाङ्काको व्यापार हुन थालेको दुई दशक पनि भएको छैन । दुई दशक अगाडिसम्म युरोप र जापान मात्र पुग्ने नेपाली थाङ्काको बजार अहिले चीनमा केन्द्रित भएको छ । परम्परागत नेवारी शैलीबाट बनाइने चित्रलाई पौवा चित्र भनिन्छ । जसमा हिन्दू देवी देवताका चित्रहरु बनाइन्थे । हिजोआज हिन्दू देवताभन्दा पनि मन्जुश्री, भृकुटी र बुद्धका विभिन्न स्वरुपलाई पौवा चित्रमा उतार्ने गरिन्छ । नेवारी पौवाचित्रबाट तिब्बतमा प्रवेश गरेपछि थाङ्का शब्दमा रुपन्तरण भएको मानिन्छ । नेपाली पौवाचित्र र थाङ्कामा सूक्ष्म भेद रहेको क्रान्ति बताउँछन् । थाङ्कामा चिनियाँ तिब्बती आकृतिहरु कोरिन्छ भने नेवारी पौवा चित्रमा नेपाली परम्परागत देवताको चित्रहरु कोरिन्छ । सामान्यत थाङ्काभन्दा पौवाचित्र महङ्गो पर्ने उनी बताउँछन् ।


बेइजिङको मिनसङ आर्थिक क्षेत्रमा गत शनिबारबाट सुरु भएको नेपाली पौवा चित्र प्रदर्शनीमा चिनियाँ रेशमी पङ्खामा बनाइएको नेपाली कलाले सबैको ध्यान आकर्षित गरेको छ । प्रदर्शनीमा २६ वटा परम्परागत नेपाली पौवा चित्र र ६ वटा थाङ्का चित्रहरु राखिएका छन् । प्रदर्शनीमा श्रेष्ठद्वय बाहेक पूर्ण ह्योजू, दीपक जोशी, रत्नगोपाल सिङख्वाल, सजीव शाक्य, मिनु शाक्य र देवेन्द्र सिङख्वालका थाङ्का तथा पौवाचित्रहरु राखिएका छन् । ‘बेल्ट एण्ड रोड नेपाल थाङ्का प्रदर्शनी’ नाम दिइएको यो प्रदर्शनी आगामी श्रावण ५ गतेसम्म चल्नेछ ।


भक्तपुरमा रहेको आर्ट काठमाडौँ र बेइजिङको गोरिल्ला जिम एण्ड फिटनेसको सहकार्यमा भएको यो प्रदर्शनीको मुख्य उद्देश्य चीनमा नेपाली थाङ्काको प्रचारप्रसार गर्नु र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई जनस्तरमा फैलाउनु रहेको कायस्थले बताए ।


प्रकाशित : असार २६, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?