१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पुन: कार्यस्थलमा फर्कन दिनुपर्ने माग

काठमाडौँ — ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्कन दिनुपर्ने माग राखेका छन् ।

पुन: कार्यस्थलमा फर्कन दिनुपर्ने माग

राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेको सललाहमा राजदूत ढकाल, उपनियोग प्रमुख रोजिना ताम्राकार र श्रमसहचारी कृष्णकुमारी गौली कन्सुलर सेवा दिन पुगेका थिए । सललाहमा झन्डै ४ हजार हाउसमेड कार्यरत छन् । ‘बिदामा गएपछि पुन: ओमन आउन श्रमस्वीकृति नदिँदा हामी स्वदेश फर्कन पाएका छैनौं,’ सीता पौडेलले राजदूत ढकाललाई प्रश्न गरेकी थिइन्, ‘के अब हामी घर फर्कन नपाउने ?’

उनीहरूले कार्यरत स्पोन्सरकै घरमा काम गर्न आउन दिनुपर्नेमा जोड दिएका थिए । ‘हामी रहरले होइन, बाध्यताले आएका हांै । सबैमाथि घरमालिकले यातना, दु:ख र शोषण दिएका छैनन्,’ माया मगरले भनिन्, ‘जसलाई काम गर्न सहज छ, ऊ फेरि फर्केर त्यही ठाउँमा आउने हो । यति कुरा त तपाईंहरूले बुझिदिनुपर्ने हो ।’

डेढ वर्षअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई देशबीच घरेलु कामदारसम्बन्धी श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन र पुन: श्रमस्वीकृतिसमेत नदिन श्रम मन्त्रालयलाई आदेश दिएपछि बिदामा आएका हाउसमेड फर्कन पाएका छैनन् । राजदूत ढकालले सम्बन्धित मन्त्रालयमा यसबारे वस्तुगत प्रतिवेदन पठाइसकेको बताएकी थिइन् । ‘घरेलु कामदारको विषय निकै गम्भीर प्रकृतिको हो । नीतिगत रूपमा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भनिन्, ‘सरकारले आवश्यकताअनुसार यस विषयलाई सम्बोधन गर्नेछ भन्ने हामीले आशा राखेका छौं ।’ उनले ओमन र नेपालबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै गइरहेको अवस्थामा छिट्टै श्रमसम्झौता हुने दिशातर्फ उन्मुख भएको बताएकी थिइन् ।

श्रमसहचारी गौलीले ओमनमा कामदारको हितका पक्षमा चालिएका कदमबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समितिका टीका दाहालले रोयल दिवानमा कार्यरत कामदारहरू घरेलु कामदार नभएको भन्दै यसलाई दूतावासबाट सिफारिस लिन जरुरी नहुने बताए ।

यसैबीच राजदूत ढकालले सललाहका गभर्नर सायिद साउन हिलाल अल वुसाइदीसँग द्विपक्षीय भेट गरेकी थिइन् । सल्लाहमा कार्यरत नेपाली कामदारको सवाललाई यथाशक्य छिटो सम्बोधन गर्नेलगायत विषयमा वुसाइदीसँग छलफल भएको थियो । वुसाइदीले नेपाल र ओमनबीचको सम्बन्धलाई अझ प्रगाढ हँुदै जाने अपेक्षा गरेका थिए ।

प्रकाशित : असार ३०, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?