बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च

चेतनाथ आचार्य

बेइजिङ — रनमिन विश्वविद्यालयमा चीन–नेपाल साँस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च कार्यक्रमको आयोजना गरिएको छ । 

आइतबार सम्पन्न भएको सो कार्यक्रममा चीनका विभिन्न क्षेत्रका विद्वानहरुले चीन र नेपाललाई हिमालय संस्कृतिले अझ नजिक बनाएको भन्दै विश्व साँस्कृतिक आदानप्रदानमा हिमालय संस्कृति अद्वित्तीय र अतुलनीय रहेको बताए ।

Yamaha


प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अवधारणामा नेपाली दूताबासले शृङ्खलावद्ध कार्यक्रमको आयोजना गर्दै आएको छ । दुताबासले आयोजना गरेका विभिन्न कार्यक्रममा उपल्लो स्तरका चिनियाँ अधिकारीहरुले आफ्ना धारणा राख्दै यो विषयमा चिनियाँ चासो रहेको कुरालाई पुष्टि गर्दै आएका छन् ।

आइतबार आयोजित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपनिर्देशक वाङ लियोङले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अवधारणाबाट चीन र नेपालले हिमालय संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । चीन र नेपाललाई पवित्र हिमाल र नदीनालाले जोडेको उल्लेख गर्दै त्यसबाट समृद्धि सभ्यता र संस्कृति पनि आपसमा जोडिएको उनले औँल्याए । पवित्र हिमाल र स्वच्छ नदीले जोडेको चीन र नेपालबीचको साँस्कृतिक सम्बन्ध पनि उत्तिकै सफा रहेको उनले व्यक्त गरे ।

पश्चिम चीन अनुसन्धान तथा विकास प्रवर्द्धन संघका निर्देशक छङ लुले चीन र नेपालबीचको हिमालय संस्कृतिले विश्वमा विशिष्ट पहिचान बनाएको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा दुई देशबीचको साझा संस्कृतिको प्रतिक रहेको भन्दै इतिहासदेखि नै हिमालय क्षेत्रले चीनलाई दक्षिण एसियासँग जोडेको निर्देशक छङले औँल्याए । छङले भने, ‘यस क्षेत्रको साँस्कृतिक प्रवर्द्धनले चीन र नेपाललाई मात्र होइन समस्त दक्षिण एसिया र विश्वलाई फाइदा पुग्छ ।’
भारत र अमेरिकासँगको व्यापारको तुलनामा नेपालसँग चीनको व्यापार सानो भए पनि भविष्यमा यसको आकार वृद्धि हुँदै जाने उनले बताए । चीन र नेपालले बीआरआईमा सहकार्य गरिसकेको र हिमालय साँस्कृतिक प्रवर्द्धनले दुई देशबीचको व्यापारलाई उल्लेख्य रुपमा वृद्धि गर्ने कुरा छङले स्पष्ट पारे ।

चिनियाँ धार्मिक लिपि अनुसन्धान संघका अध्यक्ष तथा ‘इन्स्टिच्युट फर एडभान्स स्टडी अफ दि हुम्यानिटिज एण्ड रिलिजन’ का कार्यकारी उपाध्यक्ष चु स्यावोचियानले कार्यक्रममा आफ्नो धारणा राख्दै चीनको स्वायत्त प्रदेश तिब्बतका बौद्ध धर्मावलम्बी र नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुको साझा संस्कृति रहेको बताए । उनले स्थानीयबीचको भाषा, सञ्चार, प्रचलन, लवज र आपसी सम्बन्ध नै संस्कृति रहेको भन्दै आधुनिक युगमा विज्ञान र प्रविधिले साँस्कृतिक आदानप्रदानलाई अझै सजिलो बनाएको उल्लेख गरे ।

रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटका डिन तिङ फाङले छिङहाई तिब्बल प्लेटोको अद्वित्तीय पहिचान रहेको बताउँदै योसँगै हिमालय क्षेत्र स्वर्गको उपहार रहेको औँल्याए । इतिहासमा रेशम, चिया र चिजको व्यापारमा हिमालय संस्कृति जोडिएको भन्दै हिमालय क्षेत्र आपसी सम्पर्कमा कहिल्यै बाधक नबनेको कुरामा जोड दिए । सोही इन्स्टिच्युटको सार्वजनिक सम्बन्धका निर्देशक कङ वईले नयाँ युगमा चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा निरन्तर वृद्धि हुँदै आएको भन्दै बीआरआईले यसमा ठोस सहयोग पुर्‍याउने बताए ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हिमालय अद्वित्तीय भूगोल मात्र होइन संस्कृति र सभ्यताको पनि अद्वित्तीय मुहान रहेको उल्लेख गरे । हिमालयले मानव विकासमा भित्रि भावनादेखि शान्ति दिने बताउँदै यो संस्कृतिको प्रवर्द्धन नै साझा सम्पदा रहेको राजदूत पौड्यालले औँल्याए । चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बीआरआईभित्र आपसी साँस्कृतिक आदानप्रदान मुख्य विषय रहेको भन्दै राजदूत पौड्यालले पर्यटन प्रवर्द्धनमा मुख्य भूमिका संस्कृतिको रहने उल्लेख गरे ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको अवधारणा बनाएर चीन र नेपालबीचमा सहकार्य गर्ने कुरा संयुक्त विज्ञप्तिमा उल्लेख थियो । सोही अवधारणामा रहेर हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्चको आयोजना गरिएको पनि राजदूत पौडेलले स्पष्ट पारे । कार्यक्रममा नेपालका लागि पूर्वचिनियाँ राजदूत ली तप्यावोले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम नेपाली दूताबास र रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Esewa Pasal

प्रकाशित : असार ३१, २०७५ १७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको कविता : भावी सन्तती मुस्कुराएको देख्न पाउँ [भिडियोसहित]

हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन्।
आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उनले आइतबार सहभागीको आग्रहमा उक्त सात मिनेट लगाएर दस लाइनको कविता रचिएको बताए। प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गरे।
प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो। उनले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आएका छन्।
भिडियो
प्रधानमन्त्रीले लेखेको कविता कविता, हेर्नुहोस्
परिवर्तनशील दुनियाँमा सधै‌ बाँचेको को छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लह-लह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
तस्बिर, भिडियो : प्रधानमन्त्री ओलीको सचिवालय
हिमवत् खण्ड सम्मिलनको १५ बुँदे चन्द्रगिरि घोषणापत्र
हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो।
त्यसप्रकारको सांस्कृतिक संग्रहालय बनाउन नेपाल सरकारले सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न सम्मिलनले ध्यानाकर्षण गराएको छ।
‘हिमवत् खण्ड कला साहित्य र संस्कृति, विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित आयोजित सम्मिलनमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका १००० भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ।
यस प्रकारको सम्मिलनलाई निरन्तरता दिन आवश्यकताअनुसार पालैपालो विभिन्न क्षेत्रमा आयोजना गरी आपसी हार्दिकतालाई अरु प्रगाढ बनाउने एवं हिमवत् खण्डको वैभवलाई विश्वव्यापीकरण गर्ने प्रतिबद्धतासमेत गरिएको छ।
घोषणापत्र तयारी समितिका संयोजक प्रा केशव सुवेदीले घोषणापत्र प्रस्तुत गर्दै हिमवत् खण्ड एशियाली भेगबाट सिर्जित वैदिक, ताओ तथा बौद्ध वाङ्मय, ज्योतिष विज्ञान, योग एवं आयुर्वेदले यस भेगको चेतनालाई सदैव उँचो पार्दै आएको तथ्यलाई स्वीकार गर्दै ज्ञान तथा चेतनाका ती गौरवशाली परम्परालाई अझ परिष्कृत र परिमार्जित गर्ने प्रस्ताव पारित भएको बताए।
सम्मिलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै यहाँ बोलचालमा रहेका १२३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक ठानेको छ।
विद्यमान कर्पोरेट विश्वमा प्रविधि उपयोगको नाममा मानवशक्तिलाई विस्थापन गरी रोजगारीको अवसर गुमिरहेको भन्दै सम्मिलनको घोषणापत्रमा भनिएको छ, “मेसिनले मानवशक्तिलाई विस्थापन गर्ने तर थप रोजगारी सिर्जना नगर्ने नाफाखोर प्रवृत्तिको घोर भत्र्सना गर्दै काम गरेर जीवन निर्वाह गर्नुपर्ने वर्गको रोजगारी सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछ।”
समापन कार्यक्रममा सम्मिलन सफल बनाउन योगदान गर्नेलाई सम्मानित गरिएको थियो।

प्रकाशित : असार ३१, २०७५ १७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT