३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च

चेतनाथ आचार्य

बेइजिङ — रनमिन विश्वविद्यालयमा चीन–नेपाल साँस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च कार्यक्रमको आयोजना गरिएको छ । 

बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च

आइतबार सम्पन्न भएको सो कार्यक्रममा चीनका विभिन्न क्षेत्रका विद्वानहरुले चीन र नेपाललाई हिमालय संस्कृतिले अझ नजिक बनाएको भन्दै विश्व साँस्कृतिक आदानप्रदानमा हिमालय संस्कृति अद्वित्तीय र अतुलनीय रहेको बताए ।


प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क अवधारणामा नेपाली दूताबासले शृङ्खलावद्ध कार्यक्रमको आयोजना गर्दै आएको छ । दुताबासले आयोजना गरेका विभिन्न कार्यक्रममा उपल्लो स्तरका चिनियाँ अधिकारीहरुले आफ्ना धारणा राख्दै यो विषयमा चिनियाँ चासो रहेको कुरालाई पुष्टि गर्दै आएका छन् ।


आइतबार आयोजित कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपनिर्देशक वाङ लियोङले बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई अवधारणाबाट चीन र नेपालले हिमालय संस्कृतिलाई प्रवर्द्धन गर्ने बताए । चीन र नेपाललाई पवित्र हिमाल र नदीनालाले जोडेको उल्लेख गर्दै त्यसबाट समृद्धि सभ्यता र संस्कृति पनि आपसमा जोडिएको उनले औँल्याए । पवित्र हिमाल र स्वच्छ नदीले जोडेको चीन र नेपालबीचको साँस्कृतिक सम्बन्ध पनि उत्तिकै सफा रहेको उनले व्यक्त गरे ।


पश्चिम चीन अनुसन्धान तथा विकास प्रवर्द्धन संघका निर्देशक छङ लुले चीन र नेपालबीचको हिमालय संस्कृतिले विश्वमा विशिष्ट पहिचान बनाएको बताए । विश्वको सर्वोच्च शिखर सगरमाथा दुई देशबीचको साझा संस्कृतिको प्रतिक रहेको भन्दै इतिहासदेखि नै हिमालय क्षेत्रले चीनलाई दक्षिण एसियासँग जोडेको निर्देशक छङले औँल्याए । छङले भने, ‘यस क्षेत्रको साँस्कृतिक प्रवर्द्धनले चीन र नेपाललाई मात्र होइन समस्त दक्षिण एसिया र विश्वलाई फाइदा पुग्छ ।’

भारत र अमेरिकासँगको व्यापारको तुलनामा नेपालसँग चीनको व्यापार सानो भए पनि भविष्यमा यसको आकार वृद्धि हुँदै जाने उनले बताए । चीन र नेपालले बीआरआईमा सहकार्य गरिसकेको र हिमालय साँस्कृतिक प्रवर्द्धनले दुई देशबीचको व्यापारलाई उल्लेख्य रुपमा वृद्धि गर्ने कुरा छङले स्पष्ट पारे ।


चिनियाँ धार्मिक लिपि अनुसन्धान संघका अध्यक्ष तथा ‘इन्स्टिच्युट फर एडभान्स स्टडी अफ दि हुम्यानिटिज एण्ड रिलिजन’ का कार्यकारी उपाध्यक्ष चु स्यावोचियानले कार्यक्रममा आफ्नो धारणा राख्दै चीनको स्वायत्त प्रदेश तिब्बतका बौद्ध धर्मावलम्बी र नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरुको साझा संस्कृति रहेको बताए । उनले स्थानीयबीचको भाषा, सञ्चार, प्रचलन, लवज र आपसी सम्बन्ध नै संस्कृति रहेको भन्दै आधुनिक युगमा विज्ञान र प्रविधिले साँस्कृतिक आदानप्रदानलाई अझै सजिलो बनाएको उल्लेख गरे ।


रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटका डिन तिङ फाङले छिङहाई तिब्बल प्लेटोको अद्वित्तीय पहिचान रहेको बताउँदै योसँगै हिमालय क्षेत्र स्वर्गको उपहार रहेको औँल्याए । इतिहासमा रेशम, चिया र चिजको व्यापारमा हिमालय संस्कृति जोडिएको भन्दै हिमालय क्षेत्र आपसी सम्पर्कमा कहिल्यै बाधक नबनेको कुरामा जोड दिए । सोही इन्स्टिच्युटको सार्वजनिक सम्बन्धका निर्देशक कङ वईले नयाँ युगमा चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा निरन्तर वृद्धि हुँदै आएको भन्दै बीआरआईले यसमा ठोस सहयोग पुर्‍याउने बताए ।


चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले हिमालय अद्वित्तीय भूगोल मात्र होइन संस्कृति र सभ्यताको पनि अद्वित्तीय मुहान रहेको उल्लेख गरे । हिमालयले मानव विकासमा भित्रि भावनादेखि शान्ति दिने बताउँदै यो संस्कृतिको प्रवर्द्धन नै साझा सम्पदा रहेको राजदूत पौड्यालले औँल्याए । चिनियाँ राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बीआरआईभित्र आपसी साँस्कृतिक आदानप्रदान मुख्य विषय रहेको भन्दै राजदूत पौड्यालले पर्यटन प्रवर्द्धनमा मुख्य भूमिका संस्कृतिको रहने उल्लेख गरे ।


प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको अवधारणा बनाएर चीन र नेपालबीचमा सहकार्य गर्ने कुरा संयुक्त विज्ञप्तिमा उल्लेख थियो । सोही अवधारणामा रहेर हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्चको आयोजना गरिएको पनि राजदूत पौडेलले स्पष्ट पारे । कार्यक्रममा नेपालका लागि पूर्वचिनियाँ राजदूत ली तप्यावोले पनि आफ्नो धारणा राखेका थिए ।


कार्यक्रम नेपाली दूताबास र रनमिन विश्वविद्यालयको रिनान्सान्स इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


प्रकाशित : असार ३१, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?