सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई
लन्डन — सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।
सो सम्बन्धि सम्झौतापत्र (एमओयू) सोमबार अल्डरसटमा आयोजित एक कार्यक्रमबीच आदानप्रदान भएको हो । सम्झौतामा वर्तमान शेयर भ्यालु अनुसार सगुनले ४ हजार ३४७ कित्ता शेयर एनआरएनए यूकेलाई दिनेछ ।
सम्झौतापत्रमा सगुनका तर्फबाट संस्थापक एवं सिइओ गोविन्द गिरी र सहसंस्थापक कविन्द्र सिटौला तथा एनआरएनए यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामी र संरक्षक सूर्यबहादुर गुरुङको हस्ताक्षर गरेका छन् ।
गत सातामात्र दश लाख डलर शेयरको सगुन फाउण्डेशन स्थापना गरेको उक्त स्टार्ट अप कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत एनआरएनए यूकेले अघि सारेको नेपाल हाउस प्रोजेक्टलाई दिने सम्झौता गरेको हो । सगुनको यस्तो घोषणापछि एनआरएनए यूकेको महत्वाकांक्षी योजनाले मुर्तरुप लिने अपेक्षा गरिएको छ ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएनए यूकेका पूर्व अध्यक्ष एवं सगुन यूके सल्लाहकार सूर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समक्षदारीपत्र आदानप्रदान गरेका थिए ।
सगुनको लक्ष्यअनुसार सन् २०२२ सम्ममा कम्पनीको भ्यालु ५ बिलियन पुगेको अवस्थामा नेपाल हाउसलाई दिइएको कुल शेयरको भ्यालु ५ मिलियन डलर पुग्ने संस्थाको विश्वास छ ।
कार्यक्रममा सगुनका सल्लाहकार सूर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउँदा खुशी व्यक्त गरे ।
सगुनले नेपाल हाउस प्रोजेक्टका लागि निशर्त रुपमा यो सहयोग दिएको स्पष्ट पार्दै सल्लाहकार गुरुङले बेलायतका नेपालीले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउन यस सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गरे ।
कार्यक्रमका प्रमुख अतिथि दूतावासका उपनियोग प्रमुख आरणले एनआरएनए यूके र सगुनबीच सुरु भएको सहकार्यले एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भूमिका खेल्ने आशा व्यक्त गरे ।
लगानीको समयसीमा थोरै बाँकी रहँदा सगुनलेअहिले अन्तिम पटक लगानीको आव्हान गरिरहेको छ । सगुनमा लगानीको अन्तिम समयसीमा २६ जुलाई २०१८ सम्ममात्र छ ।
सगुनमा हालसम्म ३५ सय भन्दा बढि लगानीकर्ताले पाँच मिलियन डलर लगानी गरिसकेको र भारतीय मिडिया हाउस हिन्दूस्तान टाइम्सले पाँच मिलियन डलर लगानी गर्ने घोषणा गरिसकेको कम्पनीले जनाएको छ । लगानीकर्ता संख्या ८ हजार पुगे सगुन संसारकै सबैभन्दा ठूलो स्टार्ट अप कम्पनी बन्ने विश्वास सगुनको छ ।