२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति

होम कार्की

काठमाडौँ — सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् ।

जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति

काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल भिसा प्राप्त भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । वैदेशिक श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि मात्रै मलेसिया जान पाउने व्यवस्था छ ।


‘जेठ २ गतेसम्म दूतावासबाट भिसा स्ट्याम्पीङ भएका कामदारलाई श्रम स्वीकृति दिने निर्णय भएको छ,’ श्रम मन्त्री गोकर्ण विष्टले कान्तिपुरलाई भने, ‘अरुको हकमा सरकारको निर्णय यथावत रहनेछ ।’


गत जेठ २ गते श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले कामदार माथिको आर्थिक भार नहटाएसम्म नेपालीलाई मलेसिया नपठाउने निर्णय गरेपछि भिसा पाइसकेका कामदारले समेत श्रम स्वीकृति पाएको थिएनन् ।


जेठ २ गते अघि नै दूतावासबाट ४ सय ५३ र २ गतेपछि झन्डै २५ सय कामदारको भिसा स्ट्यापीङ भएको थियो । उनीहरुलाई अन्तिम श्रम स्वीकृति दिन पेश गरिएको फाइल वैदेशिक रोजगार कार्यालयमा रोकिएको थियो ।


जेठ २ अघि भिसा लागिसकेका कामदारको भिसाको म्याद यो साता समाप्त हुँदै छ । भिसा पाइसकेका कामदारहरु यो साताभित्र जान नपाए मलेसियाको अध्यगमनले कालोसूचिमा राख्ने र भविष्य समेत जान नपाउने स्थिति आउन सक्थ्यो ।


‘जबसम्म मलेसियाले कामदारमाथि आर्थिक भार पर्ने गरी लगाइएका आफ्नो पूर्ववत नितिलाई परिवर्तन गर्दैन । तबसम्म नेपाल सरकारको मलेसियामा कामदार नपठाउने निति यथावत छ,’ श्रम मन्त्रालयका उच्च अधिकारीले कान्तिपुरलाई भने, ‘भिसा प्रक्रिया शुरु हुनुअघिको पूर्व श्रम स्वीकृति दिने कार्य पहिलेकै अवस्थामा राकिएको छ ।’


वैदेशिक रोजगार बिभागले मलेसियन कम्पनीको मागपत्रलाई पुर्व श्रमस्वीकृति दिएपछि मात्रै कामदार लैजानको लागि अन्तर्वार्ता गर्नको लागि बाटो खुल्छ । पुर्व श्रमस्वीकृति विना कामदारको अन्तर्वार्ता गर्ने कार्य गैरकानुनी हो ।


वैदेशिक रोजगार ब्यबसायी संघले जेठ २ गतेअगाडि नै भिसा प्रक्रिया पुरा भई अन्तिम श्रमस्वीकृतिको लागि आवेदन दिइसकेका कामदारलाई श्रम स्वीकृति दिन अनुरोध गर्दै आएको थियो । संघका अध्यक्ष रोहन गुरुङले भिसा लागिसकेका झन्डै तीन हजार नेपाली कामदारले श्रम अनुमति नपाउदा समस्या भएको वताए । ‘यथाअवस्थामा मलेसिया जानको लागि पुर्व स्वीकृति दिने अवस्था हुदैन । यसमा संघले लिएको अडान कायमै छ,’ संघका अध्यक्ष गुरुङले भने,‘सरकारले मलेसिया नपठाउने निर्णय गर्ने वेला भिसा लागिसकेका कामदारलाई मात्रै अन्तिम स्वीकृति दिन सरकारसमक्ष अनुरोध गरेको हो ।’


उनका अनुसार जिएससजी र मेडिकल गरिसकेका झन्डै १५ हजार कामदारको ‘कलिङ भिसा’ आइसकेको छ । मलेसियन दूतावासले वान स्टेप सेन्टर (भिएलएन)वाट भिसा निवदेन गएपछि मात्रै कलिङ भिसालाई स्ट्यापीङ गर्ने गर्छ । श्रम मन्त्रालयले भिएलएनको काम गैरकानुनी भएको भन्दै खारेज गरेपछि मलेसियन दूतावासले भिएलएन मार्फत कामदारको राहदानी लिने कार्यलाई स्थागित गरेको छ । दूतावासले पर्यटक भिसामा जानेको राहदानी मात्रै भिएलएनमार्फत बुझ्दै आएको छ । सरकारले भिएलएनको सञ्चालक राम श्रेष्ट विरुद्व लगाएको ठगी मुद्वा अदालतमा चलिरहेको छ ।

श्रम मन्त्रालयको प्रेस विज्ञप्ती

प्रकाशित : श्रावण ६, २०७५ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?