कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम

नविन पाेखरेल

लन्डन — चार वर्षपछि बेलायत आउँदा नायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती ।

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम

‘कलाकारको नाताले बेलायतका नेपालीसंग आत्मीयता सांट्न पाउंदा खुशी लागेको छ’, बेलायतको टिडवर्थमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तर्क्रियाका प्रमुख आकर्षण हमालले शुरुमै भने, ‘मातृभूमिप्रति यहांहरुको साथ सहयोग प्रशंसनीय छ । नेपालीको प्रगति सुनेर झन् गर्व लाग्छ ।’


हमाल बेलायतको यस्तो ठाउँमा थिए, जहाँ नेपाली आएर बसोवास गरेको पहिलो शहर मानिंदो रहेछ । गोर्खाहरुको विशेष सम्वन्ध रहेको शहर पनि हो टिडवर्थ । ‘नेपाली डायस्पोरा विश्वभर छरिएर बस्न थालेको भर्खर भर्खर हो’, हमालले सुनाए, ‘विदेश जहाँ बसेपनि मनोविज्ञान र भावना आफ्नै राष्ट्र र समाजसंग गाँसिएको हुन्छ ।’


विदेशका नेपालीले मातृभूमिको समृद्धि र समुन्नत समाजका लागि उल्लेखनीय काम गरेको धारणा उनले राखे । ‘राज्यले स्वीकारोस् नस्वीकारोस्, पछिल्लो करिब तीन दशकमा नेपालको आर्थिक उन्नति, जीवनस्तर र दैनिकी परिवर्तन गर्न विदेशिएका नेपालीको ८० प्रतिशत योगदान छ’, तथ्यांक पेश गर्दै थिए उनी ।


कलाकारिता गफ भन्दा प्रेरणादायी मन्तव्यमा बढि केन्द्रित रहे अभिनेता हमाल । टिभी सेलिब्रेटी दिलभुषण पाठक र सहभागीका असंख्य प्रश्नको सामना गर्दै थिए उनी । सहभागी कसैले ‘हाइपोथेटिकल’ प्रश्न सोध्यो, ‘एक साताका लागि प्रधानमन्त्री बन्नु भयो भने प्रवासी नेपालीलाई के गर्नुहुन्थ्यो ?’ हमालले जवाफ दिए, ‘प्रवासी नेपालीको मातृभूमिसंग सशक्त भावना जोडिएको छ । आपतविपतमा धेरै सहयोग गरेका छन् । म उनीहरुमा ‘एकपटकको नेपाली सधैंको नेपाली’ फिल गराउन लाग्थें ।’


पहिलो पुस्तामा जस्तो नेपालीपन छ, त्यो भावना आउँदो पुस्तामा पनि जगाउन जरुरी रहेको उनले जोड दिए ।


कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतको नेपाली समुदायले नेपाल र नेपालीको पहिचान, आर्थिक समृद्धि, विकास, स्थायित्व र स्वाभिमानका लागि सधैं चिन्तन, चिन्ता र चासो लिइरहेकामा हर्ष एवं गौरव महशुस भएको उल्लेख गरे । उनले बेलायतको नेपाली समाज संगठित, सुदृढ, सुविचारित, सुशिक्षित र मातृभूमिको संकटमा सधैं साथ दिइरहेको भन्दै प्रशंसा पनि गरे ।


देशले राजनीतिक स्थायित्वको गति पक्रिसकेकाले परदेशमा बसेर निरास वा देश अंध्यारोमा छ भनेर अब चिन्ता लिनु नपर्ने राजदूतको धारणा थियो । ‘नेपाली भन्नेमात्र होइन, नेपाली बन्नु पनि पर्छ’, राजदूतले भने, ‘नेपाली बन्न नेपालीपन र नेपालीमन जोगाउनुपर्छ । नेपाली भएर बांच्न र हांस्नका लागि नेपाल पनि रहनुपर्छ ।’


एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यले विदेश आएपछि मातृभूमिको माया झन् बढि लाग्ने अनुभव सांट्दै विश्वका ७८ मुलुकमा रहेको एनआरएनए सञ्जाल देशकै समृद्धिको सपना पुरा गर्न कटिवद्ध रहेको बताए । आचार्यले सरकारले विदेशी नागरिकता लिएपनि नेपाली नागरिकता कायम राख्न पाउनु पर्ने वातावरण सृजना गरि लगानी आकर्षित गरे मातृभूमिसंगको माया कहिल्यै नटुट्ने धारणा समेत राखे ।


दूतावासका उपनियोग प्रमुख शरदराज आरणले संविधानमा दोहोरो नागरिकताको प्रावधानबारे प्रष्टयाउंदै यसमा प्रवासका नेपालीलाई अवमुल्यन गर्ने नीति कहीं नभएको जनाए ।


एनआरएनए यूके युवा विभागले गरेको उक्त कार्यक्रममा ‘प्यानलिष्ट’ का रुपमा रहेका एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले बेलायतका नेपालीको पृष्ठभूमिबारे जानकारी दिंदै हरेक पेशा र व्यवसायमा नेपाली स्थापित हुंदै गएका बताए ।


प्रकाशित : श्रावण ७, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?