चर्को शुल्क हटाउन अघि बढ्यो मलेसिया 

कामदार नरोक्न नेपाललाई आग्रह
कान्तिपुर संवाददाता

मलेसिया — मलेसियाले यता आउँदा नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफूलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोजिने जनाएको छ । 

चर्को शुल्क हटाउन अघि बढ्यो मलेसिया 

मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनीहरु खडा गरी चर्को आर्थिक असुली गर्ने लगायतका समस्या पूर्ववत: सरकारले गरेका निर्णयहरु भएको बताउँदै यसलाई रोक्न तयारी गरिएको बताएका हुन् ।


शनिबार मलेसियाली अंग्रेजी दैनिक ‘द स्टार’ ले नेपालले कामदार रोकेकोबारे अग्रपृष्ठमा ‘एक्सक्लुसिभ रिपोर्ट’ प्रकाशित गरेलगत्तै उनले उक्त विषयबारे प्रतिक्रिया दिदै आगामी सोमबार नेपाली दूतावासका अधिकारीसँग आफूले छलफल गर्नेसमेत बताएका छन् । नेपालले कामदार रोकेको निर्णयमाथि पुर्नविचार गर्न समेत आग्रह गरे ।


‘नेपाली कामदार बहादुरी र ईमान्दारीताका लागि लोकप्रिय भएका कारण धेरै रोजगारदाताले रुचाउने गरेका छन् ।’ उनले भनेका छन् ‘हामीलाई आशा छ, नेपालले यस विषयमा पुर्नविचार गर्नेछ ।’ उनले भने । मलेसिया आउने कामदारमाथि विभिन्न कम्पनी खडा गरी चर्को शुल्क असुली गरेको जनाउँदै मलेसियाले स्पष्ट विकल्प नल्याएसम्म कामदार मलेसिया नपठाउने निर्णय गरेपछि करिब दुईमहिना अघिदेखि मलेसिया आउने नेपाली कामदार रोकिएका छन् ।


यस विषयमा केही समयअघि मलेसियाली मन्त्रीपरिषदमा समेत छलफल भएको थियो । मन्त्री कुलासेगरनले हाल जारी समस्या समाधानका लागि आफूले अविलम्ब यसबारे एक पत्र तयार गर्ने पनि बताएका छन् ।


‘यी सबै समस्याहरुबारे हामीले मन्त्रीपरिषदमा पनि छलफल गरेका थियौँ । आगामी हप्ता यस विषयमाथि एक पत्र तयार गर्नेछु र तुरुन्त काम गर्नका लागि आग्रह गर्नेछु ।’ उनको भनाई उद्धृत गर्दै द स्टार अनलाइनले उल्लेख गरेको छ ।


मलेसियाले यता आउने नेपाली कामदारको भिसा प्रोसेसिङ लगायतका विभिन्न विषयमा चर्को रकम असुल्ने निजी कम्पनीहरुलाई हटाई सिधा सरकार–सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्नसक्ने संकेत पनि गरेका छन् । नेपाल र मलेसिया सरकारबीच कुनै विचौलिया कम्पनीबिनै कामदार लिनेदिने प्रणालीमा फर्कन सकिने बताए ।


उनले नेपाली कामदार रोकिदा जनशक्ति अभाव झेल्नु परिरहेको मलेसियाली रोजगारदाताहरुको गुनासो छ । यस्ता गुनासो गर्नेमा सबैभन्दा बढी सुरक्षागार्ड भित्र्याउने कम्पनीहरु छन् ।


सुरक्षा गार्ड मलेसिया भित्र्याउने कम्पनीहरुको छाता संस्था ‘सेक्युरिटी एसोसियसन अफ मलेसिया’ का अध्यक्ष मुस्ताफा अलीका अनुसार नेपाल सरकारको पछिल्लो निर्णयका कारण ५ हजार नेपाली सुरक्षा गार्डको कोटा खाली छ । तर उक्त माग पूर्ति गर्न सकिएको छैन ।


मलेसियाले विदेशीमध्ये नेपालीलाई मात्र सुरक्षा क्षेत्रमा रोजगारी दिदै आएको छ । तर व्यवसायीहरु बढ्दो माग भइरहेका बेला नेपालले कामदार रोकिददा यो क्षेत्रमा मागहरु पूर्ति गर्न नसकिएको बताउँछन् ।


उनीहरुले रोजगारदातासित गरेका करार सम्झौता समेत रद्द हुन थालेको भन्दै आवश्यक नीति ल्याएर भनेपनि नेपालबाट कामदार लिने प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गर्दै आएका छन् ।


मलेसियाको पछिल्लो प्रतिक्रिया निकै सकारात्मक रहेको व्यवसायीहरुले बताएका छन् । रोजगार व्यवसायी सन्तोष कार्कीले कान्तिपुरसित भने, ‘मलेसिया सरकारको पछिल्लो निर्णय, तत्परता नेपाल र मलेसिया दुवैका लागि एकदमै सकारात्मक छ । अब कामदारमाथिको आर्थिक भार घटाएर कामदार लिनेदिने प्रक्रिया सहज बनाउन सके नेपालीको मागमा थप वृद्धि पनि हुन्छ । नेपाली कामदारलाई नै फाइदा हुन्छ ।’


कार्कीले 'फ्री भिसा, फ्रि टिकट नीति' राख्ने या यसको विकल्पमा अन्य नीति ल्याउने भन्नेबारे समेत सरकारले मलेसियालाई स्पष्ट पार्नुपर्ने बताए ।


यद्यपी हाल जारी समस्या समाधानका लागि गत दुईसातायता दुवै देशका अधिकारीहरुबीच दुई चरणका भेटवार्ताहरु भइसकेका छन् । कार्यवहाक राजदूत कुमार राज खरेलका अनुसार ती वार्ताहरु सकारात्मक भएका छन् । मन्त्री एम कुलासेगरनले थप छलफलका लागि आगामी सोमबार नेपाली राजदूतसँग भेट्ने पनि बताए ।

प्रकाशित : श्रावण १२, २०७५ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?